देउवालाई छैटौँपटक प्रधानमन्त्री बन्ने बाटो खुला

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले झण्डै ७२ प्रतिशत मत पाउनुभएको छ । संसदीय दलको निर्वाचनमा कुल ८९ मत खसेकामा देउवाले ६४ मत पाउनुभयो भने प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत प्राप्त गर्नुभयो । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा ५ बमोजिम संसदीय दलको नेता पदको लागि बुधबार सम्पन्न निर्वाचनमा संसदीय दलको नेता पदका उम्मेदवार माननीय गगनकुमार थापाले जम्मा २५ मत प्राप्त गर्नुभएको र माननीय शेरबहादुर देउवाले जम्मा ६४ मत प्राप्त गर्नुभएकाले संसदीय दलको विधानको धारा ५ (४) बमोजिम दलका सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी सदस्यको मत माननीय शेरबहादुर देउवाले प्राप्त गर्नुभएकाले नेपाली कांग्रेस संसदीय दलको नेता पदमा निर्वाचित हुनुभएको घोषणा गरिन्छ ।’

संसदीय दलको नेताको लागि भएको निर्वाचनमा विजयी देउवाले ७१.९१ प्रतिशत र पराजित हुनुभएका महामन्त्री थापाले २८.०८ प्रतिशत मत पाउनुभएको हो । संसदीय दलको निर्वाचनको परिणामले सभापति देउवा पार्टीका साथै संसदीय दलमा अत्यधिक बहुमतमा रहेको पुनः पुष्टि भएको छ । पार्टीको १४औँ महाधिवेशनबाट देउवा भारी बहुमतका साथ विजयी हुनुभएको थियो । संसदीय दलको नेतामा देउवालाई रामचन्द्र पौडेल लगायतले सहयोग गरेका थिए भने थापालाई शेखर कोइराला लगायतका नेताहरूको समर्थन थियो ।

बुधबार सम्पन्न संसदीय दलको निर्वाचनसँगै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथोपटक पार्टीको संसदीय दलको नेता बन्नुभएको छ । हाल पाँचौँपटक प्रधानमन्त्री रहनुभएका देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब छैटौँपटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । प्रतिनिधिसभामा ठूलो दलका रूपमा रहेको कांग्रेसका सभापति देउवा अब वर्तमान सत्ता गठबन्धनमा बहुमतको गणित पु¥याएर प्रधानमन्त्री बन्ने दाउमा हुनुहुन्छ । ०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सार्नुभएको थियो । दलको नेता भएकै कारण देउवा ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बन्नुभएको थियो । पार्टीभित्रको समीकरणमा तत्कालीन सभापति कोइराला र नेता कृष्णप्रसाद भट्टराईको द्वन्द्व र माओवादी द्वन्द्व व्यवस्थापनमा असफल भएको आरोपका कारण देउवाले दोस्रो र तेस्रो पटकसमेत प्रधानमन्त्री बन्ने मौका पाउनुभयो ।

०६२/६३ को परिवर्तनयता पनि देउवा दुईपटक प्रधानमन्त्री भइसक्नु भएको छ । ०६४ र ०७० का दुवै संविधानसभा निर्वाचनमा संसदीय दलको नेतामा प्रतिस्पर्धा गरे पनि पराजित हुनुभएका देउवा ०७२ मा पार्टीको सभापति निर्वाचित भएपछि भने निरन्तर सभापति र दलको नेता हुनुहुन्छ । ०७४ मा देउवाले संस्थापनइतर समूहका प्रकाशमान सिंहलाई पराजित गर्नुभएको थियो । वैधानिक सभापतीय प्रणालीमा चलिरहेको कांग्रेसमा संगठन र शक्ति सभापतिसँग हुन्छ । पछिल्लो तीन दशक निरन्तर शक्तिमा रहेर पार्टीमा संगठन गर्नुभएका देउवाले यसपटक १४औँ महाधिवेशन पछिको केन्द्रीय समितिमा ८० प्रतिशत बहुमत हासिल गर्नुभएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा टिकट वितरण पनि त्यहीअनुसार गर्नुभएको थियो ।

यसपटक संसदीय दलको निर्वाचनमा देउवालाई ३२ वर्ष कान्छा महामन्त्री थापाले चुनौती दिनुभएको थियो । देउवाविरुद्ध नेता शेखर कोइराला, पार्टी उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, नेता प्रदीप पौडेल लगायतको मोर्चाबन्दी थियो । सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि अब आफ्नै नेतृत्वमा सत्ता गठबन्धनको सरकार गठनका लागि बाटो खुला भएको छ । वि.सं. २००३ सालमा डडेल्धुराको असिग्राममा जन्मिनुभएका देउवा २०२० सालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट २०२८ सालमा नेविसंघको निर्वाचित सभापति हुनुभएका देउवाले पटक-पटक गरी १० वर्ष १० महिना जेल जीवन बिताउनुभएको छ । ०४८ देखि नै डडेल्धुराबाट सांसद निर्वाचित हुँदै आउनुभएको छ । देउवा पहिलो संविधानसभामा डडेल्धुरा र कञ्चनपुर ४ तथा दोस्रो संविधानसभामा डडेल्धुरा र कैलाली ४ बाट निर्वाचित हुनुभएको थियो ।

पार्टीलाई व्यवधानमुक्त राख्नेछु : देउवा
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ । बुधबार नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै देउवाले भन्नुभयो, ‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रूपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु ।’

आलोपालो प्रधानमन्त्री र राष्ट्रपति नमान्ने महामन्त्री थापाको संकेत
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार निर्माण र राष्ट्रपतिबारे पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्द कोठामा सहमति गरे त्यसलाई कांग्रेसले नबोक्ने चेतावनी दिनुभएको छ । माओवादीसँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबण्डाको तयारी भइरहेका बेला संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले भन्नुभयो, ‘सरकारको आलोपालो र राष्ट्रपतिको कुरा गर्दा भएका निर्णयमा यदि समझदारी हुन्छ र त्यो संस्थागत रूपमा भएको छ भने त्यसमा कांग्रेस बाँधिन्छ । तर, बन्द कोठामा गरियो भने त्यस्तो निर्णय कांग्रेसले बोक्दैन । त्यसैले पछि धोका भयो भन्न पाइँदैन ।’

महामन्त्रीद्वय मन्त्री नहुने
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरू नयाँ सरकारमा मन्त्री नबन्ने बताउनुभएको छ । बुधबार कांग्रेस संसदीय दलको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै महामन्त्रीद्वयले आफूहरू मन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पार्नुभएको हो । महामन्त्री थापाले अब बन्ने सरकारमा आफू मन्त्रीका रूपमा भने सहभागी नहुने बताउनुभयो । महामन्त्री शर्माले पनि नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने प्रतिक्रिया दिनुभयो । आफूहरू पार्टी कार्यालयमा बसेर काम गर्ने शर्माको भनाइ छ । पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै शर्माले पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेको बताउनुभयो ।

लोकतान्त्रिक अभ्यासलाई थप मजबुत : विश्लेषक पौडेल
राजनीतिक विश्लेषक आनन्दराम पोडेल नेपाली कांग्रेसमा भएको संसदीय दलको निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई थप मजबुद बनाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो पार्टीको जीवनको लागि राम्रो हो । शेखरले ठूलो हृदय देखाउनुभयो । अन्य कांग्रे्रेस नेताहरू जस्तै रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिले यस्तो विशाल हृदय देखाउन सक्नुभएको थिएन ।’

हारजित जे भए पनि गगनको राजनीतिक उचाइ बढेको भन्दै उहाँले अपेक्षितभन्दा कम मत गगनले प्राप्त गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवा आन्तरिक र बाह्य छेलोखेलो मिलाउन खप्पिस हुनुहुन्छ । संसदीय निर्वाचनमा आरजू देउवाले अपाच्य हर्कत देखाउनुभयो । पार्टी देउवाको कब्जामा छ, त्यति हुँदाहुँदै पनि लोकतान्त्रिक परिपार्टीको अभ्यास भयो । यो सुखद हो ।’

कांग्रेसमा भएको संसदीय दलको निर्वाचनको परिणामबारे पूर्व-जानकार भए पनि गगनले आँट गर्नुभएको उहाँले बताउनुभयो । विश्लेषक पौडेलले भन्नुभयो, ‘अरू पार्टीमा यस्तो चुनाव भएको भए दलाल, विदेशी शक्तिको चलखेललगायत करार भइसक्थे । तर, कांग्र्रेसमा यस्तो केही भएन । नेपालका अरू राजनीतिक दलभन्दा त कांग्रेसमा निकै लोकतन्त्र देखियो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?