सूर्य, सूर्यका रथको गति

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 18 mins

सूर्य र वायुका सम्बन्धमा यसभन्दा पहिलेका शृंखलामा मैले कुरा गरेको थिएँ । आज म सूर्य र उसको गतिका सम्बन्धमा कुरा गर्न खोज्दै छु । ऋग्वेदको प्रथम मण्डलको एकसय चौसट्ठीयौं सूक्तको दोस्रा मन्त्रमा भनिएको छ :
सप्त युन्जन्ति रथमेकचक्रमेको अश्वो वहति सप्तनामा ।
त्रिनाभि चक्रमजरमनर्वं यत्रेमा विश्वा भुवनानि तस्थुः ।।
अर्थात् ‘एउटा पांग्रो भएको सूर्यका रथमा सातवटा घोडा नारिएका हुन्छन् (वास्तवमा सातवटा घोडा होइनन्) एउटैका सातवटा नाम या सात ठाउँमा नमन गर्ने खालका घोडा यस रथमा नारिएका हुन्छन् । यस रथका पांग्रामा तीनवटा नाभी (केन्द्र) रहेका हुन्छन् । यो पांग्रो कम्जोर या खुकुलो छैन । यो अत्यन्त नै कसिलो र कहिल्यै पनि नपुरानिने खालको पनि छ । किनभने यसैमा त सारा लोक अडिएर रहेका हुन्छन्’ । माथिका मन्त्रको सोझो अर्थ यही नै हो । यसको संकेतार्थ बुझ्न वैदिक निरुक्तकार यास्कका शरणमा जानुपर्छ । यास्क भन्छन् देवताहरूका रथ, घोडा, आयुध आदि जे जति पनि चिजबीज छन् ती तिनीहरूभन्दा भिन्न हुँदैनन् ।

कतिपय शास्त्रकार सूर्यलाई स्थिर पनि मान्दछन् । रथ र रथीमा यदि भेद नै आवश्यक मानिन्छ भने सौरजगन्मण्डल सूर्यकिरणाक्रान्त ब्रहृमाण्डलाई नै सूर्यको रथ मान्नुपर्दछ । पुराणमा सूर्यका गतिले आक्रान्त स्थान या समयावृत्तलाई नै सूर्यरथ बताइएको देखिन्छ ।

परम ऐश्वर्यशाली हुने भएका कारणले देवताहरूको स्वरूप नै तिनका रथ, घोडा आयुधका रूपमा वर्णन गरिएका हुन्छन् । यसको मतलव हो आवश्यकता पर्दा देवताहरू आफैँबाट आवश्यक सरसामग्री हात हतियार शस्त्रास्त्र सबै प्रकट या निर्माण गर्नसक्छन् । मान्छेका झैँ काठ, फलाम, आदि कुनै धातुबाट बनाउनु पर्दैन । यसो भएको हुनाले वेद शस्त्रास्त्र, घोडा हातहतियार आदिका रूपमा नै देवीदेवताको स्तुति गर्दछ । यसको मत्लव के हो भने यहाँ रथले पनि सूर्यलाई नै वर्णन गरेको हो । रथको सिद्धिका निमित्त यासकले भनेका छन्, ‘यो स्थितिको विपरीत छ अर्थात् स्थिर शब्द नै वर्णविपर्यय भएर रथ शब्दका रूपमा विकसित भएको हो ।

यसै कारण कतिपय शास्त्रकार सूर्यलाई स्थिर पनि मान्दछन् । रथ र रथीमा यदि भेद नै आवश्यक मानिन्छ भने सौरजगन्मण्डल सूर्यकिरणाक्रान्त ब्रहृमाण्डलाई नै सूर्यको रथ मान्नुपर्दछ । पुराणमा सूर्यका गतिले आक्रान्त स्थान या समयावृत्तलाई नै सूर्यरथ बताइएको देखिन्छ-
यशीतिमण्डलशतं काष्ठयोरन्तरं द्वयोः ।
आरोहणावरोहाभ्यां भानोरब्देन या गतिः ।।
स रथोऽधिष्ठितो देवैरादित्यैर्ऋऋषिभिस्तथा...इत्यादि (वि.पु, अं, २, अध्याय १०,) ।
यो रथको चक्र (पांग्रो) संवत्सर मानिएका छन् । संवत्सर ङपको समय नै यसको रथ हो । यसैले संसारलाई घुमाइरहेको हुन्छ । संसारमा परिवर्तन ल्याउने या गति ल्याउने तत्व नै काल हो । परिणाम एक अवस्थाबाट अर्को अवस्थामा परिणत हुने हो । यसको पनि कर्ता काल (समय) नै हो । यही नै जगत्को जगत्पना पनि हो । यसलाई सम्पादन गर्ने पनि समय नै हो । यसै संवत्सर रूप क्रको वर्णन मन्त्रका उत्तराद्र्धमा भएको छ । यसका नाभी तीनवटा छन् भन्नाको मतलव हो एक संवत्सरमा जगत्का तीनवटा स्थिति देखापर्दछन् । शीत, उष्ण र वर्षा एकै वर्षमा आउने ऋतुका स्थिति हुन् । यसैलाई मन्त्रमा चक्रको नाभी भनिएको छ । नाभी भनेको केन्द्रस्थान पनि हो । पाँच या छ ऋतुलाई त्यो चक्रका अरा पनि बताएको भेटिन्छ-
त्रिनाभिमति पन्चारे षण्नेमिन्यक्षयात्मके ।
संवत्सर भये कृत्स्नं कालचक्रं प्रतिष्ठितम् ।। (विपु अं २, अध्याय ८) ।
अर्को प्रकारले हेर्दा भूत, वर्तमान र भविष्यत् आदिका भेदले भिन्न काल नै यसका नाभी मानिन्छन् । यी त सबै केन्द्रीय । यस मतबाट भूमि, अन्तरिक्ष दिव् नामका तीन लोक नै यसका तीन नाभी पनि मानिन्छन् । यसलाई अनर्वं भनेर विशेषण पनि दिइएको छ यस पाङ्ग्रालाई । यास्क यसको व्याख्या गर्दै भन्छन् अप्रत्यृतमन्यस्मिन अर्थात् यो सूर्यमण्डल अरू कुनै दोस्रो आधारमा रहँदैन । यो पुरानो (अजर) हुँदैन र यसैका आधारमा समग्रलोक रहेका हुन्छन् । यो व्याख्यानुसार सूर्यमण्डलकै आकर्षणबाट सारा लोक बाँधिएका हुन्छन् भन्ने संकेत पाइन्छ । सूर्य आफ्नै आधारमा टिकेको छ त्यो अरू कसैका आधारमा टिकेको छैन ।

यस भनाइमा आधुनिक विज्ञानको दृष्टि पनि त प्रस्फुटित हुन्छ नि । संवत्सर रूपी काललाई नै चक्र मान्नेका पक्षबाट हेर्दा पनि यी तीनवटै विशेषण सार्थक हुन्छन् । कालका नै आधारमा सबै प्रतिष्ठित भएका हुन्छन् । काल चाहिँ कसैका आधारमा रहँदैन । रमाइलो कुरो काल कहिल्यै पुरानो हुँदैन पनि । जसले भेद मान्छन् तिनले वायुलाई सूर्याश्व भन्छन् । यसको पनि मतलव हो वायुकै आधारबाट सूर्य चारैतिर घुम्छ । उदय र अस्त भएको हामी देख्छौँ । स्थानभेदका कारण सूर्यको आवागमन आदि सात संज्ञा बनेका छन् ।

यसै कारणले मन्त्रमा पनि रथमेकचक्रमेको अश्वो वहति सव्तनामा भनिएको छ । निरुक्तकाका मतमा चाहिँ अशन अर्था सर्वत्र व्याप्त भएका कारणले सूर्य नै अश्व हो । पुराणले श्रापाश्रापबाट सन्ध्या र सूर्य घोडा र घोडीका रूपमा आएर बसेको स्थान घोडाघोडी ताल नेपालको सुपश्चिममा प्रसिद्ध छ । सूर्यमण्डल पृथ्वीबाट अति टाढा छ सूर्यलाई हामीसम्म ल्याइदिने काम तिनका किरणले गर्द छन् । सूर्यलाई नै अश्व मानेपछि किरणलाई वल्गा (लगाम) मान्नुपर्छ । किरण जहाँ जहाँ जान्छ सूर्यले पनि त्यहीँ त्यहीँ जानैपर्छ । संस्कृतमा लगाम र किरण दुवैलाई रश्मि भनिन्छ ।

यसमा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ नै । किनभने सूर्यलाई प्रवाहित गराउने किरणहरू नै सूर्याश्व हुन् भन्ने पनि त मानिएको छ नि । मन्त्रलाई अनेकौं भाव र दृष्टिले विचार नगरीकन सही अर्थ निकाल्न सकिँदैन । कतै सूर्य घोडा त रश्मि करेली या लगाम भनिएको देखिन्छ त कहिँ सूर्यलाई घोडचढी त किरणलाई अश्व मानेको पनि भेटिन्छ । ती किरण पनि वास्तवमा एक अर्थात् एक जतिका छन् र सात प्रकारका पनि भनिएको देखिन्छ । सात भन्नाका पनि एकाधिक कारण भेटिन्छन् । सात रङका भएका कारणले पनि सात भनिएको हो र संसारमा वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त, शिशिर र अन्य एक सामान्य ऋतु मान्ने प्रचलन भएका कारणले पनि सूर्यका किरणलाई सात भनिएको हुनसक्छ ।

सूर्यका किरणकै तारतम्यबाट वातावरणमा सारा वरिवर्तन दृष्टिगोचर हुन्छ । अतः सात प्रकारको परिवर्त गराउने सूर्यका किरणका अवस्था पनि त सातै हुनेभए । अथवा पृथ्वी, चन्द्र, बुध, शुक्र, मंगल, बृहस्पति र शनि यी सातै ग्रह र लोकमा या भू, भुवः, स्वः आदि सातै भुवनमा प्रकाश पु¥याउने र सबैबाट रसादि ग्रहण गर्ने त सूर्यका किरण नै हुन् । अतः यिनै सात स्थानका सम्बन्धबाट यिनलाई सप्ताश्व भनिएको हो भन्ने पनि मान्न सकिन्छ । सूर्यका किरण सात स्थानमा नमित र सप्तानाम् पदले अझै धेरै प्रकाश पार्न खोजेको पनि त देखिन्छ । रश्मिले सूर्यबाट रस पाइरहेका हुन्छन् ।

सातै लोकबाट यसको आहरण सूर्यकिरणबाटै हुन्छ अथवा सातै ऋषि सूर्यको नै स्तवन गर्दछन् । यहाँ पनि त ऋषि शब्दबाट तारारूप ग्रहलाई पनि लिन सकिन्छ भने वशिष्ठादि ऋषि पनि । यसै प्रकारले मन्त्रलाई अनेकौं कोणमा राखेर साराशास्त्रका मर्यादाभित्रबाट व्याख्या नगरेसम्म वेदको विज्ञान बुझियोस् न वेदको रहस्य बुझियोस् । दोहोरी गायकले गाए झैँ मन्त्र कण्ठ फलाकेर हुनेवाला केही पनि छैन ।

अब विचार गरौँ हामीले पुराणमा सुनेका र बुढाखाढाबाट सुन्दै आएका कुरा नै वेदमा पनि रहेछन् र आजका मान्छे यी कुरा सुनेर अविश्वासको हाँसो निकाल्न थाल्छन् । तिनलाई के थाहा पौरस्त्य विज्ञान कति विकसित भएर ह्रास भयो भन्ने । कसैले खोजेका छन् ? सरकार चलाउने गिदी बोसेलाई पनि त थाहा छैन हामीले शिक्षा कसरी बिगार्‍यौँ भन्ने । अब यी तीनवटै देवताका बीचमा पारस्परिक कस्तो सम्बन्ध छ भन्ने विषयमा ऋग्वेदका मन्त्रले भन्छ :
अस्य वामस्य पलितस्य होतुस्तस्य भ्राता मध्यमो अस्त्यश्नः ।
तृतीयो भ्राता घृतपृष्ठो अस्यात्रापश्यं विश्वपर्ति सप्त पुत्रम् ।।
यो ऋग्वेको पहिलो मण्डलको बाइसौं अनुवाक्को आठौं सूक्तको प्रथम मन्त्र हो । यसलाई वैदिक अध्ययन परम्परा नसिएका वर्तमान अवस्थामा सबैले बुझ्ने गरी व्याख्या गरेर उदाहरणमात्र देखाउने विचार गरेँ- वामस्य, पलितस्य, होतुः, तस्य अस्य (तस्यास्य) मध्यमः भ्राता, अश्न अस्ति, अस्य, तृतीय भ्राता, घृतपृष्ठः, अत्र, सप्त पुत्रम्, विश्वपतिं, अपश्यम् । वामस्य सवैको सेवा गर्ने या सबैलाई प्रकाश प्रदाता, पलितस्य सारा चराचरलाई पालन गर्ने, होतुः स्तवनादि माध्यम्बाट यज्ञमा आउने, या आहृवान गर्न लायक, तस्यास्य सुप्रसिद्ध र प्रत्यक्ष दृश्यमान सूर्यदेवको मध्यमः भ्राता माइलो अर्थात् बीचको भाइ (अन्तरिक्षमा रहेको वायु/विद्युत्रूप अग्नि) अश्न अस्ति सर्वव्यापक पनि छ अस्य तृतीय भ्राता यिनै सूर्यदेवको तेस्रो भाइ घृतपृष्ठः घ्यूमा प्रज्वलित हुने या घ्यूलाई पृष्ठमा पाएर हुर्हुराएर दन्कने अग्नि अत्र यी तीनैवटामा सप्त पुत्रम् सर्वत्र फैलन सक्ने सात किरणरूप पुत्रका स्वामी सूर्यदेवलाई जसले सबैलाई पालन गरेका छन् तिनलाई अपश्यम् म जान्छु । पार्थीव अग्नि, अन्तरिक्षस्थ विद्युत् र सर्वत्र आफ्ना सातै किरण फैलाएर जगत्को उपकार गर्न यी सूर्यदेवलाई नै म जान्दछु ।

यस मन्त्रमा आएका विशेषणलाई वैदिक निरुक्तकार यास्कका सहयोगमा यसरी पनि अर्थ गर्न सकिने रहेछ । ‘वामस्य’ यो निरुक्तकार यास्कका अनुसार वन् धातुबाट बनेको शब्द हो । वन् धातुको अर्थ हुन्छ संभक्ति अर्थात् सम्यक भजन या राम्रो विभाजन या संविभाग (बाँड्नु) यसबाट सूर्य सबैलाई आफ्नो प्रकाश र वृष्टिजल बाँडी नै रहन्छन् भन्ने अर्थ निक्लन्छ । दृश्यमान जगत्का सबै कुरा सूर्य कै अधीनमा छन् । त्यस्तै यज्ञमा पनि सूर्यलाई नै मूलरूपमा स्तुति गरिन्छ भन्ने कुरो यस शब्दले व्यक्त गर्न खोजेको छ ।

हामीले पुराणमा सुनेका र बुढापाकाबाट सुन्दै आएका कुरा नै वेदमा पनि रहेछन् र आजका मान्छे यी कुरा सुनेर अविश्वासको हाँसो निकाल्न थाल्छन् । तिनलाई के थाहा पौरस्त्य विज्ञान कति विकसित भएर ह्रास भयो भन्ने ।

‘पलितस्य’ यास्कले यसको अर्थ पालक भन्ने गरेका छन् । यो संसारका चित्, चैतन्य र स्थावर, जंगमलाई सूर्यले नै पालन गरेका हुन्छन् । पलित शब्दको अर्थ सेतो कपाल पनि हुन्छ र यसका सम्बन्धबाट पलित शब्द वृद्धवाचक पनि कतिपय स्थानमा बनेको देखिन्छ । अर्थ ग्रहण सन्निधिबाट पनि गरिन्छ । ‘अर्थग्रहोव्याकरोणोपमानात् कोशाप्तवाक्यं व्यवहारतश्च सान्निध्यत सिद्धपदस्य वृद्धाः’ कोशबाट, व्याकरणबाट, उपमान र उपमेयबाट, आप्तवचनबाट व्यवहार (शिष्ट प्रयोग) बाट, नजिकमा रहेका पद पदावलीका आधारबाट त्यो पदको पुराना विद्वान्ले गरेका अर्थका आधारमा पनि शब्दको अर्थ ग्रहण गरिन्छ । ‘होतु’ यो ‘हु’ धातुबाट बनेको शब्द हो ।

‘हृवा’ धातुबाट पनि होतु शब्द व्युत्पादित हुन्छ । हु धातुको अर्थ हुन्छ दान, अदान र प्रीणन पनि । हृवा धातुको अर्थ हुन्छ स्पद्र्धा, आहृवान शब्द गर्नु भन्ने पनि हुन्छ । यसरी यस विशेषणका अनेकौं तात्पर्यार्थ निकाल्न सकिन्छ । जस्तो कि सूर्यले हामीलाई वृष्टिजल दान गर्दछ र पृथ्वीबाट रस लिएर सबैलाई सन्तुष्ट राख्छ । ग्रहउपग्रहका नभीरूप-केन्द्र) स्थानमा स्थिर रहेर सबैसँग सूर्य पद्र्धा गरिरहेका छन् भन्ने पनि अर्थ निकाल्न सकिन्छ । आहृवानलाई यहाँ सूर्यले सबै साना ठूला ग्रहउपग्रहलाई आकर्षण गर्दछ भने यसलाई वेदले आहृवान शब्दबाट बुझाउन खोजेको हुनसक्छ । सूर्यको तापबाट वायुमा गति उत्पन्न हुन्छ र त्यसैबाट शब्द पनि उत्पत्ति हुन्छ । वायु आकाशमा छ आकाशमा शब्द व्याप्त छ- शब्दगुणमाकाशम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?