बाबुराम भट्टराईलगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको हो : जसपा अध्यक्ष यादव

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताउनुभएको छ ।

शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका ९ जना नेताहरुले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताउनुभएको हो ।

बिहीबार सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र भक्तबहादुर शाह लगायतका नेताहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उहाँले जानकारी दिनुभयो ।

कारबाहीमा पर्ने नेताहरुले पार्टीको हित विपरित काम गरेको, पार्टीको सिद्धान्त विपरित अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय गरेको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – ‘अर्को पार्टी बन्ने निर्णय भइसकेपछि डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी, भक्त बहादुर शाह लगायत ९ जना प्रमुख भुमिका खेल्नेहरुलाई पार्टीको हित विपरित, पार्टीको एकतालाई तोड्ने प्रयास गरेको र पार्टीको जुन घोषित लक्ष्य छ, उद्देश्य छ, सिद्धान्तका विपरित अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय समेत गरिसकेको अवस्थामा उहाँहरुलाई पार्टीमा सम्हालेका पद र सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ । पदमुक्ति सँगै सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’

अध्यक्ष यादवले सरकारले संसदमा पेश गरेको नागरिकता सम्बन्धी विधेयकलाई फाष्ट ट्रयाकमा पारित गर्नुपर्ने बताउनुभयो । उहाँले फाष्ट ट्रयाकमा पारित गर्न गठबन्धनमा समझदारी पनि बनेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो - ‘यही संसदबाट पारित गर्ने गरी पुराना विधेयकलाई फिर्ता लिइएको छ । र, नयाँ प्रवेश भइसकेको छ । नयाँ विधेयकमा खासगरी कुनैपनि प्रकारका नागरिकता लिएका या नेपाली नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछ । या वंशजको नागरिक हुनेछ भन्ने आशयको साथ अहिले जुन विधेयक गएको छ, यसलाई यही सदनबाट फाष्ट ट्रयाकमा गएर भएपनि पारित गर्नुपर्छ भन्ने गठबन्धनमा समझदारी भइसकेको छ । चाँडै पास हुन्छ भन्ने हामी आशामा छौँ ।’

जसपामा विवाद बढेपछि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने केन्द्रीय समितिको छुट्टै बैठक काठमाडौंमा सम्पन्न गर्नुभएको थियो । यादव पक्षको यो निर्णय सँगै जसपा औपचारिक विभाजनको नजिक पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?