सर्लाहीमा भित्र्याइयो नयाँ जातको उखु

हिमालय टाइम्स
Read Time = 5 mins

प्रकाश मैनाली/हिटा
सर्लाही । उखु खेतीका लागि देशमै अब्बल मानिएको सर्लाहीमा उखु खेतीबाट किसानले भने धेरै फाइदा लिन सकेका छैनन् । किसान र मिल सञ्चालकबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्नेमा उखु किसान र मिल मालिकबीच चिसो सम्बन्धले प्रहरीले समातेर पैसा उठाउनु परेको तीतो यथार्थ रहेको बेला सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी मिलले किसानलाई उन्नत जातको उखु लगाउन प्रोत्साहन गर्ने भएको छ ।

यस उद्योगले किसानलाई धेरै उत्पादन दिने र एकै बालीबाट धेरै फाइदा हुने खालको बाली लगाउन प्रोत्साहन गर्ने भएको हो । यस उद्योगले एक हजार बिघा क्षेत्रफलमा यसवर्ष सी ओ-१५ जिरो २३ जातको उखु लगाउन सुरु गरेको उद्योगका सिनियर क्यान म्यानेजर सुरेशप्रसाद मेहताले जानकारी दिनुभयो । पोहोर साल भारतबाट बिउ ल्याएर सीमित क्षेत्रफलमा लगाइएको र त्यस बिउबाट अब सर्लाही तथा छिमेकी जिल्लाको बिभिन्न ठाउँमा उखु लगाइने मेहताको भनाइ छ । सामान्यतः किसानले मंसिर पहिलो सातादेखि फागुन अन्तिमसम्म उखु लगाउने गरेको भए पनि यस जातको उखु भदौ अन्तिम र असोजको पहिलो साता लगाउनुपर्ने तथा यस सिजनमा उखु लगाउँदा उखु सँगसँगैै त्यसभित्र आलु बालीसमेत लगाउन मिल्ने र किसानले पैलो बाली भित्र्याउँदा उखु गोडिने भएकाले किसानलाई एक बालीबाट आम्दानी लिन सकिनेछ भने उखु गोड्ने पैसासमेत बच्ने उद्योगको भनाइ छ ।

टेर्रेन्चर विधिबाट उखु रोप्दा मजदुरको ज्यालासमेत घट्ने देखिन्छ । एक बिघामा मजदुरबाट उखु रोप्दा खाल्डो खन्न मात्र ४५ देखि ५० जान लाग्ने भए पनि टेर्रेन्चर विधिबाट लगाउँदा तीन घण्टामा सकिने हुँदा खेती लगाउने खर्चसमेत घट्ने मेहताको भनाइ छ । यस प्रविधिबाट उखु लगाउँदा गहिरो खाडल हुने भएकाले उखु ढल्ने समस्यासमेत कम हुने उद्योगले जनाएको छ । पहिले किसानले लामो उखु रोप्ने गर्थे भने पछिल्लो प्रविधिबाट उखु लगाउँदा एक आँख्ला मात्र रोप्ने भएकाले उखुको बिउमा समेत किसानलाई फाइदा हुने उद्योगको भनाइ छ ।

पुरानो विधिबाट उखु लगाउँदा प्रतिबिघा ५० क्विन्टलको हाराहारीमा बिउ लाग्ने गरेको भय पनि यस विधिबाट लगाउँदा १० देखि १५ क्विन्टलले नै पुग्ने उहाँको भनाइ छ । चार सय क्विन्टलको हाराहारीमा उत्पादन दिने गरेकोमा यो जातको उखु लगाउँदा सात सय क्विन्टलका हाराहारीमा उत्पादन दिने मेहताको भनाइ छ ।

गत आर्थिक वर्षको लागि नेपाल सरकार उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगीले प्रतिक्विन्टल ५२० र नेपाल सरकारले ७० रुपैयाँ अनुदान रकम दिने सहमति भएको थियो । सर्लाहीमा तीनवटा चिनी मिल सञ्चालनमा छन् । इन्दुशंकर, महालक्ष्मी र अन्नपूर्ण उखु अभावले गर्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैन । देशकै धेरै चिनी मिल भएको जिल्लामा पर्नेे सर्लाहीमा उखु खेती मात्र २५ हजार हेक्टर क्षेत्रमा खेती हुन्छ भने धान ४६ हजार पाँच सय हेक्टर क्षेत्रमा खेती हुँदै आइरहएको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्यांकमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?