प्रचण्ड इमानदार नहुँदा नेकपा विभाजन भयो : ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारीसाथ काम नगर्दा पार्टीले विभाजन बेहोर्नु परेको बताउनुभएको हो । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नेता ओलीले दाहाललाई लक्षित गर्दै उहाँले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दुःखी बनाएको गुनासो पनि गर्नुभएको थियो । पार्टी एकताका बेला दिएको सिट संख्यालाई दाहालले चरम दुरुपयोग गरेको ओलीको आरोप थियो ।

‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर, प्रचण्डले एकता गर्दा पनि इमानदारीसाथ गर्नुभएन । एकताबद्ध रहँदा पनि इमानका साथ काम गर्नुभएन । र, बेइमानीपूर्ण ढंगले हट्नुभयो । एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नुभयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्कासन गर्नुभयो । पार्टी अध्यक्षमाथि गम्भीर आरोपको पुलिन्दा बनाउनुभयो उहाँले । र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नुभयो उहाँहरूले,’ अध्यक्ष ओलीले भन्नुभयो ।

ओलीले सत्ताको चरम दुरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परे पनि आगामी दिनमा जित सुनिश्चित रहेको दाबी गर्नुभयो । यद्यपि, पपुलर मत संख्याका आधारमा अहिले पनि एमाले नै मुलुकको पहिलो राजनीतिक शक्ति रहेको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?