भारत र बंगलादेश लक्षित पर्यटन प्रवद्र्धन अभियान

Read Time = 5 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले भारतीय र बंगलादेशी पर्यटकलक्षित ‘समर टुरिजम क्याम्पेन’ सुरु गरेको छ । अभियानको शुभारम्भ गर्दै सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले कोरोनापछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटकसमेत विस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरूलाई नेपालमा आकर्षित गर्न अभियान सुरु गरिएको बताउनुभयो । अग्रवालका अनुसार हाल भारत एवं बंगलादेशमा निकै गर्मी छ । गर्मी मौसममा उनीहरू बाहिर भ्रमण गर्न निस्कन खोजिरहेका बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्नेछ ।

अध्यक्ष अग्रवालले भन्नुभयो, ‘पर्यटनले नेपाललाई विश्वमा चिनाएको छ । पर्यटन यस्तो उद्योग हो, जहाँ एक विदेशी एकपटक आउँदा त्यसले धेरै क्षेत्रमा मूल्य अभिवृद्धि गर्नुका साथै विदेशी मुद्रा आर्जन हुन्छ । त्यसैले परिसंघले नेपालको पर्यटन प्रवद्र्धन गर्न र पर्यटक भिœयाउन यो अभियान सञ्चालन गरेको हो, परिसंघ जस्तो जिम्मेवार संस्थाले लामो समय कोरोनाबाट प्रभावित पर्यटन उद्योगको प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले नै अभियान सञ्चालन गरिएको हो । अभियानले भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक भिœयाउन पनि महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

सिएनआईका अनुसार भारत र बंगलादेश दु्रतरूपमा वृद्धि भइरहेको बजार हो । नेपालसँग हवाई सञ्जाल राम्रो र सहज पनि भएकाले यी देशका नागरिक अन्य मुलुकमा भ्रमण गर्नुभन्दा नेपालमा आउन सहज पनि छ तर उनीहरूलाई हाम्र्रो गन्तव्य, मौसमबारे जानकारी गराउनु पनि पर्छ । सोही उद्देश्यअनुरूप परिसंघले यो अभियान सञ्चालन गरेको हो ।

सन् २०१९ मा दुई करोड ६३ लाख बढी भारतीय अन्य मुलुकको भ्रमणमा गएको तथ्यांक छ । सोही अवधिमा २५ लाख बंगलादेशी नागरिक पनि अन्य मुलुकमा भ्रमणका लागि निस्किएको देखिन्छ । सिएनआईका उपाध्यक्ष राजबहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि नेपालको मौसम अनुकूल रहेकाले अभियानले उनीहरूलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा जस्तो अनुकूल मौसम अन्य कुनै पनि मुलुकमा छैन । कोरोनाका कारण दुई वर्ष बाहिर निस्किएनन् । भारत र बंगलादेशमा अहिले निकै गर्मी छ । त्यसैले उनीहरू नेपालको मौसममा रमाउन आउन यो अभियानले पक्कै आकर्षित गर्नेछ ।' सिएनआईका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका सिएनआईका नेटवर्कबाट पनि अभियान प्रवद्र्धन गरिने बताउनुभयो ।

सिएनआईले भारतमा अल इन्डिया एसोसिएसन अफ इन्डस्ट्रिज, फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिज, फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज, पिएचडी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ । त्यस्तै बंगलादेशको मेट्रोपोलिटिन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, र ढाका च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग पनि सहकार्य गर्दै आएको छ ।

अभियान यी संस्थामार्फत् पनि प्रवद्र्धन गरिने जोशीले जानकारी गराउनुभयो । सिएनआई पर्यटन समिति सभापति पम्फा धमलाले नजिकको छिमेकीबाट अभियान सञ्चालन गर्न लागिएको भन्दै अभियानले नेपालको पर्यटन प्रवद्र्धनमा निकै ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा सिएनआई पर्यटन समिति सदस्य अशोक पोखरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, नाटा अध्यक्ष रमेश थापा, सुरेश बुडाललगायतले अभियानले भारत, बंगलादेशमात्रै नभई अन्य मुलुकका पर्यटक पनि आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?