गुजरात आइपिएलको फाइनलमा

Read Time = 3 mins

गुजरात । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको हो । अन्तिम ओभरमा डेविड मिलरको लगातार तीन छक्कासँगै प्रहार गर्दा पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै गुजरात पहिलोपल्ट फाइनलमा पुगेको हो ।

जितका लागि १८९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । गुजरातको जितमा डेविड मिलर ३८ बलमा तीन चौका र पाँच छक्कासहित ६८ तथा कप्तान हार्दिक पान्ड्याले २७ बलमा पाँच चौकासहित ४० रनको अविजित पारी खेल्नुभयो । चौथो विकेटका लागि हार्दिक र मिलरले १०६ रनको अविजित शतकीय साझेदारी गरेपछि टोली उपाधि नजिक पुगेको हो ।

ओपनर ऋद्धिमान शाह शून्यमा आउट भए पनि गुजरातले राम्रो सुरुवात गरेको थियो । दोस्रो विकेटका लागि शुभमन गिल र म्याथ्यु वेडले ७२ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाउनुभयो । गिलले २१ बलमा पाँच चौका र एक छक्कासहित ३५ रन जोड्नुभयो । यस्तै वेडले ३० बलमा ६ चौकासहित ३५ रन बनाउनुभयो । राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले एक/एक विकेट लिनुभयो ।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलर ५६ बलमा १२ चौका र दुई छक्कासहित सर्वाधिक ८९ रनमा आउट हुनुभयो । दोस्रो विकेटका लागि बटलर र सन्जु स्यासमनले ६८ रनको साझेदारी गर्नुभएको थियो । स्यामसनले २६ बलमा पाँच चौका र तीन छक्कासहित ४७ रन बनाउनुभयो ।

देवदत्त पाडिक्कलले २० बलमा दुई चौका र दुई छक्कासहित २८ रन बनाउनुभयो । गुजरातका मोहम्मद शामी, यश दयाल, हार्दिक पान्ड्या र साई किशोरले एक/एक विकेट लिनुभयो । राजस्थानले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

एलिमिनेटरमा तेस्रो स्थानको लखनउ सुपर जायन्ट्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल बुधबार हुनेछ । दोस्रो क्वालिफायर शुक्रबार र फाइनल आइतबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?