५० अर्ब लगानीमा मधेशमा प्रसारणलाइन बनाइँदै

Read Time = 8 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् आन्तरिकरूपमै खपत बढाउन मधेश प्रदेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारणलाइन बनाउने भएको छ ।

प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यानमा राखी उच्च क्षमताको प्रसारणलाइन करिडोर निर्माण गर्न लागेको हो ।

प्राधिकरणका अनुसार भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर चार सय केभीको चार सर्किट प्रसारणलाइन र सबस्टेसन निर्माण गरिनेछन् । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट चार सय केभी र तल्लो दुई सर्किट एक सय ३२ केभी सञ्चालनमा ल्याउने गरी प्रसारणलाइन करिडोरको निर्माण गरिनेछ । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि ठाउँ-ठाउँमा सबस्टेसन निर्माण गरिनेछ । हाल प्रस्तावित प्रसारणलाइनको रुट र सबस्टेसन रहने स्थान तय गर्ने काम भइरहेको छ ।

बारा पर्सा औद्योगिक करिडोरअन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब ३२ सय र जनकपुर क्षेत्रमा आठ सय मेगावाट विद्युत् खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिनेछन् । जसबाट शहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लामा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुनेछ ।

प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने प्राधिकरणले जनाएको छ । उक्त रकम सरकार तथा विद्युत् प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

प्राधिकरणका अनुसार भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर चार सय केभीको चार सर्किट प्रसारणलाइन र सबस्टेसन निर्माण गरिनेछन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परामर्शदातालगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार प्रस्तावित लाइन निर्माणस्थलको स्थलगत अनुगमन भ्रमण गरी चार सय र एक सय ३२ केभी प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित स्थान, विद्युत् माग तथा खपतको अवस्थालगायतका विषयमा जानकारी लिएको छ ।

कार्यकारी निर्देशक घिसिङले आन्तरिक खपत बढाउन र देशभित्र खपत गरी बढी भएको विद्युत् भारततर्फ निर्यातका लागि दक्षिण करिडोर प्रसारणलाइन चरणबद्धरूपमा निर्माण गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलो फेजमा खपत वृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारणलाइन र सबस्टेसन, दोस्रो फेजमा दक्षिण करिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत् व्यापारका लागि क्रसबोर्डर प्रसारणलाइन निर्माण गरिनेछन् । केही प्रसारणलाइन तथा सबस्टेसन निर्माण भइरहेका छन्, केही तत्काल सुरु हुँदैछन् भने अन्य दीर्घकालीनरूपमा निर्माण गर्ने गरी सबस्टेसनका लागि जग्गा लिने, रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया सुरु गर्नेलगायतका काम भइरहेका छन् ।’ भारतको मोतिहारी, सीतामणि, जयनगर बिन्दुतर्फ विद्युत् निर्यात गर्न सकिने उहाँको भनाइ छ ।

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा चार सय केभीको सबस्टेसन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ । सोही चार सय केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तररूपमा जनकपुरतिर विस्तार गरिनेछ । बाराको प्रसौनीमा एक सय ३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको छ ।

जनकपुर क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको एक सय ३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ । लोहारपट्टीमा एक सय ३२ केभी सबस्टेसन र ढल्केबर–बालगंगा एक सय ३२ केभी प्रसारणलाइन पनि निर्माणाधीन छ ।

एमसिसीद्वारा टेण्डर आहृवान
अमेरिकी सहयोग परियोजना (एमसिसी)ले प्रसारणलाइन निर्माणका लागि सोमबार विश्वव्यापी बोलपत्र आहृवान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर चार सय केभीको प्रसारणलाइन निर्माणका लागि बोलपत्र आहृवान गरेको हो । एमसिए नेपालले तीनवटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी-रातमाटे-न्यू हेटौंडा एक सय १७ किलोमिटर चार सय केभीको प्रसारणलाइन निर्माण हुनेछ ।

रातमाटे–दमौली ९० किलोमिटर चार सय केभी र न्यु दमौली–न्यु बुटवल प्रसारणलाइन ९० किलोमिटरका साथै नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइन खण्डको कुल १८ किलोमिटर प्रसारणलाइनका लागि बोलपत्र आहृवान गरेको हो । आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । एमसिसीले कुल ५० करोड डलर र नेपाल सरकारतर्फबाट १३ करोड डलर उक्त परियोजनाका लागि उपलब्ध हुनेछ । एमसिसीले पाँचवर्षे अवधिमा सम्पन्न गर्ने गरी परियोजना अघि बढाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?