संजीवकुमार मिश्रा/हिटा
बारा । बाराको सदरमुकाम कलैयास्थित पशुपति पुस्तकालयले विगत ७५ वर्षदेखि निरन्तर कलैयावासी पाठकको सेवा गर्दै आएको छ । रेडियो, टेलिभिजन र पत्रपत्रिकाको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी, बुद्धिजीवी लगायतलाई पुस्तकालयले सेवा दिँदै आएको हो । थोरै संख्यामा पत्रपत्रिका रहेको बेलादेखि पुस्तकालयले पाठकलाई सहज रूपले पत्रिका पढ्ने वातावरण बनाईदिएको कलैयाका बयोवृद्ध पाठक शिवनाथ शर्माले बताउनुभयो ।
‘पशुपति पुस्तकालयले धेरैलाई पत्रिका पढ्ने बानी बसायो,’ उहाँले भन्नुभयो, ‘त्यो बेला सबैले पत्रिका किनेर पढ्न पाउँदैनथे ।’ पत्रिका पढ्नको लागि पुस्तकालय नै पुग्नुपर्ने बाध्यता थियो । अहिले त पत्रिका किनेर पढ्न सहज भएको र देश दुनियाँको खबर एकैछिनमा अनलाइन, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत पाउन सकिने भएकाले सर्वसाधारणको पुस्तकालयप्रतिको आकर्षण र मोह घट्दै गएको उहाँले बताउनुभयो । तर, पुराना लेखकहरूले रचना गरेको सामग्रीहरू पढ्न पुस्तकालय नै उपयुक्त हुने र पुस्तकालयमा ती सामग्रीहरू सहज रूपले पाउने गरेको उहाँले जानकारी दिनुभयो ।
वि.स. २००४ सालमा स्थापित पशुपति पुस्तकालयले जिल्लामै महत्वपूर्ण योगदान पुर्याएको चर्चा कलैयाका पत्रिकाका पारखीहरूले बताएका छन् । कलैया उपमहानगरपालिका-१ मा अवस्थित पशुपति पुस्तकालय दुई कठ्ठा जग्गामा साँघुरिएको छ । हुलाकी सडक आयोजनाले सडक फराकिलो बनाउन केही जग्गा अधिग्रहण गरेपछि पुस्तकालयको कम्पाउण्ड साँघुरो बनेको पशुपति पुस्तकालयका संरक्षक पवन अग्रवालले बताउनुभयो । पुस्तकालयको भवनबाट मासिक ३५ हजार रुपैयाँभन्दा बढीको आम्दानी हुने गरेको पुस्तकालयका कोषाध्यक्षसमेत रहनुभएका अग्रवालले जानकारी दिनुभयो ।
संस्थामा हाल ५१ जना आजीवन सदस्य र ११ जना कार्यसमिति रहेको संस्थाका अध्यक्ष राजा दासले जानकारी दिनुभयो । आगामी पाँच वर्षमा पुस्तकालयलाई पुनर्निर्माण गरी थप व्यवस्थित बनाउने उहाँले जानकारी दिनुभयो ।
पुस्तकालयलाई आत्मनिर्भर बनाउँदै पुस्तकालयमा ई-लाइब्रेरी बनाउने, इन्टरनेट तथा वाइफाईको व्यवस्था गर्ने र कलैयास्थित सबै कार्यालय, संघ संस्थालाई सदस्यताको परिधिभित्र ल्याउने कार्य योजना अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । कलैयामा आयोजित पशुपति पुस्तकालयको वार्षिक साधारणसभामा अध्यक्ष दासले पुस्तकालयको स्तरोन्तिको योजना सार्वजनिक गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच