बालकविता : फर्क साथी

हिमालय टाइम्स
Read Time = 3 mins

✍️ रेवतीप्रसाद निरौला

सोलु जिल्ला गुग्यो गाडी पञ्चन फेदी गाउँ
विदेश जाने फर्क साथी यतै गरी खाउँ ।
कत्ति बाँध्नु खरको छानो चोया बाताले
पालौं बाख्रा फेरौं छानु जस्ता पाताले ।।

उन्नत जातको गाई पालेमा भैँसी सरह
गर्न सके गाउँमै झर्छ पैसा बरर ।
टाढा पनि छैन अहिले गाउँको बजार
एकै मानु घ्यू बनाए ठ्याक्कै हजार ।।

कोहीले गरौ मौरी पालन खेती तरकारी
घुस खोरीले मात्र खाउन् जागीर सरकारी ।
जग्गा जमिन बाँझै रहृयो खाउँन जोतेर
पराई देशमा किन बस्छौं भित्तो पोतेर ।।

बुढी आमा छोरो सम्झी हिँड्छिन् रोएर
नबसन सुत्केरीका थाङ्ना धोएर ।
राम्रो मान्छे प्रमुख भाछ केही त गर्ला नि !
उतै बसे बुढेसकालमा रुनु पर्ला नि ! ।।

सुन चाँदी हीरा मोती फल्छ यहाँ पनि
दुःख बिना साहुँले पैसा दिन्न त्यहाँ पनि ।
हिउँ पग्लेर पानी बनी समुद्रमा आयो
तातो घाममा काम गर्छौ रे मेरो मनै खायो ।।

हात भरी ठेला होलान् हम्बर हानेर
सुन्दै मेरो आउन थाल्यो मुटु कामेर ।
डोजर लाए बाटो खने बत्ती बलाए
हुन्छ पौरख आफ्नै गाउँको माटो चलाए ।।

आजभन्दा भोलिभन्दा दिन गई सक्यो
चाँडै फर्की आउँ न युवा ढिलो भई सक्यो ।
बर रोपौ पिपल रोपौ शीतल छायाँले
प्यारीलाई नि सताउँ छरे तिम्रै मायाले ।।

अब धेरै नछोड है हिँड्लिन डुलेर
घुरेन बारी बस्ला फेरि पाती फूलेर ।
आकाशैका लाखौं तारा गन्न सकिन्न
भविष्यमा के हुने हो भन्न सकिन्न ।।

यो कुराले तिम्रो मनमा छुन्छ छुँदैन
आगो लागेपछि कुवा खन्दा हुँदैन ।
वारि पाखा पारि पाखा घाम घमाइलो
धान झुल्दा तोरी फुल्दा लाग्छ रामाइलो ।।

घाँस दाउरा गर्दै छु म डोको बोकेर
चाँडै गरी आऊ है साथी मनमा सोचेर ।
सँगै जाउँला खेती गर्न मेलो मेटौला
आज बिदा भएँ हजुर फर्के भटौला ।
दूधौली न.पा.(६ हर्षाही, सिन्धुली ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?