बकर इदका अवसरमा सार्वजनिक बिदा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिइएको बताएको हो । उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

‘उक्त पर्व वि स २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व हो बकर इद (इदुल जोहा) । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रही आएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्छ ।

अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्मगुरुहरू बताउँछन् ।

यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । आइतबार यो पर्व मनाउनका लागि मुस्लिम समुदाय तयारीमा जुटेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?