साइकलबाटै लण्डन ब्रिज हुँदै इफेल टावरसम्म अभिनेता जोशी

Read Time = 4 mins

काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डी जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दूरी साइकलबाटै पूरा गर्ने हुनुभएको छ । ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ चलचित्रका नायक जोशीले धुलीखेलमा हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले ६ जना नेपाली साथीहरूका साथ आगामी शुक्रबार अर्थात् २० ममा ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गर्न लाग्नुभएको हो ।

साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ हुनुहुन्छ । उहाँहरूले शुक्रबार लण्डनको लण्डन ब्रिजबाट यात्रा सुरु गरेर लगातार तीन दिन साइकिलिङ्ग गर्दै २२ मेमा पेरिसको इफेल टावर पुग्ने लक्ष्य लिनुभएको छ । ‘हामीहरूको म्यानुअल साइकल (पाइडल घुमाउँदै)मार्फत लण्डनबाट पेरिस पुग्ने प्लान छं,’ अभिनेता जोशीले भन्नुभएको छ, ‘साइकलमा यति लामो दूरी तय गर्ने प्रयास सायद पहिलोचोटी हुँदैछ ।’ उहाँले यो यात्राका लागि तीन साताअघिदेखि मात्रै तयारी गर्नुभएको हो ।

उहाका साथीहरूले भने यो यात्राबारे चार वर्षअघिदेखि योजना बनाउनुभएको रहेछ । ‘उहाँहरूले पहिलादेखि नै प्लान बनाएको भए तापनि अहिले आएर बल्ल साकार हुनलागेको छ,’ अभिनेता जोशीले भन्नुभयो, ‘यात्राका लागि म करिब तीन सातायता दैनिक चार पाँच घण्टा साइकल कुदाइरहेको छु ।’ लामो समयदेखि नियमित एक्सरसाइज गर्दै आइरहेकाले छोटो समयको तयारीले पनि आफूलाई पूर्ण सफलता दिने विश्वास उहाको छ ।

साइकल यात्राका क्रममा लाग्ने सम्पूर्ण खर्च साइकल यात्रीहरू स्वयंले नै व्यहोर्ने टिमको निर्णय छ । लण्डनदेखि पेरिस यात्रामा बीचमा पर्ने समुद्रमा भने उनीहरू पानी जहाजमा यात्रा गर्नेछन् ।

उलबीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा हुने साइकल यात्राबाट आफूहरूले कम्तीमा ५ हजार पाउण्ड (करिब पौने ८ लाख) संकलन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । उहाँले यो अभियान सुरु भएदेखि विभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउण्ड सहयोग गरिसकेको बताउँदै जोकोहीले पनि जष्ट गिभिङ डटकम नामक अनलाइनमार्फत रकम सहयोग गर्नसक्ने जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?