चुनावमा घर जानेको लर्को, दुई दिनमै एक लाखले छोडे उपत्यका

Read Time = 6 mins

डिबी शर्मा/हिटा
काठमाडौं । स्थानीय तहको निर्वाचनमा मतदानका लागि घर जानेहरूको संख्या बढेको छ । उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरू कलंकी र कोटेश्वरमा पछिल्ला दुई/तीन दिन बिहानैदेखि घर फर्किनेहरूको भिड बढेको हो । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । बिपी राजमार्ग, अरनिको राजमार्ग र थानकोट नाकाबाट भोट हाल्न जानेहरूका कारण लामो दूरीका बसहरू खचाखच भरिएका छन् । काठमाडौं ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट बाहिरिने साना/ठूला सवारीको संख्या बढेको छ । सवारी मात्रै होइन उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पनि बढेको छ । कार्यालयले दिएको जानकारीअनुसार अहिले दैनिक नौ हजार बढी सवारी साधनहरू बाहिरिइरहेका छन् । दैनिक ५० हजार बढी मानिसहरू उपत्यकाबाट बाहिरिरहेको कार्यालयले जनाएको छ । यसअघि दैनिक २५/३० हजारको हाराहारीमा बाहिरिने गरेका थिए । भित्रिनेको संख्या भने दैनिक घटिरहेको कार्यालयले जनाएको छ । यात्रु र सवारीको चाप बढेको भए पनि दशैँ/तिहारजस्तो ओभरलोड भने नभएको ट्राफिक कार्यालयले जनाएको छ । मंगलबारको तुलनामा बुधबार बढी यात्रु र सवारी बाहिरिएका छन् । जबकि सोमबार यो संख्या बुधबारको तुलनामा कम थियो । यो संख्या बिहीबार अझै बढ्ने कार्यालयको अनुमान छ ।

बुधबार एक दिनमै करिब ६० हजार मानिसहरू काठमाडौं उपत्यकाबाट बारिहएका छन् । बुधबार बिहानसम्म आठ हजार २६९ उपत्यका भित्रिएकामा नौ हजार ९५६ सवारी बाहिरिएका छन् । बुधबार ४२ हजार ८४२ यात्रु भित्रिएकोमा ५९ हजार ८१ जना बाहिरिएका छन् । कार्यालयका अनुसार यो संख्या मंगलबार कम थियो । मंगलबार सात हजार ७७५ सवारीमा ४१ हजार यात्रु भित्रिएका थिए भने आठ हजार ८९ सवारीमा ५० हजार ९३० यात्रु बाहिरिएका थिए । यात्रु बाहिरिनेको संख्या बढेको भए पनि ट्राफिक व्यवस्थापन भने सामान्य रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दशैँ–तिहारजस्तो ओभरलोड यात्रु भने छैनन् । ट्राफिक चुनावका बेला ट्राफिक प्रहरीको संख्या कम भए पनि व्यवस्थानमा कुनै कमी नआएको कार्यालयले जनाएको छ ।

धेरैजसो बुकिङमा, कतिपय आफ्नै खर्चमा जाँदै
चुनावका लागि उपत्यकाबाट बाहिरिने अधिकांश सवारी बुकिङ गरेर जाने गरेका छन् । केही भने आफ्नै खर्चमा जाने गरेका छन् । विभिन्न पार्टीका स्थानीय उम्मेदवारहरूले उपत्यकाबाट यात्रु लैजाने गाडी बुकिङ गरेर पठाउने गरेका छन् । विभिन्न पार्टी र अगुवाहरूले सार्वजनिक यातायात र निजी सवारीसाधन बुकिङ गरिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । सुर्खेतका विष्णु कँडेलले आफ्नै खर्चमा घर जान लागेको बताउनुभयो । स्थानीय उम्मेदवारले गाडी बुकिङको व्यवस्था गरेको भए पनि आफूले ढिलो थाहा पाएकोले आफ्नै खर्चमा घर जान लागेको उहाँँले बताउनुभयो । उहाँका अनुसार केही साथीहरूले बुकिङकै गाडीमा मंगलबार नै गाउँ फर्किएका छन् । ‘गाडी बुकिङ पनि रहेछ । मैले बुधबार मात्रै थाहा पाएँ,’ उहाँले भन्नुभयो, ‘मेरो केही साथीहरू जानुभएछ । म भने आफ्नै खर्चमा घर फर्किंदै छु । पाँच वर्षमा आउने चुनाव हो भोट हाल्न पनि हुन्छ । दशैँपछि घर नगएकोले भेटघाट पनि हुन्छ ।’

त्यस्तै, कलंकी चोकमा भेटिनुभएका सिरहाका सञ्जिव यादव भने गाउँबाट आएको बुकिङ गाडीमा घर जाँदै हुनुहुन्थ्यो । उहाँसहित जिल्लाका दुई दर्जन व्यक्तिहरू बुकिङकै गाडीमा जान लागेका थिए । ‘उम्मेदवारले नै गाडी बुकिङ गरेर पठाउनुभएको रहेछ । हामी त त्यसैमा जाँदैछौँ,’ उहाँले सुनाउनुभयो, ‘अब भोट खसालेर मात्रै फर्किने हो । यहाँ बिदा पनि छ । चुनावकै कारण घरपरिवारसँग भेटघाट पनि हुुने भयो ।’
स्थानीय तह निर्वाचनमा शुक्रबार मतदान हुँदैछ । उक्त दिन सार्वजनिक यातायात बन्द रहनेछ । गाडी चलाउन पनि पाइने छैन । आन्तरिक तर्फको हवाई सेवा पनि बन्द हुने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?