देशभर मनसुन सक्रिय, बिहीबारसम्म ठूलो पानी पर्ने, पानी नपरे खडेरी, पर्‍यो कि बाढी, पहिरो र डुबान

हिमालय टाइम्स
Read Time = 12 mins

डिबी शर्मा/हिटा
काठमाडौं । देशभर मनसुन सुरु भएको छ । आगामी तीन दिन मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना छ । यसले मनसुन थप सक्रिय हुने महाशाखाको भनाइ छ । मनसुन सक्रिय भएसँगै देशभर ठूलो पानी पर्न थालेको छ । मंगलबार देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ । वर्षाका कारण विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानसमेत भएको छ । कतिपय ठाउँ जलमग्न भए । बाढी, पहिरो र डुबानमा परेर एकजनाको ज्यानसमेत गएको छ । बाढी, पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ । कतिपय ठाउँमा पहिरो हटाएर यातायात पुनः सञ्चालन गरिए पनि कतिपयमा भने पहिरो हटाउन समय लाग्ने भएको छ । मंगलबार प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित बनेको थियो । भारी वर्षाले विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल केहीबेर बन्द भएका थिए ।

यो क्रम आगामी तीन दिनसम्म जारी रहने महाशाखाले जनाएको छ । आगामी तीन दिन देशका पहाडी भूभागमा बाढी, पहिरो र ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने महाशाखाको पूर्वानुमान छ । बाढी, पहिरोको जोखिम रहेकोले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा महाशाखाले अनुरोध गरेको छ । केही दिन अघिसम्म पानी नपर्दा देशका धेरैजसो ठाउँमा खडेरी लागेको थियो । रोपाइँ गर्न तयार किसानले पानीको पर्खाइमा थिए । तर, पानी पर्न थालेसँगै बाढी, पहिरो र डुबानको चिन्ताले फेरि पिरोल्न थालेको छ । नेपालमा बर्सेनि विपत्जन्य घटनमा सयौँले ज्यान गुमाउने गरेका छन् । नेपालमा यसपाली मनसुनमा झण्डै १७ लाख मानिस प्रभावित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
बाढी, पहिरो, ठूलो र अविरल वर्षा तथा डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने सम्भावना देखिएको प्राधिकरणका अधिकारी बताउँछन् ।

ठाउँ-ठाउँमा जलमग्न
झापामा भारी वर्षा, हजार बढी घर डुबानमा
मंगलबार भारी वर्षा हुँदा देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । भारी वर्षा भएका क्षेत्रमा हजारौँ घरहरू डुबानमा परेका हुन् । झापामा भारी वर्षा भएको छ । एक्कासि ठूलो पानी परेपछि मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा पानीको बहाब बढेका छ । बाढीका कारण झापाका हजारभन्दा बढी घर डुबानमा परेका छन् । बाढीले घर डुबानसँगै दर्जनौँ परिवार विस्थापित भएकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार गौरादह-६ तेलिया डाँगीमा रतुवा खोलाको बाढी पस्दा वडा नम्बर ४ र ५ का सयभन्दा बढी घर डुबानमा परेका छन् । त्यस्तै भद्रपुरका विभिन्न वडामा मेचीको बाढीले सय बढी घर डुबाएको छ । शिवसताक्षीका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा पारेको छ भने झापा-१ मिलनबस्तीका ९० घर डुबानमा परेका छन् ।

विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला, मोरङमा बाढीले एकजनालाई बगायो
अविरल वर्षासँगै आएको बाढीका कारण एक जनाको ज्यान गएको छ । बाढीले बगाएर सुन्दरहरैँचामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा-६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको बाढीले बगाएर मृत्यु भएको हो । सुन्दरहरैँचा-३ आइतबारेमा गछिया खोलाले बगाउँदै गरेको अवस्थामा बिहान विकको शव भेटिएको थियो ।

यता, अविरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका-८ खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका अनुसार विस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सिंघियाको बाढीका कारण कटहरी-१को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर–२को खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।

बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । खोला किनारका बस्तीहरूलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

बुटवल जलमग्न, सडकमै बग्यो भल
मंगलबारको वर्षाले बुटवलको मुख्य बजार डुबानमा पर्‍यो । ढलको उचित निकास नहुँदा निर्माणाधीन सडकबाटै भेल बगेको थियो । राजमार्ग चौराहा-गोलपार्क ६ लेनमा सडकमै वर्षाको पानी बगेको हो । राजमार्गसँगै नाली निर्माण रोकिँदा सामान्य वर्षा हुँदासमेत जलमग्न हुने अवस्था आएको स्थानीयको भनाइ छ । अविरल वर्षासँगै आएको बाढीले बुटवलका विभिन्न स्थान जलमग्न भएका हुन् । बुटवलको अमरपथ, राजमार्ग चौराह, कालिकानगर, देवीनगर, दीपनगर, सुक्खानगर लगायतका क्षेत्रमा सडकबाटै भल बगेको थियो । मोतीपुर, सेमलार र तिलोत्तमाका कतिपय बस्तीमा घरभित्रै पानी पस्यो ।

सप्तकोसीमा पानीको बहाव बढ्यो, नदीमा डुंगा चलाउन र माछा मार्न रोक
सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुंगा चलाउन पूर्णरूपमा रोक लगाएको छ भने माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको हो । नदीको जलस्तर बढेसँगै प्रशासनले कोसीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टायता भने बढ्दो क्रममा छ । ब्यारेजका १६ ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

हिमाली जिल्लामा हवाई सेवा ठप्प
मौसममा आएको खराबीका कारण हप्ता दिनदेखि हिमाली जिल्लामा हवाई सेवा बन्द भएको छ । सडक सञ्जलासँग नजोडिएको हुम्लामा हवाई मार्गमार्फत नै यहाँका सर्वसाधारणहरू यात्रा गर्न बाध्य छन् । हप्ता दिनदेखि हवाई सेवासमेत ठप्प भएपछि आफूहरू समस्यामा परेको स्थानीयले बताएका छन् । हवाई सेवा अझै केही दिन ठप्प हुने अनुमान गरिएको छ । सुर्खेत र नेपालगञ्जबाट हुम्लाका लागि उडान हुँदै आएको छ ।

काठमाडौंमा दुई दिन फोहोर नउठ्ने
नुवाकोटको सिसडोलमा सडक वर्षाका कारण अवरुद्ध भएको छ । सिसडोलबाट लेदोसहितको फोहोर खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै काठमाडौको दुई दिन फोहोर नउठ्ने भएको छ । बाटो मर्मत गर्नुपर्ने भएकाले मंगलबार र बुधबार उपत्यकाबाट फोहोर बोक्ने गाडीलाई नपठाइएको काठमाडौं महानगरको वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो । उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ । बञ्चरे डाँडामा दैनिक २०० गाडी फोहोर विसर्जन हुँदै आएको छ । वर्षायाममा मुस्किलले सयवटा गाडीले फोहोर विसर्जन गर्ने गर्छन् ।

देशभरका १० ठाउँमा सशस्त्र प्रहरीको तालिमप्राप्त टोली ‘स्ट्याण्डबाई’
मनसुनजन्य विपत् नियन्त्रण तथा उद्धारका लागि देशभरका १० ठाउँमा सशस्त्र प्रहरी बलले तालिमप्राप्त टोलीलाई स्ट्याण्डबाई राखेको छ । विपत् व्यवस्थापन शिक्षालय कुरिनटारबाट विशिष्टीकृत विपत् व्यवस्थापन तालिमप्राप्त टोलीलाई देशभरका १० स्थानमा स्ट्याण्डबाई राखिएको हो । सातवटै प्रदेश मुख्यालय, विपत् व्यवस्थापन शिक्षालय कुरिनटार र काठमाडौंमा दुई गरी १० ठाउँमा टोली स्ट्याण्डबाई राखिएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डिआइजी विदुर खड्काले जानकारी दिनुभयो । सशस्त्रका सम्पूर्ण कार्यालयहरूमा जल उत्पन्न प्रकोप प्रतिकार्यका लागि खोज तथा उद्धारका आधारभूत उपकरणसहित २४ सै घण्टा उद्धार टोलीको पनि व्यवस्था गरिएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?