पुस्तक : ऐतिहासिक सामग्री समेटिएको एउटा पठनीय पुस्तक

हिमालय टाइम्स
Read Time = 9 mins

✍️ सुशीला घिमिरे

नेपालको क्रान्तिको इतिहास पढ्ने हो भने सबैभन्दा पहिले नेपाली काङ्ग्रेसकै इतिहास अग्रस्थानमा आउँछ । राणा शासनका विरुद्ध सशस्त्र क्रान्ति नेपाली काङ्ग्रेसले नै गरेको थियो । यस क्रममा नेपाली काङ्ग्रेसका केही नेताहरूको अत्यन्तै ठूलो भूमिका रहेको छ जसमा सूर्यप्रसाद उपाध्याय पनि पर्नु हुन्छ । यस पुस्तकमा उहाँसँग सम्बन्धित सामग्रीहरू समेटिएका छन् । इतिहासका केही विद्वानहरूले इतिहासको उहाँको भूमिकालाई ओझेलमा पारिएको भन्ने गुनासो गरिरहेका छन् ।

तर यस पुस्तकले भने उहाँको इतिहासलाई प्रकाशमा ल्याउने प्रयत्न गरेको छ । पुस्तकको शीर्षक नै ‘नेपाली काङ्ग्रेसका ऐतिहासिक सामग्रीहरू’ रहेको छ र उपशीर्षकमा ‘सूर्यप्रसाद उपाध्याय’ भनिएको छ जसमा उहाँका लेख रचना, अन्तर्वार्ता, वक्तव्य र सन्दर्भ समाचारहरू भनिएको हँुँदा यस पुस्तकमा उहाँसँग सम्बन्धित प्राप्त भएसम्मका सम्पूर्ण सामग्रीहरू सङ्कलन भएका छन् भन्न सकिन्छ ।

नेपालको राणा शानसविरुद्धको क्रान्तिमा नेपाली कांग्रेसको एकल योगदान रहेको छ । यसका लागि भारतीय भूमिमा रहेका प्रायः विद्यार्थीहरूको योगदानबाट २००३ सालमा राष्ट्रिय काङ्ग्रेसको स्थापना भएको थियो भने ‘सी’ वर्गमा पारिएका राणाहरू जो भारतीय भूमिमै रहेर व्यापार-व्यवसाय आदि कार्य गरिरहेका थिए तिनीहरूले २००५ सालमा प्रजातन्त्र काङ्ग्रेसको स्थापना गरेको थिए ।

पछि दुवैको एउटै उद्देश्य राणा शासन हटाउने भएका कारण राष्ट्रिय काङ्ग्रेसका कार्यकर्ता र प्रजातन्त्र काङ्ग्रेसको पैसालाई समाजोजन गरी क्रान्ति गर्ने अभिप्रायले यी दुईलाई एकीकृत गरी नेपाली काङ्ग्रेस पार्टी बनाइयो २००६ सालमा र यसैले २००७ सालको आन्दोलन गरेको थियो । यी कार्यहरूका सूर्यप्रसाद उपाध्यायको पनि अरू नेताहरू समान योगदान रहेको थियो । सूर्यप्रसाद उपाध्याय नेपाल प्रजातन्त्र काङ्ग्रेसको संस्थापक महामन्त्री हुनुहुन्थ्यो ।

यो पुस्तक सूर्यप्रसाद उपाध्यायायको जीवनीमात्र होइन । उहाँका माध्यमबाट नेपाली काङ्ग्रेस, राष्ट्रिय काङ्ग्रेसलगायतको इतिहासको जानकारी दिने दस्तावेज हो । इतिहासका विद्यार्थी तथा अध्येताहरूका लागि यो पुस्तक सहयोगी सिद्ध हुनसक्छ । त्यसैले यो सङ्ग्रहणीय तथा पठनीय बन्न सकेको छ ।

नेपाली काङ्ग्रेसका रूपमा एकीकृत भएपछि उहाँ २००६ सालमा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य हुनुभयो । प्रजातन्त्र आएपछि बनेको राणा-काङ्ग्रेस संयुक्त सरकार हटेपछि उहाँ मात्रिकाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वको सरकारमा गृह तथा खाद्य मन्त्री बन्नुभएको थियो । २०१४ सालमा भगवतीप्रसाद सिंहको अध्यक्षतामा बनेको पाँच सदस्यीय संवैधानिक मस्यौदा समितिमा पनि उहाँ सदस्य हुनुहुन्थ्यो । यसैगरी २०१५ सालको आमनिर्वाचनपछि नेपाली काङ्ग्रेसको बहुमततप्राप्त सरकारमा बीपी कोइराला प्रधानमन्त्री बन्नुभयो ।

यस मन्त्रिमण्डलमा उहाँ प्रधानमन्त्री बीपी, सुवर्ण शमशेर र गणेशमान सिंहपछि चौथो मर्यादाक्रममा रहेर गृह र कानुनमन्त्री बन्नुभएको थियो । यी सबै तथ्यबाट उहाँ नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण भूमिकामा रहनुभएका एक वरिष्ठ राजनीतिज्ञ हुनुहुँदो रहेछ भन्ने थाहा हुन्छ । यो पुस्तक उहाँसँग सम्बन्धित तथ्य र अभिलेखहरूमा आधारित छ । यस पुस्तकको सम्पादन महामुनीश्वर आचार्यले गर्नुभएको छ । पुस्तकको सर्वाधिकार सम्पादकमै निहित छ ।

२०७९ सालमा अथवा यही वर्ष यो पुस्तक प्रकाशन भएको छ र यो यस पुस्तकको पहिलो संस्करण हो । यस संस्करणमा यो पुस्तक ११०० को सङ्ख्यामा प्रकाशित भएको जनाइएको छ । श्रीसूर्यप्रसाद स्मृति प्रतिष्ठान भाटभटेनी, काठमाडौं प्रकाशक रहेको यस पुस्तकको वितरक प्रगति पुस्तक भण्डार पुतलीसडक काठमाडौं रहेको छ । पुस्तक कमाण्डर प्रिन्टिङ प्रेसबाट मुद्रण भएको छ । पुस्तकमा भूमिका खण्डमा समेत गरी ४६४ पृष्ठ रहेका छन् र पुस्तकको मूल्य ७५० रुपैयाँ छ । पुस्तक डिएमआई साइजमा रहेको छ ।

यस पुस्तकमा तौलरहित पहेंलो हलुका कागजको प्रयोग भएको छ । छपाइ स्तरीय छ र अशुद्धिहरू कमै पाइन्छन् । आवरणमा सूर्यप्रसाद उपाध्यायको युवा अवस्थाको फोटो राखिएको छ र पृष्ठआवरणमा बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायको फोटो राखिएको छ त्यसपछि यही पृष्ठमा केही भनाइसहित कृष्णप्रसाद भट्टराईको फोटो पनि राखिएको छ ।

भूमिका खण्डमा यस पुस्तकका सम्पादक महामुनीश्वर आचार्यको ‘पुस्तकबारे’बाहेक अरू कसैको भनाइ राखिएको छैन । यसपछि विषयसूची दिइएको छ । विषयसूचीको क्रम नै निकै लामो छ जसबाट यो पुस्तकको आयतन ठूलो बन्नुको कारण पुष्टि हुन्छ । विषयसूचीको फैलावट सात पृष्ठसम्मको छ र १८२ वटा सामग्री यसमा समेटिएका छन् भन्ने कुरा यहाँबाट थाहा हुन्छ । यस पुस्तकमा सूर्यप्रसाद उपाध्यायका भाषाण, वक्तव्य, अन्तर्वार्ता र लेखहरू सङ्कलन गरिएको छ भने उहाँबारे अरूले सिर्जना गरिदिएका केही लेख रचनाहरू पनि समेटिएका छन् । यस्ता रचनाहरूमा प्रदीप गिरि, तेजनाथ घिमिरे आदिका लेख र कविता अनि उपाध्यायबारे अन्य राजनेताहरूले दिएका वक्तव्यहरू पनि यस पुस्तकमा समेटिएका छन् ।

यो पुस्तक सूर्यप्रसाद उपाध्यायायको जीवनीमात्र होइन । उहाँका माध्यमबाट नेपाली काङ्ग्रेस, राष्ट्रिय काङ्ग्रेसलगायतको इतिहासको जानकारी दिने दस्तावेज हो यो पुस्तक । इतिहासका विद्यार्थी तथा अध्येताहरूका लागि यो पुस्तक सहयोगी सिद्ध हुनसक्छ । त्यसैले यो सङ्ग्रहणीय तथा पठनीय बन्न सकेको छ । सूर्यप्रसाद उपाध्यायको बारेमा जान्न चाहनेहरूका लागि त यो साङ्गोपाङ्ग पूर्ण दस्तावेज हो ।
एकजना राजनेताका बारेमा उहाँको योगदानको संस्मरण गरी यस स्तरको पुस्तक प्रकाशन गर्न निकै ठूलो मिहिनेतको आवश्यकता पर्दछ । यसका लागि प्रकाशक संस्था सूर्यप्रसाद स्मृति प्रतिष्ठान तथा सम्पादक महामुनीश्वर आचार्यलाई धन्यवाद छ । साथै ययो संस्था अझै यस प्रकारका खोजमूलक पुस्तकहरूको प्रकाशन गर्न सफल बनोस् हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?