स्थापित दलका उम्मेदवारमाथि एक्लै भारी बालेन

Read Time = 8 mins

डिबी शर्मा/हिटा
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न पालिकाको मतगणना भइरहेको छ । केही पालिकाको अन्तिम परिणामसमेत आइसकेको छ भने अधिकांशको जारी छ । जारी मतगणनामा केही पालिकामा आएको परिणामले सबैको ध्यान तानेको छ । खासगरी काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ल्याएको मतको चौतर्फी चर्चा भइरहेको छ । सुरुवातदेखि नै अग्रता बनाउनुभएका बालेनको आइतबार अबेरसम्म पनि अग्रता कायमै रहेको थियो । सुरुवाती परिणामले काठमाडौं महानगरमा स्थापित दलहरूलाई पाखा लगाउँदै बालेनले बाजी मार्ने चर्चा हुन थालेको छ । यसले स्थापित दलका नेता-कार्यकर्तामा चिन्ता पनि उत्तिकै छ । मतगणना स्थलमा खटिएका कांग्रेस र एमालेका दलीय प्रतिनिधिहरू प्रारम्भिक मत गणनाको नतिजा हेरेर निराश छन् । हार/जितबारे अहिल्यै भन्न नसकिने भए पनि यसले दलका उम्मेदवारलाई चुनौती भने दिएको छ ।

बालेनले माथि-माथि अग्रता लिइरहँदा तल कांग्रेस-एमाले उम्मेदवारबीच प्रतिस्पर्धा जस्तो देखिएको छ । ५४ सालमा करिब ८० हजार मतका साथ काठमाडौंको मेयर बन्नुभएका केशव स्थापित र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको गढ रहेको काठमाडौंमा उहाँकी श्रीमती सिर्जना सिंहसमेत बालेनसँग पछाडि पर्नुभएको छ । दलहरूले देशलाई विकासोन्मुखभन्दा पनि धराशायी बनाइरहेको आरोप लागिरहेको अवस्थामा बालेनले ल्याएको मत समान्य होइन । प्रश्न एमाले वा कांग्रेसको मात्रै होइन बालेनले ल्याएको मतले दलीय प्रणाली र यिनका प्रतिनिधिबाट जनतामा रहेको वितृष्णा पनि प्रकट हुन्छ । दल र तिनका आश्वासनबाट आजित मतदाताले विवेक प्रयोग गरेको पनि देखिन्छ । मत परिणामको यो लहरले पार्टी नेताहरूका रवैयाप्रति आम मतदाताले आक्रोश पोखेको देखिन्छ ।

बालेनमय वातावरण
काठमाडौं उपत्यकाको मतगणना राष्ट्रिय सभागृहमा भइरहेको छ । सभागृहबाहिर उम्मेदवारका समर्थकहरू स्वाभाविक रूपमा हुने नै भए । आफूले मन पराएको र मत दिएको उम्मेदवार जितोस् भन्ने अपेक्षा समर्थकको हुने नै भयो । तर, सभागृह बाहिरको दृश्य भने फरक छ । धिमा गतिमा भइरहेको मतगणनादेखि बाहिर बसेकाहरू आजित छन् । दिनभरिमा तीन हजार मत मात्रै गणना भइरहेको छ । यही गति कायम रहे एक महिना बढी समय लाग्ने देखिन्छ । सभागृहबाहिर रहेकाहरू गणनाकोे गतिप्रति असन्तुष्ट छन् नै । मतगणनास्थल बाहिर दिनभर बालेनका समर्थक भरिभराउ हुन्छन् । बालेनका समर्थकको तुलनामा अन्य उम्मेदवारका समर्थन नगण्य मात्रामा देखिन्छन् । उनीहरू घरि गणनाको गतिप्रति आक्रोश पोख्छन् त कहिले बालेनको अग्रतामा खुसी मनाउँछन् । मेयरका प्रत्यासी केशव स्थापित र सिर्जना सिंहका समर्थकहरू थोरै मात्र देखिन्छन् । उनीहरूको निराशा हेर्दै देखिन्छ । एकछिन सभागृह पुगेर मात्रै बाहिरन्छन् उनीहरू ।

युवाप्रति आम मान्छेको अपेक्षा
सभागृहमा भेटिनुभएकी कञ्चनपुरकी नन्दा चन्दले बालेनले जित्नुपर्ने बताउनुभयो । दल र तिनका प्रतिनिधिबाट आजित उहाँ बालेन युवा र नयाँ भएकाले केही काम हुने अपेक्षामा हुनुहुन्छ । ‘पार्टीभन्दा माथि उठेर स्वतन्त्र उम्मेदवारलाई जिताउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘बालेन साहका स्पष्ट प्रतिबद्धताले नै युवाहरू बालेनलाई समर्थन गरिरहेका छन् । उहाँ युवा मात्रै होइन, नयाँ सोच र विचारसहित आउनुभएको छ । उहाँले जित्नुपर्छ ।’

नवीन न्यौपानेको भनाइ पनि नन्दाको जस्तै छ । उहाँ पनि काठमाडौंले परिवर्तन चाहेको बताउनुहुन्छ । देश र जनताले चाहेको परिवर्तन स्वतन्त्र व्यक्तिले मात्रै गर्न सक्ने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘देशले परिवर्तन चाहेको छ । देशले चाहेको परिवर्तन स्वतन्त्र उम्मेदवारले मात्रै गर्नसक्छ ।’

सभागृह बाहिरै भेटिनुभएका बलबहादुर गुरुङ अब शासन सत्तामा नयाँ पुस्ता आउनुपर्ने बताउनुहुन्छ । जनतामा नयाँ पुस्ता र युवाप्रति बढी नै अपेक्षा रहेको भन्दै बालेनले जित्नुपर्ने उहाँले बताउनुभयो । ‘नयाँ पुस्ता आउनुपर्‍यो, नयाँ पुस्ताले अहिले देशले चाहेको, जनताले चाहेको विकास ल्याउन सक्छ । जनअपेक्षा पूरा गर्न सक्छ । मेरो अपेक्षा बालेन साहले जिते हुन्थ्यो जस्तो लाग्छ ।’

माथिका तीनजना प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । अहिले अधिकांशको मत एउटै छ । दलका प्रतिनिधिले अति गरे । अब यिनको विकल्प खोज्नुपर्छ । तर, बागबजारका उपेन्द्र खड्गीको मत भने अलि फरक छ । सुरुवाती चरणको मत परिणामबाट अन्तिम परिणाम आँकलन गर्न नमिल्ने उहाँ बताउनुहुन्छ । वर्षौंदेखि दलले वर्चस्व कायम राखेको ठाउँमा स्वतन्त्र उम्मेदवारले जित्ने सम्भावना कम रहेको उहाँको दाबी छ । ‘काठमाडौंमा लाखौँ मतदाता भएको ठाउँमा दुई/तीन हजार मतको परिणाम आउँदै गर्दा यसैले जित्छ भन्ने धारणा बनाउनु गलत हो,’ उहाँले भन्नुभयो, ‘वर्षैंदेखि पार्टीले आफ्नो बर्चस्व कायम गरेको ठाउँमा स्वतन्त्र उम्मेदवारले जित्ने मैले देखेको छैन ।’

यसो त काठमाडौंमा मात्रै होइन उपत्यकाबाहिर पनि कतिपय पालिकामा स्वतन्त्रले अग्रता बनाएका छन् । कतिपय वडामा स्वतन्त्र÷बागी उम्मेदवार विजयी पनि भएका छन् । धनगढी र जनकपुर महानगरमा पनि स्वतन्त्रको अग्रता छ । यसले पनि दलका उम्मेदवारलाई सकस परेको छ । दल र संगठन आवश्यक छ । तर, उनीहरू जनताप्रति जवाफदेही हुन आवश्यक छ । जनअपेक्षा सम्बोधन गर्नेतर्फ ध्यान दिन जरुरी छ । नेता र कार्यकर्ता पाल्नेभन्दा पनि जनताका काम गर्नेतर्फ जनप्रतिनिधिले ध्यान दिनुपर्छ । अन्यथा आगामी चुनावमा दलहरू र दलीय प्रणालीमाथि गम्भीर संकट पैदा हुनसक्छ । ३१ वर्षीय ‘बालेन’ इञ्जिनियर, ¥यापर र गीतकारसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?