स्वास्थ्य बीमाबापत ६७ करोड दाबी भुक्तानी

Read Time = 3 mins

काठमाडौं । सरकारले असोज महिनामा स्वास्थ्य बीमाबापत झण्डै ६७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाबापतको चालु आर्थिक वर्षको दोस्रोपटकको भुक्तानी गरेको हो । बोर्डले सो अवधिमा सरकारी स्वास्थ्य बीमाको पहुँच पुगेका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पतालमा बीमाबापतको ६६ करोड ८१ लाख ५५ हजार छ सय ८८ रुपैयाँ दाबी भुक्तानी गरिएको जनाएको छ । गत भदौमा दुई अर्ब ६७ करोड ११ लाख ६४ हजार सात सय ४८ रुपैयाँ दाबी भुक्तानी गरेको थियो । बोर्डले हालसम्म स्वास्थ्य बीमाबापतको २४ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ ।

गत आवसम्म २१ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको थियो । सबैभन्दा बढी दाबी भुक्तानी प्रदेश नम्बर १ मा गरिएको छ । उक्त प्रदेशअन्तर्गत स्वास्थ्य बीमाको पहुँच पुगेका ८८ अस्पतालमा बोर्डले बीमाबापत २६ करोड ७४ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । मधेश प्रदेशअन्तर्गत स्वास्थ्य बीमाको पहुँच पुगेका ३८ अस्पतालमा दुई करोड ७२ लाख २९ हजार रुपैयाँ भुक्तानी गरिएको बोर्डले जनाएको छ ।

त्यसैगरी बागमती प्रदेशका ७२ अस्पतालमार्फत् स्वास्थ्य बीमा गरिएको थियो । जसमा बोर्डले १९ करोड ४२ लाख २१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने गण्डकी प्रदेशअन्तर्गत स्वास्थ्य बीमाको पहुँच पुगेका ४१ अस्पतालमा चार करोड ८९ लाख १० हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी भएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

बीमाको पहुँच पुगेका लुम्बिनी प्रदेशका ३८ अस्पतालमा सात करोड ८४ लाख ४९ हजार रुपैयाँ, कर्णाली प्रदेशका २३ अस्पतालमा एक करोड ५७ लाख ७८ हजार रुपैयाँ, सुदूरपश्चिम प्रदेशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पताल गरी २९ अस्पतालमा तीन करोड ६२ लाख १७ हजार रुपैयाँ भुक्तानी गरिएको बोर्डले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?