ह्याट्रिक गरेर विरासत जोगाउने दाउमा एमाले, परिणाम वदल्ने प्रयासमा कांग्रेस

हिमालय टाइम्स
Read Time = 5 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा मंसिर ४ गतेको सरगर्मी बढिसकेको छ । यहाँ मुख्य रूपमा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र सत्तागठबन्धनका उम्मेदवार कांग्रेसका खमबहादुर गर्बुजाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

राजनीतिक रुपले पञ्चायतकालदेखि नै निकै चर्चित जिल्ला हो म्याग्दी । पञ्चायतकालका सदाबहार नेता भीमप्रसाद गौचनले म्याग्दीको चुनावी इतिहासमा विकास र कुटनीतिलाई सँगसँगै अघि बढाएका थिए । गौचनको त्यही पदचापलाई पछ्याउँदै म्याग्दीको राजनीति अघि बढिरहेको छ । म्याग्दीमा निर्वाचनताका अनौठा कुटनीतिक खेलहरु हुने गर्दछन् । छक्का पञ्जामाआधारित त्यस्ता खेलहरुले निर्वाचनको परिणामलाई नै प्रभावितपार्ने गरेको पञ्चायतकाल देखिकै इतिहास म्याग्दीमा छ ।

यस पटक पनि म्याग्दीको निर्वाचन निकै पेचिलो हुने संकेत देखिएको छ । एउटै मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट हरिकृष्ण श्रेष्ठ र गठवन्धनको तर्फबाट नेपालीकांग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजा चुनावी मैदानमा हुनुहुन्छ । २०७० र २०७४ को निर्वाचनमा एमालेले विजय प्राप्त गरेको म्याग्दीमा एमालेका उम्मेदवार श्रेष्ठलाई त्यो विरासत कायम गर्ने ठूलो चुनौति छ भने गठवन्धनका उम्मेदवार गर्बुजालाई एमालेको गढ ध्वस्त गरेर नयाँ इतिहास कायम गर्ने चुनौति छ ।

गर्बुजा यस अघिका दुईवटा निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर पराजित हुनु भएको थियो । ०७४ मामाओवादीको साथ पाएको एमाले विजयी भएको थियो । यस पटक माओवादीको साथ कांग्रेसलाई छ । त्यसैले ऊ परिणाम बदल्ने प्रयासमा छ ।

यता नेकपा एमाले पनि गठवन्धनका अगाडि आफनो विरासत कायम राख्न चुनौति स्वीकार्दै अगाडि बढेको छ ।

प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेश सभा क्षेत्र (क) मा पाँच र (ख) मा ६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । विगतको स्थानीयतहको चुनावको मतपरिणाम विश्लेषण गर्दा सत्तागठबन्धनमा आवद्ध दलको मत बढी देखिएको छ । तर, यहाँ एमाले पनि निकै बलियो शक्तिका रूपमा रहेको छ । जिल्लामा गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका गर्बुजा र प्रदेश सभातर्फ निर्वाचन क्षेत्र (क) मा हरिबहादुर भण्डारी र (ख)मा रेसम जुग्जाली उम्मेदवार बनेका छन् । एमालेबाट प्रतिनिधिसभामा श्रेष्ठ र प्रदेश सभा (क) मा देवेन्द्रबहादुर कटुवाल र (ख)मा यामबहादुर गर्बुजा मैदानमा छन् ।

संसदीय निर्वाचनको इतिहास पल्टाउँदा म्याग्दीमा कांग्रेस, एमाले र माओवादीले सफलता पाएको रेकर्ड छ । ०५६ मा कांग्रेस, ०६४ मा माओवादी तथा ०७० र ०७४ मा एमाले उम्मेदवार निर्वाचितभएकाथिए । ०७४ मा एमाले र माओवादीले गठबन्धन गरेका थिए । प्रतिनिधिसभा र प्रदेश सभा (ख) मा एमालेका उम्मेदवार विजयी भएका थिए भने प्रदेश सभा (क) मा माओवादीका उम्मेदवार विजयी भएका थिए ।

यसपटक कांग्रेस-माओवादी-एकीकृत समाजवादीको गठबन्धन छ भने एमाले एक्लै चुनावी मैदानमा छ । एमाले लगातार तेस्रो जितको खोजीमा छ भने सत्ता गठबन्धन उसलाई रोक्दै एमालेको गढ भत्काउन चाहन्छ ।

यस पटक पनि हरिकृष्ण श्रेष्ठमार्फत नेकपा एमालेले नै ह्याट्रिक गरेर आफ्नो २२ वर्षदेखिको विरासत कायम राख्छ वा नेकपा माओवादीसहितको गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका खमवीर गर्वुजाले बाजी मारेर नयाँ रेकर्ड कायम गर्छन, त्यसका लागि भने मंसिर ४ गतेलाई पर्खनु पर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?