इयूले महिला फुटबलमा सहयोग गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । नेपालस्थित युरोपेली युनियन (इयू) ले कर्णालीमा महिला फुटबलमा सहभागिता बढाउन सहकार्य गर्ने भएको छ । नेपालस्थित युरोपेली युनियन (इयू) को प्रतिनिधिमण्डलका कार्यवाहक प्रमुख जोएले हिभोनेट र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालबीच भएको भेटवार्तामा हिभोनेटले कर्णाली प्रदेशमा महिला फुटबललाई प्रोत्साहन गर्न, महिला खेलाडीको सहभागिता बढाउन इयूले लगानी गर्न गैरसरकारी संस्थामार्फत् सहकार्यको सुरुवात भएको जानकारी दिनुभयो ।

‘महिलालाई फुटबलको तालिम दिने, वृत्ति विकासका लागि लगानी बढाइनेछ,’ उहाँले भन्नुभयो, ‘यसले महिलाको आत्मविश्वास बढाउनेछ, महिलालाई खेलकुदतर्फ आकर्षण बढाउने विश्वास लिएका छौँ ।’

नेपाल युरोपेली युनियन चलचित्र महोत्सव उद्घाटनका सिलसिलामा सुर्खेत आउनुभएकी हिभोनेटले नेपाल र विशेषगरी कर्णाली प्रदेशमा सञ्चालन गरेका परियोजना, भावी योजना, महिला सशक्तीकरण र समावेशीकरणलगायतका विषयमा कुराकानी गर्नुभयो ।
उहाँले लैंगिक सशक्तीकरणसम्बन्धी परियोजना सञ्चालन गर्न नेपाल सरकारसँग हालै सम्झौता भएको बताउनुभयो । भेटवार्तामा नगरप्रमुख ढकालले नगरपालिकाले महिला सशक्तीकरण र महिला स्वास्थ्य तथा सुरक्षाका क्षेत्रमा सञ्चालन गरेका क्रियाकलापबारे जानकारी दिनुभयो ।

नगरपालिकाले महिलालाई सीपमूलक तालिम, स्वास्थ्य संस्थाबाट निःशुल्क स्यानिटरी प्याड वितरण, निःशुल्क गर्भजाँच, सुत्केरी सेवालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको र यसले महिलाको स्वास्थ्य र आयआर्जनमा ठूलो टेवा पुगेको बताउनुभयो । इयूले महिलाको प्रतिनिधित्व र सशक्तीकरणलाई मुख्य चासो दिएकामा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?