तीन ब्याट्सम्यानको अर्धशतकसँगै केन्याविरुद्ध नेपालको ह्वाइट वास

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । केन्याविरुद्धको तीन एकदिवसीय अभ्यास खेलको सिरिजमा नेपालले क्लिनस्विप गरेको छ । अन्तिम तथा तेस्रो खेलमा नेपालले केन्यामाथि ६ विकेटको जित हात पार्दै सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो ।

जितको लागि २५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा बसिर अहमदले ४९ बलमा ७ चौकासहित ५२ रन जोड्नुभयो । यस्तै कप्तान रोहित पौडेल ४६ बलमा ४ चौकासहित ४६ रन थप्नुभयो । दुबैजना अविजित रहनुभएको थियो ।

पाँचौं विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ९५ रनको अविजित साझेदारी गर्नुभएपछि नेपालको जित पक्का बनेको हो । त्यसअघि नेपालका लागि अर्जुन साउदले ९० बलमा ३ चौका र २ छक्कासहित ५८ रनको अर्धशतकीय पारी खेल्दै सानदार सुरुवात दिलाउनुभएको थियो । त्यसबाहेक ज्ञानेन्द्र मल्ल ५१ बलमा १ चौकासहित ३३ रनमा आउट हुनुभयो । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र अर्जुनले ८१ रनको साझेदारी भएपछि नेपाल लक्ष्य प्राप्तीको बाटोमा अघि बढेको हो । अर्का ओपनर आसिफ शेखले समेत ४३ बलमा ९ चौका र २ छक्कासहित ५६ रन जोड्नुभएको थियो । केन्याका विरज पटेलले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रनको योगफल बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले १११ बलमा सात चौका र दुई छक्काको ८४ रन जोड्नुभएको हो ।

यस्तै लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको योगदान दिनुभयो भने सुखदिप सिंहले ३७ रन बनाउनुभयो । इमानुएल बुन्डीले २३ रन बनाउँदा कप्तान शेम एनगोचेले १७ रन जोड्नुभयो ।

बलिङमा नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई/दुई विकेट लिनुभयो भने बसिर अहमद र शाहब आलमले एक/एक विकेट लिनुभयो । यसअघि एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीय खेलमा १७ रनले विजयी भएको थियो । त्यसअघि केन्या विरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ३-२ ले जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?