महारानी एलिजाबेथ द्वितीयाको निधनसँगै एक युगको अन्त्य

७३ वर्षीय चाल्स बेलायतको नयाँ राजा

हिमालय टाइम्स
Read Time = 14 mins

काठमाडौं । बेलायतमा सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहनुभएकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उहाँका जेठा छोरा चाल्स त्यहाँको राजा बन्नुभएको छ । ७३ वर्षीय चाल्र्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्युक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिस सिंहासनको उत्तराधिकारी हुनुहुन्थ्यो । उहाँ कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बन्नुभएको हो ।

बिहीबार एलिजाबेथको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उहाँको परिवारका सदस्यहरू उहाँ रहेको स्कटल्याण्डस्थित निवासमा भेला हुनुभएको थियो । पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो । महारानी एलिजाबेथले सन् १९५२ फेब्रुअरी ६ मा गद्दी सम्हाल्नुभएको थियो । आफ्नो पिता जर्ज छैटौँको निधन भएपछि एलिजबेथले २५ वर्षकै उमेरमा आफ्नो शिरमा शाही ताज पहिरिनुभएको थियो । सात दशकसम्म गद्दीमा रहनुभएकी महारानी एलिजाबेथ बेलायती राजपरिवारमा सबैभन्दा लामो समय सत्तामा रहने शासक हुनुहुन्छ । बेलायतमा सबैभन्दा लामो समय राजगद्दीमा बसेर सेवा गर्ने राजा फिलिप र रानी एलिजाबेथको नाम र उमेरलाई आधुनिक एलिजाबेथ युगको रूपमा परिभाषित गरिएको छ । एलिजाबेथका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा गत वर्ष निधन भएको थियो ।

दुईपटक नेपालको राजकीय भ्रमण
महारानी एलिजाबेथ द्वितीयले दुईपटक नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । उहाँ सन् १९६१ र १९८६ मा गरी दुईपटक नेपाल भ्रमण आउनुभएको थियो । उहाँ सन् १९६१ फेब्रुअरीमा तत्कालीन राजा महेन्द्रको निमन्त्रणामा पहिलोपटक नेपाल भ्रमणमा आउनुभएको थियो भने सन् १९८६ मा दोस्रोपटक तत्कालीन राजा वीरेन्द्रको निमन्त्रणामा आउनुभएको थियो । सन् १९६१ को भ्रमणको क्रममा उहाँ बाघको शिकारमा पनि सहभागी हुनुभएको थियो ।

१५ देशको राष्ट्रप्रमुख रहनुभएकी उहाँको जन्म सन् १९२६ एप्रिल २१ मा लन्डनको बर्कली स्क्वायर नजिकैको घरमा भएको थियो । उहाँ ड्युक अफ योर्क अल्बर्ट र उहाँकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुनुहुन्थ्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दूतावास पुगेर दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले शुक्रबार नेपालस्थित बेलायती दूतावास पुगेर महारानीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । ‘महारानी एलिजाबेथ द्वितीयको निधनको खबरले म अत्यन्त दुःखी छु । सरकार तथा म स्वयमको तर्फबाट हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु’, उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । एलिजाबेथ द्वितीयाले आफूलाई काम, सम्मान र सेवाले परिचित गराएको देउवाले बताउनुभएको छ । ‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा सादरपूर्वक स्मरण गरिन्छ,’ प्रधानमन्त्री देउवाले एलिजाबेथका नेपाल भ्रमणको चर्चा गर्दै भन्नुभएको छ । रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको देउवाले उल्लेख भन्नुभएको छ ।

महारानी एलिजाबेथको निधन खबरले दुःखी भयौँ : पूर्वराजा शाह
पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनको खबरले दुःखी बनाएको बताउनुभएको छ । पूर्वराजा शाहको तर्फबाट उहाँका संवाद सचिव डा. फणीराज पाठकले शुक्रबार शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गर्नुभएको छ ।

‘महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ,’ शोक सन्देशमा उल्लेख छ । सात दशक राजगद्दीमा बसेर शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको र नेपालप्रति देखाएको अगाध आत्मीयता स्मरण भइरहने पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गर्नुभएको छ ।

विश्वका नेताहरूद्वारा दुःख व्यक्त
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरूले सहानूभूति व्यक्त गरेका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उहाँको निधनको खबर सुनेर आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ । ‘विश्वव्यापी नेतृत्व गर्नुभएकी र सबैलाई प्रेरणाको स्रोत बन्दै आउनुभएकी महारानीको निधनले मलाई दुःखी बनाएको छ, बेलायती राजपरिवार र बेलायती जनताप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु’, उहाँले जारी गरेको शोक वक्तव्यमा भनिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महारानीको प्रेरणादायी नेतृत्वको स्मरण गर्नुभएको छ । उहाँले प्रकाशित गरेको शोक वक्तव्यमा महारानीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूति व्यक्त गर्नुभएको छ । सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटेको स्मरण पनि उहाँले गर्नुभएको छ ।

यस्तै, चिनियाँ राष्ट्रपति सी जिन्पिङले महारानी एलिजाबेथ द्वितीयको निधनपछि ब्रिटिस सरकार र जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ । चीन सरकार र चिनियाँ जनताको प्रतिनिधित्व गर्दै सीले गहिरो समवेदना व्यक्त गर्नुभएको छ । महारानीको निधन ब्रिटिस जनताको लागि ठूलो क्षति भएको सीले बताएको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी प्रथम महिलाले पनि बेलायती महारानीको निधनको खबरले आफूहरूलाई दुःखित बनाएको उल्लेख गर्नुभएको छ । त्यस्तै, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शोक व्यक्त गर्दै उहाँ जस्तो व्यक्तिको खाँचो विश्वलाई परिरहने उल्लेख गर्नुभएको छ । बेलायतका महारानी भए पनि उहाँले विश्वलाई नै माया, प्रेम र प्रेरणा दिइरहेको पुटिनद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
यस्तै, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शोक व्यक्त जारी गर्नुभएको छ । उहाँले क्यानडाका जनताले महारानीलाई सधैँ स्नेही पात्रको रूपमा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ । क्यानडाको इतिहासमा उहाँ एउटा मुख्य पात्रको रूपमा रहेकाले उहाँले क्यानडालाई गरेको सेवाप्रति सबै जनता ऋणी रहेको टु«डोको भनाइ छ ।

त्यसैगरी, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि शोक वक्तव्य प्रकाशित गर्दै यस दुःख समयमा अष्ट्रेलियाका जनता बेलायती जनताको साथमा रहेको उल्लेख गर्नुभएको छ । फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंले पनि बेलायती महारानीलाई एकताको प्रतीकको रूपमा स्मरण गर्नुभएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनस्कीले पनि उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल सबैलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी प्रार्थना गर्नुभएको छ ।

त्यस्तै, पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, इजरायलका प्रधानमन्त्री याइर लापिड, न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्न, इटलीका प्रधानमन्त्री मारियो ड्राघी, पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविस्की लगायतका दर्जनौँ देशका राष्ट्र तथा सरकार प्रमुखहरूले उहाँको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

नेपाल सरकारले तीन दिन शोक मनाउने
नेपाल सरकारले बेलायतकी महारानी एलिजोथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय महारानीको सम्मानमा भदौ २५ गते शनिबारदेखि भदौ २७ गते सोमबारसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो । बैठकले तीन दिन नै नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

दुई साता लामो अन्त्येष्टि प्रक्रिया
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनपछि अब उहाँको अन्त्येष्टि प्रक्रिया सुरु भएको छ । यो झण्डै दुई साता लामो हुने बताइएको छ । उहाँको शवलाई बाल्मोरलबाट लन्डन ल्याएर बकिंघम दरबारमा राखिने र त्यहाँबाट राजपरिवारका सदस्य र सैन्य अधिकारीसहित शवयात्रा गरेर वेस्टमिन्स्टर हलमा ल्याइनेछ । उहाँको शव चार दिन वेस्टमिन्स्टर हलमै राखिनेछ । त्यसका लागि साजसज्जायुक्त मञ्च निर्माण गरिनेछ । त्यहाँ निशान छापको झण्डा ओढाइन्छ भने राजदण्डलाई पनि शवसँगै राखिनेछ । सर्वसाधारणलाई श्रद्धाञ्जलि अर्पण गर्न दिइनेछ, जसमा लाखौँ सहभागी हुने अपेक्षा गरिएको बिबिसीले जनाएको छ ।

महारानीको समाधि समारोह भने वेस्टमिन्स्टर एबी (चर्च) मा गरिनेछ, जहाँ उहाँको विवाह र राज्यारोहण समारोह पनि भएको थियो । समाधिको मिति दरबारले घोषणा गरेको छैन । तर, निधन भएको १० देखि १२ दिनभित्र हुने अनुमान छ । समाधिका दिन जलसेनाको विशेष वाहनमा महारानीको शवलाई वेस्टमिन्स्टर हलबाट एबीमा लगिनेछ ।

समाधि समारोहमा नयाँ राजासहित राजपरिवारका सदस्य सामेल हुनेछन् भने प्रधानमन्त्री लिज ट्रसले शोक मन्तव्य दिन सक्ने जनाइएको छ । शवलाई पदयात्रामार्फत वेस्टमिन्स्टर एबीबाट वेलिङ्टन आर्क लगिनेछ र शवलाई शववाहनमा राखिनेछ । शववाहनले विन्डसर क्यासलको सेन्ट जर्ज च्यापेल (चर्च)मा शव लैजान्छ भने त्यहाँ अन्तिम प्रार्थनासभा हुनेछ । त्यहाँ रोयल भल्टमा समाधिस्थ गरिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?