नारा-जुलुससहित महिलाले घेरे तुलसीपुरकाे ईलाका प्रहरी कार्यालय: स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई घोराही सारियो

Read Time = 4 mins

-विवेक खड्का
दाङ । अर्काको घरमा पसेर महिला तथा बालिकामाथि कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई घोराही लगिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुर अगाडि महिलाले राज्यमन्त्री वलीका बिरुद्ध प्रदर्शन गर्दै कारबाहीको माग गरेपछि मध्यान्ह प्रहरीले राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा लगेको हो ।

राज्यमन्त्री वलीले तुलसीपुर-५ स्थित एकराज बस्नेतको घर भित्र पसेर मंगलबार बिहान मिना भण्डारी बस्नेत र उहाँकी अढाई बर्षीया छोरीमाथि कुटपिट गरेको आरोप लागे पछि वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अनाहकमा अर्काको घरमा पसेर महिला तथा बालबालिकामाथि कुटपिट गर्ने राज्यमन्त्रीलाई कारबाहीको माग गर्दै स्थानीय महिलाहरुले इप्रका अगाडि नाराबाजी र प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएका महिलाहरुले राज्यमन्त्री वली मुर्दावाद, दोषी राज्यमन्त्री वलीलाई कारबाही गर जस्ता नारा लगाएका थिए । इप्रकामा प्रहरीले दुबै पक्षलाई राखेर छलफल गराउने प्रयास गरेपनि त्यो संभव हुन नसकेपछि घोराही तर्फ लगिएको एक प्रहरी अधिकारीले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनाको अनुसन्धान भइरहेकाले थप कुरा अनुसन्धानपछि मात्रै खुल्ने बताउनुभयो । एसपी काफ्लेले मन्त्रीविरुद्ध कुन मुद्दा दर्ता गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । पीडित महिलाले जाहेरी दर्ताका लागि इप्रका तुलसीपुर पुग्नुभएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेको विषयमा अध्ययन गर्ने बताउनुभएको छ । उहाँले मन्त्री वली पक्राउ परेको विषयमा अनौपचारिक सुने पनि आधिकारिक जानकारी अहिलेसम्म सरकारलाई नआएको प्रतिक्रिया दिनुभयो ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित हुनुभएको थियो । नेकपा विभाजनपछि उहाँ एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लाग्नुभएको थियो ।

एमालेले उहाँलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि उहाँलाई कारवाही नभए पछी अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?