बुटवलमा दशैंं सस्तो बजार सुरु

Read Time = 4 mins

चन्द्रकान्त खनाल
रूपन्देही । बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा सोमबारदेखि संघको सचिवालय परिसर बालमन्दिरमा दशैं सस्तो बजार सञ्चालन गरिएको हो । पाँच दिनसम्म सञ्चालन हुने दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै दशैं सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवद्र्धनका साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बुटवलको बजार विस्तारै स्थानान्तरण हुँदै गएको भन्दै बुटवलको गौरव र आकर्षणलाई बढाउन स्थानीय संघसंस्थाले पनि सोच्ने बेला आएको बताउनुभयो । बुटवलमा मानिसको आकर्षण बढाउन वडा १ पुरानो बुटवल (बटौली) बाट कामको सुरुवात गर्न नगरपालिकाले सोहीअनुसार कामको थालनी गरेको जानकारी गराउनुभयो । बुटवलमा पार्किङको समस्या रहेको उल्लेख गर्दै उहाँले पार्किङ व्यवस्थापनका लागि पुराना भवन पुनर्निर्माण गरी अन्डरग्राउण्ड दुई तला र माथिल्लो भागमा समेत पार्किङ गर्न मिल्ने गरी नयाँ भवन निर्माण गर्ने सोच बनाएको बताउनुभयो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ता हितका लागि दशैं सस्तो बजार सञ्चालन गरिएको र बाहिरी बजारभन्दा सुलभ मूल्यमा वस्तु उपलब्ध गराइने जानकारी दिनुभयो । सर्वसाधारणलाई लक्षित गरेर नेपाल राष्ट्र बैंक र संघको सहकार्यमा नयाँ नोट सटही व्यवस्थाका साथै नुन, तेल, चिनी, मसलालगायतका दैनिक उपभोग्य सामान राखिएको आयोजकले जनाएको छ ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले चाडपर्वको समयमा मासु तथा मिठाइको गुणस्तर तथा उपभोक्ता मूल्यलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित सुरक्षा व्यवस्था तयार गरेको र आपराधिक गतिविधि रोक्न भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उहाँको भनाइ छ । राष्ट्र बैंककी निर्देशक रञ्जना पण्डित पौडेलले रसिया–युक्रेन युद्धले नेपालमात्रै नभई विश्वमै मूल्यवृद्धि भएकाले नेपाली अर्थतन्त्र पनि ठूलो दबाबमा रहेको रहेको बताउनुभयो ।

असोजको १४ गतेसम्म सञ्चालन हुने दशैं सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनीसहित विभिन्न कम्पनीका घिउ, पनिर, रसवरीलगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, अचार, साबुन, कपडा, जुत्ताचप्पललगायत दैनिक उपभोग्य सामान बिक्री हुने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?