प्रधानमन्त्रीद्वारा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको ट्रफी सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित समारोहमा उहाँले प्रतियोगिताका लागि तयार गरिएको ‘नेशनल गेम ट्रफी’ सार्वजनिक गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ सरकारले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था राम्रो छैन, तर पनि सुरुजात गर्नेछौँ, यसबाट खेलप्रेमी अझै आकर्षित हुने विश्वास लिएको छु, युवामा खेलकुदप्रति राम्रो लगाव छ ।’

नेपाली खेलकुदमा अघि भए पनि राष्ट्रिय रूपमा भने ख्याति प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गर्दै उहाँले नेपाल खेलकुद प्रेमी देश भएको समेत बताउनुभयो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक धेरै पदक विजेता टोलीलाई ट्रफीको व्यवस्था गरिएको जानकारी दिनुभयो । उक्त ट्रफी चाँदी र सुन जडित करिब १० लाखको लागतमा तयार गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र नयाँ व्यवस्था हुन लागेको ट्रफीसम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो । उक्त ट्रफी सातै प्रदेशका मुकाम र विभागीय टोलीका मुख्यालयमा पुर्‍याएर प्रतियोगितास्थल पोखरामा लगिने उहाँले जानकारी दिनुभयो ।

तीनपटक लगातार प्रतियोगिता जित्ने टोलीलाई उक्त ट्रफी प्रदान गरिनेछ । विश्वका अन्य मुलुकमा पनि यस्तो अभ्यास रहेको सदस्यसचिव घिसिङले बताउनुभयो । प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदकधारीलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनुहुन्छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३९३ स्वर्ण, ३९३ रजत र छ सय कास्य पदक यसअघि नै तय भइसकेको छ । प्रतियोगिताका सिलसिलामा ४०८ प्रतिस्पर्धा हुनेछन् । सो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा तीन हजार ६८५ महिलासहित सात हजार ७९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।

प्रत्येक टोलीबाट कम्तीमा ३३५ महिला र ३७४ पुरुष खेलाडीको सहभागिता रहनेछ । नवौं राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराते, जिम्न्याष्टिकट, पौडी र कबड्डी खेल समावेश गरिएको छ । यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।

प्रतियोगिताका लागि लोगो, मस्कट र नारा छनोट भइसकेको छ । पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौंमा भएको थियो । उक्त प्रतियोगितामा बागमती अञ्चल विजयी भएको थियो ।

विसं २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा १९ खेल विधामा ३७० पदकका लागि ५३९ महिलासहित दुई हजार ५७ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । विसं २०४२ फागुन २३ देखि चैत १ गतेसम्म वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा ७३८ महिलासहित दुई हजार ७७५ खेलाडी २१ खेल विधामार्फत ३७० पदका लागि प्रतिस्पर्धा गरेको इतिहास छ ।
बाँकेको नेपालगञ्जमा २०५५ चैत ८ देखि १४ गतेसम्म पाँच विकास क्षेत्र, नेपाली सेना र नेपाल प्रहरीको टोलीले १२ खेल विधामार्फत ४६९ पदकका लागि प्रतिस्पर्धा गरेकामा मध्यमाञ्चल विजयी भएको थियो । उक्त चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार ६६२ खेलाडीबीच पदकका लागि भिडन्त भएको थियो ।

काठमाडौंमा २०६५ चैत २४ देखि ३० गतेसम्म भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र तत्कालीन जनमुक्ति सेनाबीच प्रतिस्पर्धा भएकामा मध्यमाञ्चल विजयी भएको थियो । प्रतियोगितामा ६४६ पदक र १३ खेल विधा कायम गरिएको थियो ।

यस्तै सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुरामा २०६८ चैत २४ देखि २८ गतेसम्म भएको छैटौं राष्ट्रिय प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, एपीएफ, त्रिभुवन विश्वविद्यालय र तत्कालीन जनमुक्ति सेनाका एक हजार ३९४ महिलासहित तीन हजार ६२८ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा मध्यमाञ्चल विजयी भयो । प्रतियोगितामा ३६ खेल विधा र एक हजार ३८६ पदक कायम गरिएको युवा तथा खेलकुद मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी पूर्वाञ्चल विकास क्षेत्रको झापा, मोरङ, सुनसरीलगायत जिल्लामा २०७३ पुस ८ देखि १५ गतेसम्म भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ खेल विधाका लागि नौ सय दुई पदक कायम गरिएको थियो । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टिमका एक हजार ६६९ महिलासहित तीन हजार ९७२ खेलाडीबीच प्रतिस्पर्धा भएको हो ।

आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ वैशाख ५ देखि ११ गतेसम्म बाँके, बर्दिया, दाङलगायत जिल्लामा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा दुई हजार ४०९ महिला खेलाडीसहित पाँच हजार ३०५ खेलाडीले ३५ खेल विधामार्फत एक हजार १५८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । घुम्न अत्यन्तै अनुकूल मौसम र वातावरणमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धन गर्न थप योगदान पु¥याउने विश्वास गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?