हस्तकला मेलामा १० करोडको कारोबार

Read Time = 3 mins

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । होटल हायात रिजेन्सीमा पाँच दिनसम्म सञ्चालन भएको मेला करिब ५० हजारले अवलोकन गरेका र बिक्री तथा बुकिङसमेत गरी कुल १० करोड रुपैयाँ बराबरको कारोबार भएको मेला संयोजक दिल्लीरत्न तुलाधरले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको मेला अन्तिम दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अवलोकन गर्दै हस्तकला क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न विशिष्ट व्यक्तित्वसहित हस्तकला प्रतियोगितामा पुरस्कृत कलाकारलाई सम्मान र पुरस्कार प्रदान गर्नुभयो ।

उहाँले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् ‘उत्पादनमा वृद्धिः मुलुक विकास र समृद्धि’ विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै हस्तकला क्षेत्र लक्ष्य प्राप्तिको माध्यम भएको बताउनुभयो । मेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, बागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत नेपाल सरकार र प्रदेश सरकारका विशिष्ट व्यक्तिहरूले अवलोकन गर्नुभएको थियो । मेलामा १० ज्येष्ठ कलाकारलाई औषधि उपचार खर्चसहित सम्मान गरिएको थियो भने महासंघको स्थापनाकालदेखि हालसम्म बहालवाला ज्येष्ठ ५० सदस्यहरूलार्ई पनि सम्मान गरिएको थियो ।

हस्तकला प्रतियोगिताअन्तर्गत मानव मुखाकृत गरुड अर्थात् बण्टेज मूर्ति निर्माण विधामा कलाकार दिपकराज तुलाधर पहिलो, रूपेश बज्राचार्य र मनोज शाक्य क्रमशः दोस्रो र तेस्रो हुनुभएको छ भने हस्तकला मफलर डिजाइनतर्फ चण्डेश्वरी श्रेष्ठ पहिलो, चैत्यदेवी डंगोल र गीता पुटुवार क्रमशः दोस्रो र तेस्रो हुनुभएको छ । दुवै विधामा प्रथम हुने कलाकारले नगद ५० हजारसहित प्रमाणपत्र र दोस्रो तथा तेस्रोलाई नगद ३० हजार र २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?