सरकारद्वारा पाँचजना सचिवको सरुवा, २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले पाँचजना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले पाँचजना सचिवको सरुवा गरेको जानकारी दिनुभएको हो ।

सरकारले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका सचिवहरू रविन्द्रनाथ श्रेष्ठ, सुरेश आचार्य, मणिराम गेलाल, सुशीलचन्द्र तिवारी र गोपालप्रसाद सिग्देलको सरुवा गरेको हो । उहाँहरूलाई क्रमशः प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ ।

यस्तै, सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ । बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । सरकारले अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरसिप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायव महान्यायाविधवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको पनि गरेको छ । त्यस्तै, सरकारले अमेरिकाको हवाईस्थित मनोलोलुमा जेठ १८ देखि २० गतेसम्म आयोजना हुने कन्प्रिएन्सिव सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले आउँदो जेठ १८ देखि २५ गतेसम्म भारतमा आयोजना हुने हाईलेभल नेपाल स्टडी मिसन टू इण्डिया अन राइट टू फुड एण्ड फुड सर्भिरेन्टी एक्ट कार्यक्रममा सहभागी हुन कृषि तथा पुशुपंक्षी विकास मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय भएको पनि जानकारी दिनुभयो ।

त्यस्तै, सरकारले आगामी जेठ २९ देखि असार ५ सम्म जर्मनी, बेल्जियम र फ्रान्समा लर्निङ एण्ड नलेज सेयरिङ अन युरोपियन को-अप्रेटिभ सिष्टम एण्ड गुडप्राक्टिसेस अन एग्रिकल्चर फ्रुट एण्ड भिजिटेबल को–अप्रेटिभ्स मार्केट डेभलपमेण्ट कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत प्रदान गर्ने, रुवाण्डाको किगालीमा २०७९ जेठ २३ गतेदेखि असार २ गतेसम्म आयोजना हुने वल्र्ड टेली कम्युनिकेसन डेभलपमेण्ट कन्फरेन्समा भाग लिन सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई स्वीकृत दिने निर्णयसमेत गरेको छ । प्रवक्ता कार्कीले लोकसेवा आयोगको सिफारिसबमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्रांकित प्रथम श्रेणीको पदमा बढुवा तथा नियुक्ति पदस्थापना गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?