अझै छाउ, बोक्सी र दाइजोमै छौं हामी

हिमालय टाइम्स
Read Time = 8 mins

हामी एक्काइसौं शताब्दीमा आइपुगेर पनि छाउपडी, दाइजो र बोक्सीमै विश्वास गरिरहेका छौं । यस्ता कति कुरा रुढ परम्पराका रूपमा रहेका छन् जुन हामीले अझैसम्म मेटाउन सकेका छैनौं । श्राद्धमा बिरालो बाँध्ने शैलीमा यस्ता परम्परा र विश्वास एक पुस्ताबाट अर्को पुस्तामा सरिरहेका छन् । देउता रिसाउँछन् भन्ने विश्वास लिएका हामी अदृश्य देउतालाई खुशी पार्न सद्धे मानिसलाई बिरामी बनाइरहेका छौं वा त्यही कारणले कालकबलित बनाइरहेका छौं । यस्ता रुढताका अनेकौं दृष्टान्त हुन सक्छन् । छाउपडी, धामी-झाँक्री, बोक्सीको मान्यता, नाताभित्रको विवाह, बहुपति प्रथा, बालविवाह, बहुविवाह, अनमेल विवाह, छुवाछूतलगायत अनेकौं कुप्रथा र कुरीतिबाट हामी ग्रसित बन्दै गएका छौं ।

सामान्यतया नेपालको सुदूरपश्चिमको पहाडी क्षेत्रमा लामो समयदेखि जरा गाडेर बसेको छाउपडी प्रथा अझैसम्म कायमै छ । केही वर्ष पहिले सरकारले नै प्रहरी लगाएर त्यस क्षेत्रका धेरै छाउगोठहरू भत्कायो । तर, भौतिक गोठहरू भत्काए पनि मानसिक छाउगोठहरू अझैसम्म छँदैछन्, त्यहाँका मानिसहरूको मनबाट छाउगोठहरू भत्किन सकेका छैनन् । त्यसकारण ती क्षेत्रहरूमा मासिक धर्मका समयमा महिलाहरूले घरभन्दा पर बनाइएको सानो एकजनामात्र सुत्न मिल्ने गोठमा रहेर रजस्वला बार्नुपर्ने चलन छ । त्यसको चिसो लागेर बिरामी भएर, सर्पले डसेर, केही महिलाको मृत्यु भएका घटना छन् भने खराब नियतले त्यसरी एकान्तमा रहेका महिलाहरूमा पुरुषहरूले अवाञ्छित व्यवहार गरेका घटना पनि छन् ।

समयको गतिसँगै नेपाली समाजमा विद्यमान केही परम्परा भने मेटिँदै गएका छन् । हिमाली क्षेत्रतिर प्रचलनमा रहेको बहुपति प्रथा र केही जातिहरूमा रहेको मामाकी छोरीसँग फुपूका छोराले विवाह गर्ने प्रथा भने विस्तारै हटेर गएका छन् । ती प्रथाहरूमा धर्म र आर्थिक लेनदेन नजोडिएका कारणले समयको गतिसँगै त्यस्ता प्रथा भने हट्दै गएका हुनसक्छन् । तर, आर्थिक लेनदेन, धर्म र अन्धविश्वाससँग जोडिएर आएका केही प्रथा भने रुढ परम्पराका रूपमा नेपाली समाजमा विद्यमान छन् । छुवाछूत नेपाली समाजमा अझै कायम छ । २०२० सालको नयाँ मुलुकी ऐनले नै छुवाछूत प्रथा हटाएको थियो तर मानिसको भावनामा विद्यमान रहिरहेका कारण यस्ता कुराहरू कानुनले हटाएर पनि समाजबाट लामो समयसम्म हटेका छैनन् ।

अब बहुपति प्रथा, मामाकी छोरी विवाह गर्ने प्रथा हटिसकेको छ र ती जातिहरूले नै तिनलाई निरुत्साहित गरिरहेको पाइन्छ । कानुनले कडा सजायको व्यवस्था गरेको भए पनि बालविवाह, बहुविवाह जस्ता कुराहरू लुकीछिपी भइरहेकै छन् तर निश्चय तिनको संख्यामा भने कमी आएको छ । शिक्षा, जनचेतना, संघसंस्थाहरूको सक्रियता, कानुनी व्यवस्था जस्ता कुराले त्यस्ता व्यवस्था निरुत्साहित बन्दै गएका छन् । त्यस्ता कार्यहरू फाट्टफुट्ट हुने गरेको भए तापनि त्यसको विरुद्ध उजुरी नै पर्दैनन् । देखेर पनि उजुरी दिएर छुच्चो हुन कोही चाहँदैनन् । बहुविवाहको उजुरी त बहुविवाह गर्ने पुरुषकी जेठी श्रीमतीले मात्र दिन सक्ने व्यवस्था छ । अनमेल विवाहको त उजुरी नै पर्दैनन् ।

त्यसमा कसैले सरोकार राख्ने गरेको पाइँदैन । कुन पुरुषको कति उमेर र कुन नारीको कति उमेर हो भनेर कसैले सोधखोज, चासो र अभिलेख राख्दैनन् । त्यो तिनका लागि सरोकारको विषय मानिने गरेको छैन । धाँमीझाँक्री प्रथा मनोरञ्जन र जीविकासँग जोडिएको प्रथा हो । यससँग मानिसको आस्था पनि जोडिएको छ । यो मनोवैज्ञानिक उपचार पद्धति हो भन्दा हुन्छ तर कतिपय अवस्थामा धाँमीहरूका कारण बिरामीको मृत्यु भएको छ । वर्तमान समयको अवधारणा र सोच बोकेका धामीहरूले बिरामीलाई अस्पताल जाने सल्लाह दिने गरेका पनि छन् । धामीहरूले दिने गरेको असान्दर्भिक र नकारात्मक सल्लाहहरू बिरामी पक्षबाट पनि अस्वीकार गर्न सक्नुपर्छ ।

बोक्सीसम्बन्धी धारणा पनि मनोविज्ञानसँग जोडिएको सोच हो । कोही मानिस पनि बोक्सो वा बोक्सी बन्न सक्दैनन् तर लोकसमाजमा यससम्बन्धी अनेकौं अवधारणा छन्, ती सबै मिथ्या हुन् । तिनमा सत्यता छैन तर मनोवैज्ञानिक अवधारणाले गर्दा कसैले कसैलाई बोक्सी ठानिरहेको हुन्छ । एउटाले खाना खाँदै गरेको अर्काले देख्यो भने खाँदै गरेको मानिसमा त्यसले देखेको थियो मेरो पेट दुख्छ कि भन्ने ठान्दा साँच्चै मनोवैज्ञानिक कारणले उसको पेट दुख्न सक्छ र अर्कोलाई बोक्सीको दोष लगाउन सक्छ । यस्तो मनोविज्ञानबाट हामी ग्रसित छौं र त्यसबाट हामी मुक्त हुनैपर्छ ।

हाम्रो देशमा व्याप्त दाइजो वा दहेज प्रथा भने सम्पत्तिसँग जोडिएको छ । यसमा शिक्षित व्यक्तिहरूको समेत संलग्नता रहेको पाइन्छ । यी सबै प्रथामा रहेको अन्धविश्वास, रुढताबाट मुक्त हुन हामीले हाम्रो सोचमा परिवर्तन गर्नुपर्छ र शिक्षाले त्यसमा पहिलो भूमिका खेलेको हुन्छ । हामीले यिनलाई सधैं काखी च्यापेर हिँडिरहने हो भने छाउपडीलगायत यस्ता परम्परा हटेर जाने छैनन् र हामी जंगली अवस्थाबाट एक कदम पनि अगाडि बढ्न सकेका छैनौं भन्दा फरक पर्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?