प्राध्यापक, विद्यार्थी र कर्मचारी संख्यका दृष्टिले नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) अन्तर्गतको सबैभन्दा ठूलो विद्यापीठ वाल्मीकि विद्यापीठ गएको जेठ ३१ गतेदेखि ७१औं वर्षमा प्रवेश गरेको छ । एउटा संस्था सम्पूर्णरूपमा विकसित हुन आवश्यक समय यो विद्यापीठले पार गरिसकेको छ । हुन त वि.सं. २०४३ मा स्थापित नेसंविले स्थापनाको ३५ वर्षमात्रै पार गरेको छ तर पनि निकै पहिलेदेखि वाल्मीकि विद्यापीठ सञ्चालनमा रहेको थियो । महाविद्यालयका रूपमा र पछि त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन हुँदै आएको वाल्मीकि विद्यापीठ संस्कृत अध्ययनका लागि एक उत्कृष्ट केन्द्रका रूपमा परिचित छ, यद्यपि पछिल्ला समयमा केही समस्या देखा परेका छन् ।
७० वर्ष पठनपाठनमा व्यतीत गरेको संस्था एक सुसंगठित र सुव्यवस्थित संस्थाका रूपमा स्थापित हुनुपर्दछ भन्ने आम बुझाइ रहेको पाइन्छ । यही मेसो पारेर गत सप्ताहभर विविध रचनात्मक कार्यक्रम गर्न वाल्मीकि विद्यापीठ परिवार व्यस्त रहृयो । वाल्मीकि विद्यापीठका प्राचार्य डा.भागवत ढकाल निकै सक्रिय रहे भने उनलाई सबैजसो प्राध्यापक र कर्मचारी एवं विद्यार्थीहरूले साथ दिए । जन्मदिवस जेठ ३१ का दिनमा सत्यनारायणको पूजा लगाइयो भने उत्सव सप्ताहको अन्तिम दिनमा पुरस्कार वितरण एवं अवकाशप्राप्त कर्मचारीहरूलाई सम्मान गर्दै जन्मोत्सव सप्ताह सम्पन्न गरियो ।
विद्यापीठको त्यही शुभजन्मोत्सव मनाउने क्रममा विद्यार्थीहरूका बीचमा संस्कृत, नेपाली र अंग्रेजी भाषामा कविता एवं निबन्ध प्रतियोगिता समेत गराइएको थियो । निबन्ध प्रतियोगिताको शीर्षक भने नेपाल संस्कृत विश्वविद्यालयका समस्याहरू र समाधानका उपायहरू दिइएको थियो । सोही क्रममा विद्यार्थीहरूले निबन्धमा उल्लेख गरेका समस्याहरू र समाधानका उपायहरू नेसंविलाई उपयोगी होस् भन्ने उद्देश्यले यस लेखमा संश्लेषण गर्ने प्रयास गरिएको हो ।
नेसंवि हाम्रा धार्मिक मौलिक ग्रन्थहरूदेखि लिएर पौरस्त्य साहित्य पठनपाठन गराउने उद्देश्यले स्थापित विश्वविद्यालय हो । पूर्वीय वाङ्मयमा रहेका निधिहरूको अध्ययन, अनुसन्धान र खोज गर्ने जनशक्ति तयार पारी संस्कृत शिक्षाको संरक्षण एवं सम्बद्र्धन गर्नका लागि नै नेसंवि स्थापना गरिएको हो । अन्य विश्वविद्यालयहरूसँग विद्यार्थी संख्यामा प्रतिस्पर्धा गर्नु यसको काम होइन तर पनि विद्यार्थी संख्या कम हुँदै जानु भने चिन्ताको विषय हो ।
संस्कृत पढ्ने विद्यार्थीको संख्या यसै पनि कम हुने गरेकै थियो, त्यसमाथि दश वर्षे माओवादी द्वन्द्वले भए गरेका संस्कृत माध्यमिक विद्यालयहरूलाई साधारण माविमा परिणत गराएपछि यो विश्वविद्यालयमा आउने विद्यार्थीहरू स्वाभाविक रूपमा घट्न पुगे । त्यो विद्रोह समाप्त भएपछि पनि संस्कृत माविहरूले पुनर्जीवन प्राप्त गर्न नसकेको अवस्था छ । मुहान नै सुकेपछि तल खोलामा पानी बग्ने आश कसरी गर्न सकिन्छ र यद्यपि संस्कृत भाषा प्रशिक्षणका कक्षाहरू सञ्चालन गरेर विश्वविद्यालयले जेनतेन विद्यार्थी जुटाउँदै आएको छ ।
यस्ता समस्याहरू थुप्रै छन् । समस्याहरूको विश्लेषण गरी समाधान निकाल्नु पर्ने र विश्वविद्यालयलाई समस्यामुक्त बनाई संस्कृत अध्ययनको उदाहरणीय केन्द्र बनाउनुपर्ने आवश्यकता छ । पदाधिकारीहरू एकातर्फ रुमल्लिइरहेको पाइन्छ भने प्राध्यापक र विद्यार्थीहरूको पनि दौडाहा अन्यत्रै भएको पाइन्छ । यो आलेखमा नेसंविका समस्याहरूको विस्तृत व्याख्यान गर्न खोजिएको छैन, मात्र विद्यार्थीहरूले उल्लेख गरेका कुराहरूलाई देखाउन खोजिएको छ ।
समस्याहरू :
अव्यवस्थित पाठ्यक्रम :
नेसंविको पाठ्यक्रम भर्खरै परिमार्जन गरिएको छ । विगतको पाठ्यक्रमलाई अव्यावहारिक ठान्दै आइएकाले अहिले केही मात्रामा भए पनि व्यावहारिक बनाउने प्रयत्न गरिएको छ यद्यपि विद्यार्थीहरूले पूर्णरूपमा व्यावहारिक भएको ठान्न सकेका छैनन् ।
पाठ्यपुस्तक एवं पाठ्य सामग्रीको अभाव :
पाठ्यक्रम संशोधन गरिएपछि सो पाठ्यक्रम अनुरूपका पाठ्यपुस्तकहरू सजिलै प्राप्त हुनसकेका छैनन् । प्राचीन ग्रन्थहरूमा आधारित रहेर पठनपाठन गर्नुपर्ने भएकाले त्यस्ता प्राचीन ग्रन्थहरू बजारमा सर्वसुलभ नहुने र पुस्तकालयमा समेत यथेष्ट संख्यामा पाउन मुस्किल पर्दछ ।
पौराणिक अप्राविधिक शिक्षानीति :
घोकेर पढ्ने र घोकाएर पढाउने परम्परागत नीतिअनुरूप नै संस्कृत पठनपाठन चल्दैआएको छ । ग्रन्थमा भएको ज्ञानको व्यावहारिक–प्रायोगिक पक्षका बारेमा प्रयोगसहित पढाउने, देखाउने र बुझाउने शैलीको अभाव रहेको छ ।
समयमा परीक्षा सञ्चालन नहुनु र परिणाम नआउनु :
तोकिएको समयमा पठनपाठन पूरा गरी परीक्षा समयमै सञ्चालन हुन नसक्नु र परीक्षा भइसकेपछि पनि तोकिएको समयमा परीक्षा परिणाम प्रकाशित हुन नसक्नु पनि समस्याका रूपमा रहेको छ ।
प्रशासनको कमजोरी-सुस्त प्रशासन :
जुनसुकै कुराको पनि उचित व्यवस्थापन हुनसकेको पाइँदैन । सुस्त प्रशासनका कारण समयमै निर्णय हुन नसक्दा विश्वविद्यालयका हरेका गतिविधि पछि पर्दै गएका छन् ।
प्राज्ञिक अन्तक्र्रियामा कमी :
विश्वविद्यालय प्राज्ञिक अन्तक्र्रियाको थलो हुनुपर्ने हो तर प्राध्यापक-प्राध्यापकका बीचमा र विद्यार्थी-विद्यार्थीका बीचमा साथै प्राध्यापक-विद्यार्थीका बीचमा प्राज्ञिक छलफल, अन्तक्र्रिया र गोष्ठीहरू अत्यन्तै कम हुने गरेका छन् ।
अनुशासनको अभाव :
सबैभन्दा ठूलो समस्यका रूपमा नेसंविमा अनुशासनको अभाव रहेको पाइन्छ । पदाधिकारी, विद्यार्थी, प्राध्यापक, कर्मचारीहरू सबैले अनुशासनको पूर्ण पालना गरेको पाइँदैन ।
गतिशीलताको अभाव :
संस्था समयको प्रवाहसँगै गतिशील हुनुपर्ने हो तर जडसूत्रवादी परम्पराबाट सञ्चालित हुँदै आएको छ । पदाधिकारी, प्राध्यापक र कर्मचारीहरू नयाँ योजना बुन्नुको सट्टा परम्परागत रूपमै सञ्चालित भइरहनु र विद्यार्थीहरू पनि गुरुले पढाएको कुरा परीक्षामा लेख्नमा मात्रै सीमित भएको पाइन्छ ।
उत्तरदायी अनुगमन निकायको अभाव :
विश्वविद्यालयका सम्बद्ध पक्षहरूले तोकिएको जिम्मेवारी पूरा गरे नगरेका सन्दर्भमा अनुगमन गर्न उपयुक्त निकाय समेत विश्वविद्यालयमा छैन । नियम पालना गर्न लगाउने निकाय र परिपाटीको अभाव छ ।
प्राध्यापकहरूको उदासीन प्रवृत्ति :
कतिपय प्राध्यापकहरू विश्वविद्यालयप्रति उदासीन रहने र विश्वविद्यालयभन्दा बढी बाहिर जिम्मेवार रहेको पाइनु पनि विकराल समस्यका रूपमा रहेको छ ।
राजनीतिको प्रभाव :
विश्वविद्यालयका पदाधिकारीहरू, प्राध्यापकहरू, कर्मचारीहरू र विद्यार्थीहरू सबै कुनै न कुनै राजनीतिक दलसँग आबद्ध हुनु र आफ्ना पक्षकाले गरेको जस्तासुकै काम पनि स्वीकार्य र अर्को पक्षले गरेको राम्रो कामको पनि विरोध गरिनुले विश्वविद्यालयलाई अग्रगामी हुनबाट रोकेको छ । अर्को पक्षको विरोधका लागि औचित्य स्थापित हुन नसक्ने कुरामा तालाबन्दी भइहाल्नु प्रमुख समस्या नै हो ।
सक्षमको सट्टा पार्टीका कार्यकर्ताहरू शिक्षक र कर्मचारी नियुक्त हुनु :
विश्वविद्यालयमा सर्वप्रथम भएका विद्यार्थीहरूले मौका पाउनुको सट्टा दलगत आधारमा भागबण्डा गरी शिक्षक र कर्मचारीमा नियुक्ति दिने परिपाटीले विश्वविद्यालयको गुणस्तरलाई घटाउँदै लगेको छ ।
रोजगारको क्षेत्र :
चिना-टिप्पन बनाउनेदेखि कर्मकाण्डका कामहरूले गर्दा संस्कृत पढेको कोही पनि आजका मितिसम्म भोकै बस्नु परेको त छैन तर पनि रोजगारीका लागि विशिष्टीकृत क्षेत्र नहुनु एउटा समस्याका रूपमा रहेको छ ।
विद्यार्थीलाई संस्कृतको ज्ञान दिन नसक्नु :
विश्वविद्यालय संस्कृत पढाउन खुलेको हो तर विद्यार्थीहरूलाई संस्कृतका बारेमा पर्याप्त ज्ञान दिन नसक्नु, संस्कृत बोल्ने, लेख्ने, पढ्ने र बुझ्ने क्षमता भएका विद्यार्थीहरू उत्पादन गर्न नसक्नु पनि विश्वविद्यालयको कमजोरी हो ।
समाधानका उपाय :
अबको संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्दछ । परम्परागत रूपमा हुर्किएका प्राध्यापकहरूलाई तालिमको व्यवस्था गरी आधुनिक प्रविधिहरूसँग जोडेर आफूले पढेको ज्ञान वर्तमान समयमा कसरी व्यावहारिक हुनसक्दछ भन्ने ज्ञान दिलाउन सक्षम बनाउन आवश्यक छ ।
ज्यौतिष शिक्षा कम्प्युटरका माध्यमबाट पढाइ आधुनिक सिद्धान्तसँग तुलनात्मक अध्ययन गर्नसक्ने विद्यार्थी उत्पादन गर्ने लक्ष्य विश्वविद्यालयले राख्नु पर्दछ । पुराना शास्त्रलाई वर्तमान युगसँग जोडेर हाम्रा पूर्वीय वाङ्मयका ज्ञानलाई उपयोगी सिद्ध गर्न सक्नुपर्ने चुनौती संस्कृत क्षेत्रले सामना गर्नै पर्दछ । घोकेर पढ्ने र रटेर परीक्षा दिने परिपाटीलाई बदल्दै अनुसन्धानमूलक पद्धतिको विकास गर्नुपर्दछ । विद्यार्थीको पाठ्यक्रममा रहेका तर अप्राप्य ग्रन्थहरूको पुनर्मुद्रण, फोटोकपी या अन्य उपायद्वारा व्यवस्था गर्नुपर्दछ ।
राजनीतिक दल सम्बद्ध पदाधिकारी नभई ज्ञानका आधारमा नियुक्त गर्ने परिपाटीको विकास हुन जरुरी छ । विशेषगरी शिक्षकहरू नियुक्त गर्दा योग्यतालाई नै आधार बनाइनुपर्दछ न कि राजनीतिलाई । नेसंवि संस्कृत नजान्ने र संस्कृतका ग्रन्थहरूबीचको पुल बन्नसक्नुपर्दछ । संस्कृतको विरोध गर्दै गरेकाहरूलाई यसको गरिमाका बारेमा बुझाएर नेपाल र नेपालीका लागि संस्कृत अपरिहार्य छ भन्ने प्रमाणित गर्न सक्नु नै नेसंविको सफलता हुनेछ । आफ्ना निबन्धमार्फत् विश्वविद्यालय र विश्वविद्यालय सम्बद्ध पक्षहरूलाई जागरुक गराउन प्रयत्न गर्ने विद्यार्थी भाइबहिनीहरूलाई धन्यवाद !
यो प्रकाशित लेखवाट सम्पूर्ण पाटाहरू उदाङ्गो भएको छ। अवलम्बन गर्ने सोच बनाएमा नेसंविले मोक्ष प्राप्त गर्दछ कि ।