काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम् प्रयास गर्दै आएको जनाएको छ । प्राधिकरणले उक्त क्षेत्रका औद्योगिक र अन्य ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फका चालु लाइनहरूको सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनको क्षमता स्तरोन्नति गर्ने र नयाँ सबस्टेसन निर्माणलाई योजनाबद्धरूपमा अगाडि बढाएको प्राधिकरणले जनाएको छ ।
मोरङ र सुनसरीका उद्योगीले मुख्यरूपमा गर्मीयाममा उद्योगहरूमा पटक-पटक लाइन जाने र आउने (ट्रिपिङ) हुने गरेको गुनासो गर्दै आएका छन् । गुनासो सम्बोधन गर्न प्राधिकरणले मोरङ र सुनसरी औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि सुनसरीको दुहवीस्थित १३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउन पुरानो लाइन सुधार र थप लाइन तथा सबस्टेसन निर्माण गरिरहेको छ ।
प्राधिकरणका अनुसार केही अघि सञ्चालनमा आएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनबाट विद्युत् आपूर्ति दिन प्रसारण तथा वितरणतर्फका लाइन र सबस्टेसन निर्माणाधीन छन् । इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीयरूपमा विद्युत् आपूर्ति गर्न सकिनेछ । यसले गर्दा दुहबी सबस्टेसनमा हाल रहेको विद्युत् आपूर्तिको भार घट्नेछ । अरुण तथा तमोर नदी र सहायक खोलानालामा निर्माण गरिएका÷हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत् इनरुवा सबस्टेसनमा जोडिनेछ । ताप्लेजुङ, पाँचथर, इलाम जिल्लास्थित खोलाहरूमा उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइन हुँदै झापाको दमकमा आउने भएकाले सो क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत अभाव छैन ।
सुनसरी र मोरङको विद्युत् आपूर्ति सुधार र १३२ केभीको दुहबी तथा विराटनगर क्षेत्रमा रहेका ३३/११ केभी रानी र टंकीसिनुवारी सबस्टेसनको भार घटाउन १३२ विराटनगर सबस्टेसन निर्माणाधीन छ । सुनसरीको बर्जु गाउँपालिकामा निर्माणाधीन सबस्टेसनसम्म विद्युत् पु¥याउन इनरुवा सबस्टेसनबाट १३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।
ठेकेदार कम्पनी सानडोङ ताइकाई इञ्जिनियरिङ र मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसन निर्माणमा ढिलाइ भइरहेको छ । सबस्टेसनमा रहने उपकरण राख्न अधिकांश सिभिल संरचना निर्माण भइसकेका छन् । सबस्टेसनका अधिकांश उपकरण पनि निर्माणस्थलमा आपूर्ति भइसकेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही अघि निर्माणस्थलको अनुगमन गरी आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । फागुनभित्र निर्माण सम्पन्न गर्न नसकिएमा विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यस्तो संवेदनशील आयोजनाको काम उक्त अवधिमा नसकिएमा ठेक्का सम्झौताबमोजिम कारबाही गर्ने चेतावनीसमेत उहाँले दिनुभयो ।
त्यस क्षेत्रका औद्योगिक करिडोरमा रहेको विद्युत् आपूर्तिका समस्या समाधान गर्न भइरहेका कामको जानकारी दिन उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानालाई समेत टोलीमा सहभागी गराइएको थियो । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘यस वर्ष सुनसरी र मोरङमा सञ्चालित उद्योगलाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम् प्रयास गरिरहेका छौँ, विकल्पहरू धेरै छन्, सञ्चालित योजना गर्मी सुरु हुनुभन्दा पहिले नै सक्न बाध्यकारी अवस्थामा छौँ, यसका लागि जनशक्ति थप्नुहोस्, स्थानीयरूपमा भइरहेका अवरोध हटाउन स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, उद्योगी व्यवसायीहरूलगायतको साथ र सहयोग आवश्यक छ ।’ इनरुवा-विराटनगर २३ किलोमिटर १३२ केभी प्रसारण लाइनमा पर्ने ८० टावरमध्ये ७३ को जग हालिएको छ भने ७२ वटा खडा गरिएको छ । प्रसारण लाइनको तार आपूर्ति भइसकेको छ । स्थानीयको अवरोधका कारण दुईवटा र प्राविधिक समस्याले पाँचवटा टावर निर्माण सुरु हुन सकेको छैन । इनरुवा सबस्टेसनबाट खनारसम्म ३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा छ । उक्त लाइन सञ्चालनपछि दुहबी सबस्टेसनको करिब ४० मेगावाट भार घटाउन सकिनेछ ।
प्राधिकरणका अनुसार इनरुवाबाट पुरानो इनरुवा सबस्टेसनसम्म हाल रहेको ३३ केभी सर्किटको लाइनमा अर्को सर्किट निर्माणाधीन छ । जसले दुहबी सबस्टेसनको भार घटाउनेछ । इनरुवा-दुहबी १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेरेर क्षमता वृद्धिको प्रक्रिया अघि बढाइएको छ । झापा, मोरङ र सुनसरीको विद्युत्को माग धान्न दमकबाट विराटनगर सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाइएको छ । करिब ६५ किलोमिटर उक्त लाइन दमकबाट मोरङको काने पोखरी गाउँपालिकास्थित केरौन, सुनसरीको दुहबी हुँदै विराटनगर सबस्टेसनमा जोडिनेछ । उक्त लाइन निर्माणपछि झापा, मोरङ र सुनसरीमा विद्युत् आपूर्तिका लागि १३२ केभीको रिङ बन्नेछ । जसले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच