गुल्मीका जनप्रतिनिधिद्वारा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता

हिमालय टाइम्स
Read Time = 4 mins

गुल्मी । यहाँका सबै स्थानीय तहले जिल्लामा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । बालविवाह अन्त्यका लागि ‘लुम्बिनी प्रदेशको १० वर्षे रणनीतिका अवस्था, कार्यान्वयनका चुनौती र सम्भावना एवं स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिले उक्त प्रतिबद्धता जनाएका छन् ।

ग्रामीण क्षेत्रमा अझै पनि कतिपय ठाउँमा सामाजिक परम्परा र सचेतनाको अभावमा कम उमेरमै लुकिछिपि विवाह गर्ने परम्परा देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्न समाजका सबै अगुवा थप सचेत हुनुपर्नेमा कार्यक्रममा जोड दिइएको छ । पालिकामा बालविवाहको अवस्था, भएका सफल अभ्यास र बालविवाह अन्त्यका लागि आगामी दिनमा आवश्यक रणनीति तयार गर्ने उद्देश्यले जिल्लामा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

पछिल्लो समयमा स्थानीय तहले सडक र भौतिक संरचना निर्माणमा मात्र ध्यान केन्द्रित गरेको तर सामाजिक क्षेत्रमा न्यून बजेट विनियोजन गरी यस्ता सामाजिक सरोकारका विषयमा खासै चासो नदिएको कार्यक्रममा सरोकारवालाले बताउनुभएको थियो ।

सडक र भवनको तस्बीर सामाजिक सञ्जालमा राख्दा धेरैको ध्यान केन्द्रित हुने तर सामाजिक सरोकारका विषयमा गरेका कार्यक्रम राख्दा थोरैको मात्र नजर पर्ने भन्दै यस्ता सामाजिक विषय छायाँमा पर्ने गरेको सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामुले बताउनुभयो ।

कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख द्रोर्णबहादुर खत्रीले बालविवाह अन्त्यका लागि विद्यालय स्तरदेखि वडा, पालिका र जिल्ला स्तरसम्मका नागरिकलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव शारदा बस्यालले प्रदेश सरकारले बालविवाह अन्त्यका लागि गरेका प्रयास, रणनीति, कार्यान्वयनका अवसर र चुनौतीका बारेमा जानकारी गराउनुभयो । कार्यशालामा सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्वअध्यक्ष पोमनारायण पौडेलले पालिकामा भएका असल अभ्यास र आगामी दिनमा प्रदेश, जिल्ला र पालिकाले बालविवाह अन्त्यका लागि गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभयो ।

सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति, सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्य र युनीसेफ नेपालको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा १२ वटै स्थानीय तहका उपाध्यक्ष एवं जिल्लास्थित सरोकारवाला सङ्घ संस्थाको सहभागिता थियो ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?