लोकप्रिय कवि एवं गीतकार वीरेन्द्र राईको जन्म आजभन्दा ५७ ऋतुअघि खोटाङ जिल्लाको लिलिमा-५, याम्खामा आप्पा कृष्णप्रसाद राई तथा आमा मधुलक्ष्मी राईको कोखबाट भएको हो । कविता लेखनबाट सिर्जनायात्राको शुभारम्भ गर्नुभएका उहाँ पछि गएर लोकप्रिय गीतकारका रूपमा स्थापित हुनुभयो । २०४७ सालमा पहिलोपल्ट यम बरालको स्वर र दिनेश सुब्बाको संगीतमा ‘वेदनाको हुरी चल्दा’ बोलको गीत रेकर्ड गराउनुभएका उहाँको २०४८ मा बुलु मुकारुङको संगीतमा उदय सोताङद्वारा स्वरबद्ध ‘झुक्किएँ कि पहिले कतै’ बोलको गीतले उहाँलाई एक कुशल गीतकारका रूपमा चिनायो भने सोही वर्ष सुरेश अधिकारीको संगीत तथा स्वरमा रेकर्ड भएको ‘म मरेको पल’ बोलको गीतले गीतकार वीरेन्द्रलाई चर्चाको उचाइमा उभ्यायो । २०४९ मा बुलु मुकारुङकै संगीतमा राजेश पायल राईले गाउनुभएको ‘उस्तै होला जस्तो लाग्छ’ बोलको गीत अहिले पनि श्रोताको पहिलो रोजाइमा पर्छ । यसरी गीति लेखनबाट छोटो समयमै चर्चा कमाउनुभएका वीरेन्द्रले ‘सल्लेरी वन पर्यो’ लोकदोहोरी एल्बम २०५२, ‘गीतको महल’ गीति एल्बम २०५९, ‘हिरेम्पा’ गीतसंग्रह २०६२, ‘सादङ्गी फूल’ कवितासंग्रह २०६७ र ‘रैछाकुले म’ गीतसंग्रह २०७८ जस्ता महत्वपूर्ण कृतिहरू पाठक-श्रोतामाझ पस्किसक्नुभएको छ । कवि-गीतकार राई सर्वोत्कृष्ट गीतकार-२०६२ रेडियो नेपाल तथा सर्वोत्कृष्ट एल्बम र गीति पुरस्कारलगायत दर्जनौं प्रतिष्ठित पुरस्कार-सम्मानद्वारा सम्मानित हुनुहुन्छ । गीतले मानिसको संवेदनालाई तुरुन्तै पगाल्ने सामथ्र्य राख्छ भन्नुहुने कवि तथा गीतकार वीरेन्द्र राईसँग हिमालय टाइम्सको हिँड्दा-हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको अन्तरसंवादको संक्षिप्त अंश :-
तपाईंको गीतसंग्रह ‘रैछाकुले म’ भर्खरै बजारमा आएको छ, रैछाकुलेको अर्थ बुझाइदिनुस् न ?
किराँत किंबदन्तीअनुसार किराँती आदिपुरुष हुुन् रैछाकुले, जसलाई तयामा-खियामाको माइतीका रूपमा चिनिन्छ ।
भनेपछि यो तपाईंहरूको मिथकीय बिम्ब रहेछ, यही नाम रोज्नुको कुनै खास कारण छ कि ?
अवश्य छ, हाम्रो मुन्धुम दर्शन र सभ्यतासँग प्रत्यक्ष जोडिएको पुज्य पात्र भएका कारणले यो नामलाई मैले गीतको शिरमा राख्न चाहेको हुँ ।
तपाईं त खासगरी गीत र कवितामै रमाउने स्रष्टा, यी दुईमध्ये तपाईंको रोज्जा विधा चाहिँ कुन हो ?
अनुत्पादक भएकाले हिजोआज कविता लेख्नै झ्याउ लाग्छ मलाई । गीत लेखेर चाहिँ गीतकार बाँच्न सक्छ भन्ने प्रमाण म आफैं हुँ । अर्को कुरा कविताको भाष्य छिचोल्न श्रोतापाठकलाई अलिक असहज हुन्छ । तर, गीतले मानिसको संवेदनालाई तुरुन्तै पगाल्ने सामथ्र्य राख्छ । यसर्थ लेखनको हिसाबले अलिक बढी मैले गीतलाई प्राथमिकतामा राखेको छु । यद्यपि कवितालाई म अत्यन्त श्रद्धा गर्छु ।
सिर्जना चोरी प्रकरणले बेला-बेला बजार तातिएको सुनिन्छ, यसबारे तपाईंको धारणा के छ ?
हो, साहित्यमा जसमध्ये पनि कविता, गीत र गजल चोरीको हल्ला बेला-बेला मकहाँ पनि थुरिएर आइपुग्छ, जो स्रष्टाहरूका निम्ति दुखदमात्रै नभएर घातकसमेत भएका कारण यस्ता कुराहरूले प्रश्रय पाउनुहुँदैन । दुर्भाग्य, हाम्रोमा कतिपय लेखक, समालोचकहरू नै प्रवृत्तिहरूलाई जोगाउन दत्तचित्त भएर लागेको देखिन्छ ।
के साहित्यमा पनि राजनीति हुन्छ ?
माथि उल्लेख गरिएको सिर्जना चोरीजन्य विकृति र त्यसलाई जोगाउने प्रवृत्ति दुवै साहित्यमाथिको राजनीति नै त हो ।
अहिले बजारमा घोष्ट राइटिङको प्रचलन पनि छ, यो सम्बन्धमा तपाईंको धारणा के छ ?
घोष्ट राइटिङका कारण धेरै लेखकले सानोतिनो रोजगारी पाएका छन् । यो आफैंमा राम्रो त हो तर यसरी अरूका बारेमा लेखिरहँदा के खतरा हुन्छ भने एकातिर लेखक स्वयंको निजत्व सुरक्षित रहँदैन भने अर्कोतिर यस्ता राइटिङमा लेखाउने व्यक्तिको वास्तविक अनुभूति पनि प्रकट हुन सक्दैन ।
तपाईंको विचारमा एउटा लेखकका लागि पुरस्कारले कत्तिको महत्व राख्छ ?
कुनै पनि लेखकका लागि पुरस्कार, सम्मानले विशेष महत्व राख्छ, किनभने पुरस्कार भनेको प्रतिफल हो, जसले स्रष्टालाई हौसलामात्र नबढाएर थप जिम्मेवारसमेत बनाउँछ, यद्यपि पुरस्कारमाथि नै पूर्ण विश्वास गरेर लेख्नु चाहिँ गलत हो ।
स्रष्टाहरू तपाईंलाई निकै घमण्डी गीतकारका रूपमा हेर्छन् नि, तपाईं साँच्चै घमण्डी नै हो त ?
मलाई घमण्डी देख्नेहरूले मसँग केवल दुई घण्टाजस्तो संगत गरेर हेरुन्, त्यसपछि मप्रतिको उसको धारणा आफसे आफ परिवर्तन हुनेछ ।
अन्त्यमा हिँड्दा-हिँड्दै केही छुटाउनुभयो कि ?
धेरै कुरा छुटेको छ, ती छुटेका कुराहरूलाई समेटेर एउटा संस्मरण संग्र्रह तयार गर्दैछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच