मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने तयारीमा छौंः सञ्चारमन्त्री शर्मा

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताउनुभएको छ ।

सोमवार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकहरुलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताउनुभएको हो । उहाँले त्यसको लागि तत्काल सरोकारवाला निकायहरुले आवश्यक सल्लाह सुझावहरु मन्त्रालयलाई दिन पनि आग्रह गर्नुभयो ।

उहाँले आमसञ्चार क्षेत्रका लागि बनेका कानूनहरु अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानूनहरु परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताउनु भयो । मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानून बनाउँदा सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताउनु भयो ।

उहाँले आमसञ्चार क्षेत्रको विकास,समृद्धि र सबलिकरण हुनु भनेको राज्यको सबलिकरण हुनु सरह रहेको बताउनु भयो । उहाँले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्नअंगका रुपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला-ठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘आमसञ्चार क्षेत्रका विज्ञहरुको समेत सुझाव लिएर सरकारलाई मिडिया विधेयकका बारेमा तत्काल सल्लाह सुझाव दिन आग्रह गर्दछु । सरकारले संसदमा पेस भएर बसेको मिडिया विधेयकहरु अगाडि बढाउने कार्ययोजना बनाएर अगाडि बढ्ने तयारीमा छौं । मिडिया र आम सञ्चारको क्षेत्रलाई आवश्यक ऐन कानून र अन्य काम गर्दा सरकार र सरोकारवाला निकायहरु सहकार्यमा अगाडि बढ्न सरकार तयार रहेको छ । आमसञ्चारको क्षेत्र एउटा महत्वपूर्ण क्षेत्र हो । यो क्षेत्रको विकास,समृद्धि र सबलिकरण हुने राज्यको सबलिकरण हुनु हो । देशको राजनीतिक परिवर्तन राजनीति र पत्रकारीता अभिन्नअंगका रुपले जोडिएको छ । राजनीति र पत्रकारिता जोडिएको थिएन भने ठूला-ठूला राजनीतिक परिवर्तन सम्भव थिएन । राजनीतिक परिवर्तनमा काँधमा काँध मिलाएर मिडिया सकारात्मक नहुँदा के हुन्छ र नकारात्मक रुपमा रोल गर्दा कस्तो असर पर्छ भन्ने कुरा हामीले भोग्दै आएको कुरा हो । त्यसैले मिडिया र सरकार सकारात्मक रुपमा जोडिएर अगाडि बढ्नुपर्छ । नकारात्मक विषयमा आलोचनात्मक रुपमा लेख्ने र सकारात्मक विषयलाई सकारात्मक भएर लेख्ने विषयमा सहकार्य गरेर अगाडि बढ्दा सरकारकालाई कुनै बेफाइदा गर्दैन । आलोचनाले कसैलाई पनि बेफाइदा गर्दैन ।’

उहाँले मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रुपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताउनु भयो । उहाँले नकारात्मक विषयमा आलोचना गर्दा कसैलाई बेफाइदा नहुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?