मानवीय लापर्वाही र बद्मासीको परिणाम यतिखेर देशको अधिकांश वन क्षेत्र डढेलोको भयावह आतंकको चपेटामा देखिएको छ । अहिले सुख्खायाम चलिरहेको छ । हिउँद महिनामा हिउँदे पानी परेको समयमा बाहेक सुख्खा लाग्ने गर्छ । यस वर्ष हिउँदे पानी ज्यादै कम मात्र पर्यो । त्यो पनि सबै ठाउँमा समानुपातिक रूपमा परेन । यस वर्ष अरू वर्षभन्दा अग्निप्रकोप बढी भइरहेको पाइएको छ । अग्निजन्य प्रकोपलाई अन्य बाढीपहिरो, भूकम्प, हावाहुरी, डुबानजस्ता प्रकोपसँग दाँज्न मिल्दैन । अन्य कतिपय प्रकोप नितान्त प्राकृतिक कारणबाट सिर्जना हुने गर्छन् तर आगोसँग सम्बन्धित प्रकोप केही प्राकृतिक हुने भए तापनि अधिकांश मानवीय त्रुटि, लापरबाही र जानाजान गरिएका क्रियाकलापबाट पैदा हुने गरेका छन् । हालका दिनहरूमा देशका धेरै ठाउँमा डढेलाको प्रकोप बढिरहेको छ । अर्घाखाँचीमा वनको आगो बस्तीसम्म फैलिनाले घरगोठसमेत जल्न पुगेको दर्दनाक घटना बन्यो ।
यस्ता दुःखद् खबरहरू अन्यत्रबाट समेत आइरहेका छन् । हिउँद महिनामा पतझर वनहरूमा बोटबिरुवाका पात झरेर भूइँ ढाकेको हुन्छ । सुकेका खर र ससाना बुट्यानहरू पनि सुकेका हुन्छन् यो मौसममा । वन र बस्तीका बीच अग्निरेखा कोरेर आगो रोक्ने प्रयास गर्न पनि हामीले सकेका छैनौं । हेलचेक्र्याइँ वा बालबच्चाहरूले आगो पार्ने साधन पाएर रमाइलो गर्दा ठूल्ठूला आगलागी भएका घटना छन् । अर्कातिर चुरोटका अम्मलीहरूले सलाई कोेरेर वा चुरोटको ठुटो जथाभावी फाल्नाले यस्ता घटना हुनसक्छन् । कतिपय अवस्थामा त ठूला मानिसहरूले जानीजानी राम्रो घाँस पलाउने वा काँचा रूख काट्न नपाइने भएकाले डढेलो लगाएर वनका रूख सुकेपछि दाउरा काट्न पाइने लालसाले डढेलो लगाउने गरेका छन् ।
तर, यस्तो डढेलो नियन्त्रणबाहिर गएर बस्तीतिर बढेपछि मानवीय र भौतिक क्षतिसमेत हुने गरेको छ । डढेलो निभाउन गएका सेना, प्रहरी र स्थानीय व्यक्ति डढेलामा परेका, मृत्युवरण गर्न पुगेका घटना बेलाबेलामा आउने गरेका छन् । डढेलोबाट एकातिर मानवीय क्षति हुने गरेको छ । अधिक संख्यामा वन्यजन्तु र पक्षीहरूका साथै अमूल्य जडिबुटी तथा वनस्पतिको विनाश हुने गरेको छ । वनस्पति विनाशपछि बाढीपहिरो आउँछ र यसबाट थप विनाश हुनपुग्छ । यसरी सिर्जना हुने दुःखद् अवस्थाबाट मानिस, वनस्पति, वन्यजन्तुहरू नै प्रभावित हुनपुग्ने हुन् । यसको कारणबाट वायुप्रदूषण हुन पुग्छ भने जलप्रदूषण हुनजान्छ । वायुप्रदूषणका कारण मानिसलगायत प्राणीहरूमा समेत अनेकौं प्रकारका रोग लाग्छन् ।
वातावरण तुवाँलोले ढाकिन पुग्छ । वायुमण्डल कार्बनले भरिन्छ । जमिनसम्म सूर्यको किरण प्राकृतिक रूपमा आइपुग्न पाउँदैन । पृथ्वी तात्छ र उब्जाउ घट्छ । अनेक प्रकारका प्रतिकूल परिस्थिति सिर्जना हुन्छन् । जलचक्र, प्राणीचक्र तथा वनस्पतिचक्रमा प्रतिकूलता पैदा हुनु भनेको समग्र प्रकृतिमा प्रतिकूलता पैदा हुनु हो । जसरी मानिसले प्रकृतिमाथि विजय गर्न सक्दैन त्यसैगरी प्रकृति र प्राकृतिक अवस्थामा विचलन पैदा गर्नु हुँदैन । हालैको मात्र दुबईले कृत्रिम बादलका माध्यमबाट वर्षा गराउने प्रयास गर्दा प्राकृतिक सन्तुलन बिग्रन गई त्यहाँ ठूलो विनाश भयो, मानवले प्राकृतिक वातावरण बिथोल्नु हुँदैन । डढेलो धेरैजसो मानवीय कारणबाट सिर्जना हुने प्रकोप भएकाले न्यूनीकरणका लागि मानवीय सजगता आवश्यक छ ।
विपद् व्यवस्थापनका लागि सरकारले एउटा विभागकै व्यवस्था गरेको छ । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा समेत विपद व्यवस्थापनका लागि छुट्टै एकाइहरूको व्यवस्था भएको छ तर जुन उद्देश्यका साथ यस्ता निकायको स्थापना भएका छन् तिनमा आवश्यक साधनस्रोत र प्रिविधिको कमी छ । आवश्यक जनशक्ति अपुग छ । अर्कातिर नेपाली मानसिकताका कारण उदासीन रहने प्रवृत्ति कारक बन्ने गरेको छ । कुनै ठाउँमा लागेको डढेलोमा पानी छम्केरमात्र यसको समाधान हुन सक्दैन । एक ठाउँको आगो त निभाउन सकिएला तर स्थायी समाधान यो होइन । सरकारले यस्ता प्रकोपहरूको स्थायी समाधान खोज्नुपर्छ । वर्तमान कानुन अनुसार संघीयका साथै प्रदेश र स्थानीय सरकारहरू पनि छन् ।
विशेषगरी वनजंगल भएका गाउँघरतिर डढेलाको घटना हुने भएकाले स्थानीय सरकार नै समाधाका लागि सचेत रहनुपर्ने हुन्छ । सचेतता अपनाउनुका साथै स्थानीयलाई वन डढेलो लगाउनु हुँदैन र लगाए यस्ता-यस्ता परिणाम हुन्छन् भनेर सजग गराउनुपर्छ । डढेलो लगाउनेहरूको पहिचान गरी कारबाही गर्न सक्नुपर्छ र डढेलो लगाउने व्यक्तिको पहिचान गराउनेहरूलाई पुरस्कृत गर्ने प्रचलनको विकास गर्न सक्नुपर्छ । आगलागी र डढेलाको सम्भावनालाई आत्मसात गरी पालिकाहरूमा बारुण यन्त्रहरूको व्यवस्था गरिनुपर्छ । साथै सरकारले गरेका असल कामहरूमा जनताले पनि साथ दिनुपर्छ । यसो भयो भने यस्ता क्षतिकारक डढेलो आगलागीलगायत प्रकोप न्यूनीकरण गर्न सकिन्छ । विपद् व्यवस्थापनका संयन्त्रहरुको विकास, दक्ष मानवशक्ति, स्रोतको जोहो र प्रविधि अनिवार्य भइसकेको छ । आगो लागेपछि कुवा खन्न सुरु गर्ने परम्पराको कुनै अर्थ छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच