महँगीले विद्यार्थीलाई सकस

Read Time = 8 mins

-रामचन्द्र रायमाझी
पाल्पा । केही दिनअघि खानेतेल किन्न पसल जाँदा थाहा भयो, तेल प्रतिलिटर ३ सय ६० रुपैयाँ पुगेछ । तेल मात्र होइन तरकारी समेत छोइनसक्नु छ’तानसेनको शितलपार्टी भेटिनु भएकी तानसेनको कैलाशनगरमा कोठा भाँडामा लिई त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययनरत गर्दै आउनुभएकी गुल्मीकी एलिना खत्रीको हो यो भनाई । उहाँले भन्नुभयो, ‘अहिले बजारमा सबै चिज अत्याधिक महँगो छ, हामी जस्ता कोठा भाडामा लिएर पढ्न बस्नेहरुलाई निकै सकस भएको छ ।’ घरबाट बुवा आमाले पाँच महिनाका लागि भनेर अड्कलेर खर्च पठाइदिनुहुन्छ तर महंगीले गर्दा त्यो खर्चले दुई महिना पनि धान्न धौंधौं हुने गरेको उहाँको गुनासो छ । ‘साँझ, बिहानको तरकारी किन्नकै लागि साथमा दुई÷तीन सय रुपैयाँ नभएसम्म हुँदैन । यसरी बजारमा बसेर पढ्न नसक्ने अवस्था आयो’ खत्रीले भन्नुभयो ।

पछिल्लो समय महँगीका कारण निम्न आय भएका मात्र होइन, कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीहरु समेत बढी मर्कामा परेका छन् । इन्धनको मूल्यमा भएको अचाकल्ली वृद्धिले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर गरेका कारण विद्यार्थीहरु बढी मारमा परेका हुन् । अचाक्ली महँगीका कारण अड्कालेको पैसाले साझाँ, विहानको भान्सा चलाउनै सकस भइरहेको विद्यार्थीहरुको गुनासो छ । ‘कति साह्रो महँगो भएको तरकारी,’ पसलेले एक सय रुपैयाँ प्रतिकेजी टमाटर भनेपछि जिब्रो टोक्दै पसल बाहिर निस्किनुभएकी कमला सूर्यवंशीले भन्नुभयो । ‘धेरै भएको थियो टमाटर किनेकी थिइन्, टमाटरको मूल्य सुनेर मन कटक्क खायो, बरु नखाने,’ नकिन्ने अठोटमा पुगेकी सूर्यवंशी भन्नुहुन्छ । दुई वर्ष अघि स्याङजाबाट अध्ययनको लागि तानसेन आउनुभएकी उहाँलाई अहिले महँगीले पिरोलेको छ । अघाँखाँचीबाट पढाईको शिलशिलामा तानसेनको मखनटोलमा बस्दै आउनुभएका पवन विकको समस्या पनि उस्तै छ । कोठामा दाजुभाई सँगै बस्दै आउनुभएका उहाँ पढाईसँगै साझा विहानको खर्च ठार्न धौं धौ भएको बताउनुहुन्छ । ‘पहिले दुई सयले १०÷१५ दिनलाई पुग्ने तरकारी आउन्थ्यो तर अहिले दुई सयले साँझा विहानको छाकलाई ठिक्क हुन्छ’ विकले भन्नुभयो ‘आफ्नो कमाई नभए पछि घरकै खर्चमा आश्रित हुनुपर्दा तनाव हुँदो रहेछ । सरकारले भाउ बढाउन मात्रै जानेको छ । रोजगारी दिन जानेको छैन ।’

खत्री, सूर्यवंशी र विक मात्रै होइन अध्ययनका लागि घर छाडेर बजार आएका सामान्य परिवारका विद्यार्थीहरुलाई महंगीले सास्ती खेप्नु परेको छ । पेट्रोल इतिहासमै पहिलो पटक २ सय रुपैयाँ नजिक पुगेको छ । खाने तेलको भाउमा भएको वृद्धिले त तरकारी पनि उसिनेर खानु पर्ने अवस्था देखिन थालेको छ । तरकारी पनि ठाउँ हेरेर सस्तो वा महँगो छ । थोक विक्रेताकहाँबाट किन्दा केही सस्तो भएपनि चोक चोकमा खुद्रा पसलमा आइपुग्दा तरकारीको भाउ जिब्रो नै टोक्न मन लाग्ने गरी महँगो छ । चामल, गहुँ दालसमेत सबै खालका खाद्यवस्तु बढेको छ । व्यापारीहरुले चिनी, तेलको भाउ आफूखुसी बढाएका छन् । महँगीको प्रभाव सबैतिर देखिएको छ । कोरोना भाइरसको महामारी कारण महँगी यसै पनि बढेको थियो । पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरे यता अवस्था झनै विकराल बनेको छ । बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने जिम्मा पाएका सम्बन्धित निकायहरु नै सामान्य मूल्य वृद्धि स्वाभाविक भएको ठान्छन् । जसका कारण विद्यार्थी जस्तै निम्न आय भएका नागरिक समस्यामा परेका छन् । अत्यावश्यक दाल, चामल, तरकारीजस्ता उपभोग्य वस्तुमा त्यत्ति बढी कर नबढेको भएपनि भाउ अचाक्ली बढेको जिल्लाका खुद्रा व्यापारीहरू नै स्वीर्काछन् । खाद्यान्नदेखि तरकारीसम्म, इन्धनदेखि सवारीभाडासम्म विद्यार्थीको पहुँचबाहिर पुगिसकेको छ । तैपनि, यसबारे नियामक निकाय र सरकारमा बस्नेहरूको अनुहारमा कुनै चिन्ता देखिन्न ।

विभिन्न निहुँमा खाद्यान्नलगायत अन्य सामानको मनपरी मूल्य बढाउने व्यापारीलाई साउन १ गतेदेखि कर्मचारीको तलब बढ्ने भएपछि फेरि मूल्यवृद्धि गर्न सजिलो भएको छ । भान्छामा प्रयोग हुने अधिकांश खाद्य पदार्थको मूल्य छोइसक्नु छैन । गोलभेडा फेरि पनि १२० रुपैयाँ प्रतिकेजी पुगेको छ । भारतले नेपालमा चिनी बन्द गर्ने हल्लाले चिनी पनि सय रुपैयाँ पुगिसकेको छ । गहुँ, चामल, फलफूलदेखि लिएर भान्छामा प्रयोग हुने सबै वस्तुको भाउ अचाक्ली बढेको छ । खाना पकाउने ग्यासमा मात्रै एकैचोटि २०० रुपैयाँ बढ्दा अड्कलेको खर्चमा चल्ने विद्यार्थीहरुलाई सकस भएको छ ।

अरूलाई घर चलाउन जति धौधौ भए पनि व्यापारीलाई भने रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पनि महँगी बढेको र भारतले निर्यातमा कडाइ गर्दा पनि थप महँगी बढेको भन्ने जवाफ दिन सजिलो भएको छ । आफ्नै देशमा उत्पादन हुने फलफूल, हरिया सागपात, तरकारीसमेत अचाक्ली महँगा भएका छन् । कतै भने किसानहरू बजार नपाएर गाईवस्तुलाई भिन्डी खुवाउन बाध्य भएका खबर आइरहेका छन् ।

विगतमा मनलाग्दी बजार मूल्य बढाउनेलाई वेलावेलामा सरकारका तर्फबाट अनुगमन तथा जरिवानासमेत हुने गरेका समाचार आइरहन्थे । बजारमा अनुगमनकर्ताका तर्फबाट वेलावेलामा छापा मारेका समाचारका कारण व्यापारीसमेत डराउँथे । बजारभाउमा मनपरी गर्नबाट डराउँथे । अहिले केही महिनादेखि सरकारका तर्फबाट बजार अनुगमन गरेको सुनिँदैन । व्यापारीलाई जे गर्न पनि छुट भएजस्तैछ । उपभोक्ता समिति पनि कानमा तेल हालेर बसेजस्तै देखिन्छ । सर्वसाधारण र विद्यार्थीहरुको पक्षमा कसैले बोलेको सुनिँदैन । न त पसलमा मूल्यसूची टाँसेको देखिन्छ, न तराजु नै उपभोक्ताले देखिने गरी राखेका हुन्छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?