पाल्पाका ठूला दलको गढ : कतै भत्किए, कतै भत्काए

Read Time = 7 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पाका ठूला राजनीतिक दलहरूले यस पटकको निर्वाचनमा आफ्ना केही गढ मानिएका क्षेत्रहरू गुमाएका छन् भने केही गढ नभएका क्षेत्रहरू प्राप्त गरेका छन् । विशेषतः नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नै आधार क्षेत्र भनिएका तथा अघिल्लो निर्वाचनमा जित हात पारेका पालिकाहरू गुमाए भने, यस अघिका निर्वाचनमा जित्न नसेका क्षेत्रहरूमा विजयी हासिल गरे ।

पाल्पाका दश स्थानीय तहमध्ये एमालेले ६ पालिकामा विजयी हासिल गर्दै पहिलो दल बनेको छ । उसले केही पालिकामा विरासत गुमाएको छ भने केहीमा पुराना किल्ला भत्काएको छ । त्यस्तै, नेपाली कांग्रेस तीन पालिकामा विजय भएको छ । कांग्रेस यो चुनावी परिणामबाट दोस्रो दल बनेको छ । उसले पनि केही पालिकामा आफ्नो विरासत गुमाएको छ भने केहीमा पुराना किल्ला भत्काएको छ ।

कांग्रेसले २५ वर्षपछि नेकपा एमालेको गढ मानिएको सदरमुकाम तानसेनमा विजयी हासिल गरेको छ । उसले अहिले आठवटा वडासहित नगर आफ्ना हातमा लिएको हो । यहाँ एमालेले २०५४ देखि निर्वाचन जित्दै आएको थियो । २०४९ मा नेपाली कांग्रेसका धीरेन्द्रप्रसाद श्रेष्ठ अत्यधिक मतका साथ नगर प्रमुखमा विजयी हुनुभएको थियो । त्यसयताका निर्वाचन भने एमालेले जित्दै आयो ।

कांग्रेसलाई विभिन्न समयमा हुने निर्वाचनमा आफ्नो पक्षमा जित्न निकै सकस भयो । एमालेले आफ्नो गढ सावित गर्दै यहाँ पटक–पटक विजयको झण्डा फरफराउँदै आयो । तर, अहिलेको स्थानीय निर्वाचनमा एमालेले लजास्पद हार बेहोरेको छ भने तीनवटा वडामा खुम्चिएको छ । एमालेले तानसेनमा विरासत गुमाए पनि कांग्रेसको गढ मानिएको माथागढी गाउँपालिकामा भने विजयी हासिल गरेको छ । यहाँ २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले क्लिनस्विप गरेको थियो । तर, यसपालिको निर्वाचनमा भने पालिका गुमाएको छ । यहाँ आठ वटा वडामध्ये चार वडामा कांग्रेस खुम्चिएको छ । यस्तै, नेपाली कांग्रेसले बगनासकाली गाउँपालिकामा २०७४ को निर्वाचनमा अध्यक्षसहित पाँचवटा वडा जितेको थियो । यसपटक भने कांग्रेसले पालिका अध्यक्ष गुमाएको छ भने तीनवटा वडामा खुम्चिएको छ । यहाँ एमालेले भने अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडा जितेको छ । अघिल्लो निर्वाचनमा चार वटा वडासहित उपाध्यक्षमा खुम्चेको एमालेले यसपटक भने दुईवटा वडा बढाएको छ भने पालिका अध्यक्ष, उपाध्यक्ष पनि आफ्नो पोल्टमा पारेको छ ।

रिब्दिकोट गाउँपालिकामा भने एमालेले आफ्नो वर्चस्च गुमाएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा अध्यक्ष, उपाध्यक्षसहित एमालेको सरकार बनाएको उसले अहिले गुमाउन पुगेको छ । यस्तै, एमालेले तिनाउ गाउँपालिकामा उपाध्यक्ष गुमाएको छ । उसले अघिल्लो निर्वाचनमा अध्यक्ष, उपाध्यक्षसहित एमालेको सरकार निर्माण गरेको थियो । अहिले अध्यक्ष जिते पनि उपाध्यक्ष गुमाउन पुगेको हो । यहाँ गठबन्धनबाट नेपाली कांग्रेसले उपाध्यक्ष जित्न सफल भएको छ । नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा चार प्रमुख र तीन उपप्रमुख र ३७ वटा वडा जितेको थियो । यसपटक भने तीन प्रमुख तीन उपप्रमुख र ३६ वटा वडामा खुम्चिन पुगेको छ । नेकपा एमालेले भने २०७४ सालकै पुरानै विरासत कायम गरेको छ ।

एमाले पाल्पाले ६ प्रमुख, पाँच उप–प्रमुख र ४१ वटा वडामा विजय हासिल गरेको छ । उसले अघिल्लो निर्वाचनमा ६ प्रमुख र सात उपप्रमुखसहित ४० वटा वडामा जितेको थियो । एमालेले अहिले दुईवटा उपप्रमुख गुमाएको छ भने एक वटा वडा थपेको छ । यो चुनवी नतिजासँगै जिल्ला समन्वय समिति पनि नेकपा एमालेको पोल्टामा पुगेको छ । जिल्ला समन्वयको प्रमुख, उपप्रमुखसहित सदस्यको निर्वाचनका लागि पाल्पाका १० पालिका प्रमुख उप–प्रमुख गरी २० जनाको मताधिकार रहेकोमा नेकपा एमालेका ११, नेपाली कांग्रेसको ६ र माओवादी केन्द्रको तीन मत रहेको छ ।

यस्तै पाल्पामा भएको गठबन्धनले माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चालाई फाइदा पुगेको छ । २०७४ को स्थानीय निर्वाचनमा चार वडामा मात्र सिमित रहेको माओवादी केन्द्रले अहिले एक अध्यक्ष, एक उपाध्यक्ष र एक नगर उपप्रमुखसहित पाँच वडामा जित हासिल गरेको छ । जनमोर्चाले एक वडा अध्यक्ष र दुई वटा वडा सदस्यमा विजय हासिल गरेको छ । गठबन्धन गरेका दलहरूमध्ये कलम चिन्हबाट नेकपा एकीकृत समाजवादीले भने एक सिट पनि जितेन । बरु उल्टै कलमको भोट ठूलो संख्यामा बदर भयो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कलम चिन्हमा परेको ५.८ प्रतिशत मत बदर भएको छ । निर्वाचन कार्यालय रम्भाका अनुसार अध्यक्षको उम्मेदवारमा एक हजार ४६ मत बदर भएको छ । कलम चिन्ह लिएर उपाध्यक्षमा उम्मेदवार भएका बगनासकालीमा पनि एक हजार ९९६ मत बदर भएको छ । पूर्व–खोलामा पनि अध्यक्षमा कलम चिन्ह लिएर उठेका उम्मेदवारको कुल खसेको मतमा एक हजार १८५ मत बदर भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?