‘नेपाल डिजिटल रूपान्तरणतर्फ’

Read Time = 4 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रूपान्तरणको संघारमा रहेको दाबी गर्नुभएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन उहाँले नेपालमा पनि डिजिटल रूपान्तरण आधारशिला तयारी भएको बताउनुभयो । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क–२०७६ लागू गरेको र फ्रेमवर्क आर्थिक वृद्धिका लागि डिजिटल पहलकदमीले कसरी योगदान गर्न सक्छ भन्नेबारेमा मार्गदर्शन गर्ने मूल दस्तावेज भएको उहाँले बताउनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘फ्रेमवर्कले छोटो समयमा थोरै स्रोतसाधनले मुख्य चुनौती समाधान गर्न, नवीनतम उपाय पत्ता लगाउन र विश्व अर्थतन्त्रमा नेपाल सहभागी हुन प्राप्त अवसर पहिचान गर्न मार्गचित्र प्रदान गरेको छ ।’

फ्रेमवर्कले एक देश, आठ क्षेत्र एवं ८० डिजिटल कदमलाई सहभागी गराएको उल्लेख गर्दै उहाँले सरकारका अहिलेका क्रियाकलापमा डिजिटल जग बसाल्न केन्द्रित रहेको बताउनुभयो । मन्त्री कार्कीले विश्व सेवा जिम्मेवारी कोषको उपयोग गरेर सञ्चारमा नजोडिएकालाई तत्काल जोड्न, डिजिटल अर्थतन्त्रमा सहभागी हुन, व्यक्तिको क्षमता सुधार गर्न र डिजिटल सरकारको जग बलियो पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

‘दिगो विकासका लागि सञ्चारमा नजोडिएकालाई जोड्ने’ भन्ने यस वर्षको सम्मेलनको नारा कठिन भू-बनोट, गरिबी एवं डिजिटल साक्षरताजस्ता चुनौती भएको नेपालका लागि एकदमै सान्दर्भिक रहेको पनि उहाँले बताउनुभयो । नेपाल सरकारले नीतिगत सुधार र नयाँ कानुन निर्माणसँगै सन् २०२५ सम्ममा सबै क्रियाकलापमा डिजिटल प्रविधि लागू गर्ने उद्देश्य लिएको भन्दै मन्त्री कार्कीले डिजिटल रूपान्तरणमार्फत् नेपाली नागरिकलाई सशक्तीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सञ्चारमन्त्री कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार संघको आयोजनामा जुन ६ देखि १६ तारिखसम्म हुने सम्मेलनमा सहभागिताका लागि रुवाण्डामा रहनुभएको छ । नेपाली प्रतिनिधिमण्डलमा सञ्चार मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडालगायत रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?