संसदमा ओलीप्रति माओवादी सांसदको व्यंग्य, शपथ खुवानेले एउटा र शपथ खानेले एउटा नगरौँ

Read Time = 3 mins

काठमाडौं । सत्तासीन दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथग्रहणसम्बन्धी विधेयक ल्याउन माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले यस्तो बताउनुभएको हो । उहाँले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले पूर्व प्रधानमन्त्री ओलीले शपथग्रहण लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरुको नै उच्चारण नगरेको भन्दै संसदबाटै एउटै शब्द उच्चारण हुने गरेर विधेयक पास गर्नुपर्ने बताउनु भयो । उहाँले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बीन्धत रहेकोले हास्यव्यंग्यको पात्र नबन्ने गरेर विधेयक ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शपथको कुरा छ । सत्तामा रहँदा एउटा शपथ र विपक्षमा रहँदा अर्को शपथ हुन्छ । यो कुरा मान्छेको एउटा नैतिकतासँग संस्कारसँग पनि सम्बन्धित हुने रहेछ । हाम्रो सम्मानित प्रधानमन्त्रीले यो भन्दा अघि शपथ खाने बेला ठूलो हास्यव्यंग्य बन्यो । हामीले अब के गर्नुपर्छ भने जे शपथ खाने हो त्यो यहीँ पास गरौँ । शपथ खुवानेले एउटा र शपथ खानेले एउटा नगरौँ । जनता भन्नेपनि यहीँ लेखौँ, ईश्वर भन्नेभएपनि यही लेखौँ । महामहिम राष्ट्रपतिले एउटा भन्नुहुन्छ, प्रधानमन्त्रीले अर्को भन्नुहुन्छ । त्यो यहीँ पास गरौँ नत्र हामी हास्यव्यंग्य जस्तो हुन्छौँ । यी कुराहरुमा ख्याल होस्, हामी हास्यव्यंग्यको पात्र नबनौँ ।’

सांसद महतले आफू हास्यव्यंग्यको पात्र नबन्ने गरेर संसदबाट नै एउटै शब्दावली उच्चारण हुने शपथग्रहण सम्बन्धी विधेयक आवश्यक रहेको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?