सन्दीप इन्टरनेसनल लिगमा अनुबन्ध

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने युएईले आयोजना गर्न लागेको इन्टरनेसनल लिग टी–२० क्रिकेट प्रतियोगितामा अनुबन्धित हुनुभएको छ । युएई क्रिकेटको सर्वोच्च निकाय इमिरेट्स क्रिकेट बोर्डले एक विज्ञप्तिमार्फत् लिगमा सहभागिता पक्का भएका ५० खेलाडीको नाम सार्वजनिक गरेको हो ।

उक्त सूचीमा नेपालबाट सन्दीप लामिछानेसँगै टेस्ट राष्ट्र तथा एसोसिएट टोलीका खेलाडी विभिन्न टोलीमा अनुबन्धित हुनुभएको हो । मार्की खेलाडी सूचीमा नेपालका सन्दीप लामिछानेसँगै वेस्ट इन्डिजका सुनिल नारायण, आन्द्रे रसल, एभिन लेविस, फाबियन एलेन, शिम्रण हेटमायार, अकिल होसेन र रोम्यान पावेल रहनुभएको छ ।

इंग्ल्यान्डका मोइन अली, दविद मलान, स्याम बिलिंग्स, टम करन, एलेक्स हेल्स, क्रिस जोर्डन र टम बयान्टन पनि सूचीमा हुनुहुन्छ । यसबाहेक श्रीलंकाका वानिन्दु हसरंगा, दुस्मन्था चमिरा र भानुका राजपक्ष, न्युजिल्यान्डका कोलिन मुनरो तथा अफगानिस्तानका मुजिब उर रहमान पनि मार्की सूचीमा हुनुहुन्छ ।

प्रतियोगितामा ६ टोलीको सहभागिता हुँदैछ । हालसम्म नाइट राइडर्स ग्रुपको अबुधावी नाइट राइडर्स, जिएमआर गु्रपको दुबई क्यापिटल्स र अदानी स्पोर्ट्सलाइनको गल्फ जायन्ट्सको नाम पक्का भएको छ । क्याप्री ग्लोबल क्यापिटल लिमिटेड, लान्सर क्यापिटल र रिलायन्स स्ट्राटेजिक बिजिनेस भेन्चरले टोलीको नाम सार्वजनिक गरेका छैनन् ।

यस लिगमा सहभागी टोलीले लिग अवधिभरका लागि १८ खेलाडी अनुबन्ध गर्न पाउँछन् । जसमा चारजना युएईका खेलाडीसँगै दुईजना एसोसिएट खेलाडी हुनुपर्ने नियम रहेको छ । हरेक खेलको प्लेइङ ११ मा दुईजना युएई र एकजना एसोसिएट टोलीका खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान छ । यसकारण पनि नेपाललगायत एसोसिएट राष्ट्रका खेलाडीले राम्रो मूल्य र अवसर पाउनेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछन् । यसका लागि दुबई, अबुधावी र शारजाहको मैदान प्रयोग हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?