इजरायलले थप एक हजार कामदार लैजाने

Read Time = 2 mins

काठमाडौं । इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ । केयर गिभरमा एक हजारभन्दा बढी कामदार लगेको इजरायलले कृषिमा पनि थप एक हजारजना लैजाने भएको हो ।

इजरायलका राजदूत खनान गोदेरले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसँग भेट गरी उक्त जानकारी गराउनुभएको हो । सो अवसरमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबारमात्रै इजरायल सरकारले थप एक हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषय टुंगो लगाएको बताउनुभएको थियो ।

मन्त्री कुँवरले इजरायल सरकारले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत नेपालका कृषि, पर्यटन, उद्योगलगायतका विभिन्न क्षेत्रमा सहयोगका लागि आग्रह गर्नुभएको छ ।

मन्त्री कुँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारका लागि पुनः एकीकरणको नीति पारित गरेको जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नुभएको थियो । इजरायल र नेपाल सरकारबीच जी टु जीमार्फत् नेपाली कामदार लैजाने सहमति भएको थियो ।

इजरायलमा नेपालीले गर्दै आएको कामको मूल्यांकनका आधारमा थप कामदार लैजान इजरायली कम्पनीहरू तयार भएका हुन् । सोही आधारमा इजरायल सरकारले नेपालबाट कृषि क्षेत्रमा समेत एक हजार कामदार लैजाने सहमति गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?