सात प्रतिशत पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी, महानगरको पनि नतिजा आउने क्रम सुरु

नारायण भण्डारी
Read Time = 5 mins

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत झण्डै ७०० तहको परिणाम सार्वजनिक भइसकेको छ । शनिबार राति ११ बजेसम्मको नतिजाअनुसार झण्डै ९३ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । जसमा एक महानगरपालिका र ६ उपमहानगरपालिकामा पनि मतगणना सम्पन्न भइसकेको छ । निर्वाचनमा तुलनात्मक रूपमा बढी मतदाता रहेका महानगरपालिका र उपमहानगरपालिकाको मतगणना सकिन भने केही दिन लाग्ने देखिएको छ । यो समाचार तयार पारुन्जेलसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले ३०८ स्थानका पालिकामा जित हात पारेको छ भने १९ स्थानमा अग्रता लिइरहेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमाले १८९ पालिकामा विजयी हुँदा १६ ठाउँमा अग्रता कायम गरिरहेको छ ।

यसैगरी माओवादी केन्द्रले ११९ पालिकामा जित हात पारेको छ भने दुई स्थानमा अग्रता लिइरहेको छ । जनता समाजवादी पार्टी २६ सिट जितेर चौंथो स्थानमा पर्न सफल भएको छ भने नेकपा एकीकृत समाजवादी १७ स्थानमा विजयी हुँदै पाचौंँ स्थानमा पुगेको छ । त्यस्तै पालिका उपप्रमुखमा कांग्रेसले १८२ पालिका हात पारेको छ भने एमालले २१४ स्थानमा बाजी मारेको छ । तेस्रो स्थान हासिल गरेको माओवादी केन्द्रले १२३ स्थानमा विजयी भइसकेको छ ।

देशका ६ वटा महानगरपालिकामध्ये विराटनगरको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसअनुसार विराटनगरको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित हुनुभएको छ । कोइरालाले एमालका सागरकुमार थापालाई झण्डै ९ हजार मतान्तरले पराजित गर्नुभएको हो । कोइरालाले ३०,१७० मत ल्याउँदा थापाको २१,४५५ मत मात्र आएको छ । अन्य पाँच महानगरपालिकाको मतगणना जारी छ । अन्य महानगरको मतगणना पनि अन्तिम चरणमा पुग्न थालेको छ ।

काठमाडौंमा एक लाख मत गणना भइसकेको छ । महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ( बालेन) अग्रस्थानमा हुनुहुन्छ । अग्रस्थान मात्र होइन उहाँको मतान्तर झन् झन् फराकिलो हुँदै गएको छ । बालेनले ३५ हजार ७५१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले १९५१५ हजार मत ल्याउनुभएको छ । मतगणनाको रुझान हेर्दा बालेनको जित निश्चितजस्तै देखिएको छ ।

त्यस्तै सबैभन्दा चर्चाको रूपमा हेरिएको भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल भारी मतान्तरले अगाडि हुनुहुन्छ । दाहालले ३१ हजार ६७६ मत ल्याउनुभएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले २५ हजार १० मत ल्याउनुभएको छ । यता उपत्यकाभित्रको अर्को महानगर ललितपुरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन अघि हुनुहुन्छ । महर्जनले सुरुवातदेखि नै आफूलाई अग्रता दिलाउँदै आउनुभएको छ । उहाँको प्रारम्भिक मत परिणाम हेर्दा पुनः ललितपुरको महानगर प्रमुखमा दोहोरिने निश्चितजस्तै देखिन्छ । चिरीबाबुले २७ हजार २४२ मत पाउँदा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५ हजार ९८३ मत पाउनुभएको छ ।

त्यस्तै पोखरा महानगरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य अगाडि देखिनुभएको छ । उहाँले ३७ हजार १२२ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ३३ हजार ८५० मत ल्याउनुभएको छ वीरगंज महानगरपालिकामा गठबन्धनका उम्मेदवार अगाडि रहनुभएको छ । जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले २७ हजार ५१५ मत ल्याएर अगाडि हुनुहुन्छ । एमालेका विजयकुमार सरावगीले १४ हजार २३३ मत पाउनुभएको छ ।

पाँच उपमहानगरमा जारी मतगणनामा जनकपुरमा स्वतन्त्रबाट उठ्नुभएका मनोजकुमार शाहीले अग्रता लिनुभएको छ भने दाङको तुलसीपुरमा एमालेका टिकाराम खड्काको अग्रता छ । बाँकी तीन स्थानमा सत्ता गठबन्धनका उम्मेदवार मत बढी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?