नगरपालिकाले गाउँमै पुगेर सेवा दिएपछि स्थानीय हर्षित

Read Time = 11 mins

-डम्मर बुढा मगर
बागलुङ । भौगोलिक रुपमा विकटताका कारण परिवारका चार अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र बनाउन नपाउनुभएकी रायडाँडाँ निवासी २३ वर्षीय दुर्गा सापकोटाले घुम्ति शिविरमा परिवारका सदस्यको परिचय पत्र पाउदा हर्षका आँसुनै खसाल्नुभयो । बाबा, आमा र दुई भाई गरी परिवारका चार जना अपाङ्गताको लालन पालन गर्दै आएकी छोरी सापकोटाले आर्थिक अभावकै कारण अपाङ्गता परिचय पत्र बनाउन नसकेको बताउदै परिचय पत्र वडामै बनाउदा राहत मिलेको बताउनुभयो ।

‘अहिलेसम्म अपाङ्गता परिचयपत्र बनाउन सकिएको थिएन, घरमा सडक पुगेको छैन, बोकाएर लैजान संभव भएन, सदरमुकाम लैजान खर्च थिएन’ सापकोटाले भन्नुभयो ‘वडा कार्यालयले अपाङ्गता परिचयपत्र बनाइदिने भन्दै शिविरमा बोलाएका कारण वडा कार्यालयमा आएका हौं, अपाङ्गता परिचय पत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधी उपचारमा सहयोग हुँने छ, म अत्यन्तै खुसी छु ।’

उहाँको चार जना मध्ये आमा सिता जैशीले ‘क’ वर्गको अपाङ्गता परिचय पत्र पाउनुभयो भने अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचय पत्र पाउनुभएको बागलुङ नगरपालिकाका सामाजिक विकास अधिकृत सरस्वती रेग्मीले जानकारी दिनुभयो । उच्च रक्तचापको समस्या झेलिरहनुभएका बागलुङ नगरपालिका–१० भकुण्डे स्थित ७० वर्षीया तुलसी बिक गाउँमै चापाचापको कामले गर्दा जिल्ला सदरमुका औषधी खरिदका लागि जान भ्याउनुएको थिएन । बिकको औषधी सकिनै लागेको समयमा बागलुङ नगरपालिकाले वडामै आयोजना गरेको घुम्ती शिविरमार्फत रक्तचापको औषधी दिएपछि उहाँले दंग हुँदै भन्नुभयो ‘बल्ल स्थानीय सरकारको आभास भयो ।’

बिक मात्रै हैन घुडा सुन्निने र खुट्टा दुख्ने समस्यासंग जुद्नुभएको बागलुङ नगरपालिका–११ रायडाँडा निवासी ६२ वर्षीया जमुना थापाले गाउँमै उपचार सहितको औषधी पाउनुभयो । बागलुङ नगरपालिकाद्वारा सञ्चालित घुम्ती सेवा शिविरमा स्वस्थ्य उपचार गर्न आउनुभएको थापाले गाउँमै औषधी उपचार पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

सामुदायिक भवन निर्माणको लागि रायडाँडाँको शिविरमा योजना सम्झौता गर्न आउनुभएको याम बहादुर थापाले योजना सम्झौता संगै शिविरमै बैंक खाता खोल्न पाउँदा अचम्मित पर्नुभयो । ‘नगरपालिकामा गएर योजना सम्झौता र बैंक खाता खोल्दा गत वर्ष दुई दिन लागेको थियो, सदरमुकाम जाउँ आउ गर्दा उस्तै खर्च भयो, बैंकमा खाता खोल्दा दुई घण्टा लाईन बस्नुपरेको थियो,’ थापले भन्नुभयो ‘अहिले वडामै एकै दिनमा योजना सम्झौता संगै बैंक खाता समेत खोल्न पाइयो, हामी नगरपालिका जान्थ्यो आज नगरपालिका हामीकहाँ आएको रहेछ, बल्ल संघीयता आएजस्तो लाग्यो ।’

शिविरमै नगरपालिकाले सम्बन्धीत बैंकका कर्मचारीहरुलाई समेत लगेकाले शिविर निकै प्रभावकारी बनेको थियो । बागलुङ नगरपालिकाको रायडाँडा र भकुण्डेका नागरिकलाई योजना सम्झौता गर्न, माटो परिक्षण गर्न र स्वास्थ्य सेवाका लागि समस्या भइरहेको सन्र्दभमा गाउामै माटो परिक्षण, स्वास्थ्य शिविर मार्फत चिकित्सकद्वारा स्वास्थ्य सेवा लिन नागरिकहरु दंग देखिन्थे । शिविरमा पाठेघरको समस्या लिएर आउने महिलाहरुको संख्या समेत उल्लेख्य मात्रमा पाइएको छ ।

यस्तै रायडाँडाका शेर बहादुर थापाका ठूलो छोरी यामुना थापा र सानो छोरी रेनुका थापा बौद्धिक अपाङ्गता छन् । उनिहरुको अपाङ्गता परिचयपत्र नविकरणका लागि सवारीसाधन रिजर्बनै गरेर सदरमुकाम स्थित नगरपालिका पुग्नुपर्ने थियो ।

तर गाउँमै आयोजना गरिएको शिविरमार्फत अपाङ्गता परिचय पत्र प्राप्त गर्दा सहज भएको बताउनुभयो । ‘वडा कार्यालयबाट सवै सेवा नपाइने सदरमुकाम जान खर्चै खर्च लाग्ने, अवस्था थियो, अहिले गाउँमै परिचयपत्र नविकरण गर्न पाइयो, दुई छोरीको स्वास्थ्य परिक्षण समेत गर्न पाइयो’ थापाले भन्नुभयो ‘वडाबाटै नगरपालिकाको सेवा पाउँदा सहज भयो, आगमी दिनमा समेत यस्तै सेवा पाउन पाए हुन्थ्यो ।’

आइतबार र सोमबार रायडाँडा र भकुण्डेमा सञ्चालित शिविरमा झण्डै ६०० सेवाग्राहीले लाभ उठाएका छन् । शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, माटो परीक्षणलगायत सेवा प्रदान गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

‘पहिलो चरणमा बागलुङ नगरपालिकाको रायडाँडा र भकुण्डेमा शिविर सञ्चालन गरिएको छ, दोस्रो चरणको घुम्ती सेवा शिविर बलेवामा गरिनेछ’ नगरउपप्रमुख खड्काले भन्नुभयो ‘चुनावको समयमा गाउँ घरमा जाँदा नागरिकहरुले योजना सम्झौता र बैंक खाता खोल्दै सास्ती खेपेको गुनासो गरेका थिए,हामी नवनिर्वाचित भएर आइसकेपछि प्याकेजमै घुम्ती सेवा दिने निर्याण ग¥यौ, एउटै नागरिकले एकै दिन आफ्नो स्वास्थ्य परिक्षण देखि योजना सम्झौता सम्मका सेवा दियौं, पहिलो चरणमा नागरिकहरले उत्साहजनक सहभागिता जनाउनुमात्रै भएन सेवाबाट सन्तुष्ट समेत हुनुभएको छ ।’

बागलुङ नगरपालिकाले ‘घुम्ती सेवा शिविर’ बाट भकुण्डेका ३६१ जना र रायडाँडामा ३२५ नागरिकले विभिन्न सेवा मार्फत लाभान्वित भएका छन् । ग्रामीण भेगको रुपमा रहेको भकुण्डे र रायडाँडाका नागरिकले नागरिकले स्वास्थ्य सेवा सहित पाँच प्रकारका सेवा गाउँमै लिएका छन् । आइतबार वडा नम्बर ११ रायडाँडा र सोमबार बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा सञ्चालित शिविरमा ६८६ जनाले लाभ लिएका छन् । दुई दिने शिविरमा चालु आर्थिक वर्षका २४ योजना सम्झौता संगै बैंक खाता खोलिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो ।

शिविरमा सञ्चालित निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवाबाट दुई दिनमा २९५ जना लाभान्वित भएका छन् । जसमध्ये महिलाको पाठेघर जाँच र उपचार, पाठेघर खसेको समाधान, यौनजन्य रोगको उपचार तथा परिक्षण र परिवार नियोजना सेवा लिएका थिए ।

यस्तै २०८ जनाको मधुमेह सेवा परिक्षण गरिएको छ । स्वास्थ्य शिविरबाट अधिकांश उच्च रक्तचाप र हाडजोर्नीका बिरामीले लाभ लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले जानकारी दिनुभयोे ।

यस्तै नयाँ र पुरानो गरी ५८ जनालाई अपाङ्गता परिचयपत्र वितरण वितरण गरिएको छ । शिविरकै अवसरमा कृषि प्राविधिकले किसानको खेतबारीमै पुगेर माटोको गुणस्तर परीक्षण गरेका थिए । दुई वडामा २१ स्थानको माटोको नमूना परिक्षण गरिएको थियो । नगरका कृषि शाखा प्रमुख राहुल केसीका अनुसार रायडाँडामा माटोको गुणस्तर राम्रो देखिएपनि भकुण्डेको माटोमा अधिकांश अम्लियपन रहेको पाइएको जनाउनुभयो ।

शिविरमा उपभोक्ता समिति, टोल विकास समिति र सर्वसाधारण गरी ८० जनालाई वित्तीय सारक्षरता अनुशिक्षण दिइएको थियो । यस्तै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि आवश्यक सूचकहरु पूरा गर्नका लागि दुई वटै वडामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको थियो ।

नगरबाट प्रवाह हुने सेवालाई घरदैलोमा पु¥याएर जनतालाई सहज सेवा दिने उद्देश्यले घुम्ती शिविरको अभियान थालिएको नगरपालिकाले जनाएको छ । दोस्रो चरणको शिविर भदौ ८ गते वडा नं. १२ अमलाचौरबाट सुरु हुने नगरपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?