संसद्मा पुग्यो न्यायालयको घुस अडियो प्रकरण, न्यायालय भ्रष्टाचारको अखडा बनेको सांसदहरूको टिप्पणी

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच मुद्दा मिलाउने सम्बन्धमा घुसको लागि गरिएको संवादको विषय संसद्मा प्रवेश गरेको छ । उक्त संवादको अडियो मंगलबार साँझ सार्वजनिक भएको थियो । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले घुस प्रकरणसम्बन्धी उक्त अडियोको विषय उठाएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद लीलादेवी सिटौलाले न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोसिएसनका पूर्व-कोषाध्यक्षसमेत रहनुभएका अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको भनिएको संवादको विषयप्रति आपत्ति जनाउनुभयो । अन्य क्षेत्रजस्तै न्यायालय पनि सेटिङमा चलेको प्रति आक्रोश पोख्दै सांसद सिटौलाले भन्नुभयो, ‘नेपालको न्यायालय कस्तो छ भन्ने जनताको आँखाले प्रष्टै देख्ने गरी निस्कियो । दुःखका साथ भन्नुपर्छ, यो देशमा सरकारी निकायमा रहनेहरू, राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेका छन् । देश डुबिरहेको छ । मुद्रा सञ्चितिको स्थिति बिजोग छ । देश टाट पल्टिएको छ । अदालत सेटिङमा घुस खान्छ । यो प्रवृत्तिविरुद्ध सिंगो संसद् एकजुट भएर उभिनुपर्छ ।’

न्यायालयमा जात्रा चलिरहेको आरोप
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले घुस खाएर मुद्दा मिलाउनको लागि गरिएको संवादको अडियो बजारमा आएको प्रति लक्षित गर्दै न्यायालयमा जात्रा चलेको र न्यायालय भ्रष्टाचारको अखडा बनिरहेको आरोप लगाउनुभयो । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले न्यायालयका बेथितिबारे संसद्मा आवाज उठाउनुपर्ने बताउँदै भन्नुभयो, ‘न्यायालयमा जुन जात्रा चलिराखेको छ । भ्रष्टाचारको अखडा न्यायालय बनेको छ । अब हामी बन्धक भएर बस्नुहुँदैन । अब पनि न्यायालयको बारेमा आवाज उठाउन सकेनौँ भने, त्यहाँका विचाराधीन मुद्दाबारे बहस गर्न सकेनौँ भने फेरि हामी पनि बन्धक नै हुन्छौँ । हिजोआजको जात्रा सुनिरहेकै छौँ । हामी जनताका प्रतिनिधि यो जात्रा टुलुटुलु हेरिरहन सक्दैनौँ । व्यवस्थापिका टुलुटुलु हेरिबस्न सक्दैन । यसमा सबैको ध्यान जानेछ ।’

न्यायाधीश र अधिवक्तालाई पक्राउ गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई करोड घुसको डिल गर्ने न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेललाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग गरेको छ । राप्रपाको सुशासन विभागका प्रमुख तथा प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले घुस काण्ड सार्वजनिक भएसँगै काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला र अधिवक्ता पोखरेललाई पक्राउ गरी थप अनुसन्धान गर्न न्याय परिषद्मा निवेदन दर्ता गरेको छ । प्रवक्ता शाहीले दुवै जनालाई तत्काल पक्राउ नगरे आन्दोलनमा उत्रने र सर्वोच्चमा रिट दायर गर्ने चेतावनी दिनुभयो ।

छानबिन भइरहेको छ : कानुनमन्त्री कोइराला
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानबिन भइरहेको बताउनुभएको छ । मन्त्री कोइरालाले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति नै गठन गरिएको स्पष्ट पार्नुभयो ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले न्यायालय सुधारका लागि सरकारले अभियान नै सञ्चालन गरिएको दाबी गर्नुभयो । न्यायाधीशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गराउनुभयो । मन्त्री कोइरालाले न्यायालय भित्रको गिर्दो आस्थालाई जोगाउन सरकार लागिपरेको पनि बताउनुभयो ।

काठमाडौंमा बढ्दो हैजा रोकथाम गर्ने सरकारको योजना माग
सांसदहरूले काठमाडौंमा देखिएको हैजा रोकथामका लागि सरकारको योजना माग गरेका छन् । काठमाडौंमा अहिलेसम्म चार जनामा हैजा संक्रमण पुष्टि भएको प्रति ध्यानाकर्षण गराउँदै सांसदहरूले हैजा रोकथाममा सरकारको योजनाबारे सदनमा जानकारी दिन माग गरेका हुन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद बिनादेवी बुढाथोकीले हैजाको रोकथाम र नियन्त्रणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै भन्नुभयो, ‘फोहोर र प्रदूषणले काठमाडौंमा हैजाका बिरामी भेटिए । स्वास्थ्यकर्मीले हैजाको जोखिममा छ भनेका छन् । यसको रोकथाम र नियन्त्रणमा ध्यान दिन आग्रह गर्छु ।’ अर्का सांसद सरिता न्यौपानेले फोहोरले हैजा बढेको भन्दै सरकारसँग रोकथामको योजना माग गर्नुभयो ।

महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
सांसदहरूले दिनप्रतिदिन बढ्दो महँगीले जनताको ढाड नै भाँचिएको भन्दै महँगी नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सत्तारूढ दल नेकपा एकीकृत समाजवादीकी सांसद समिना हुसेनले महँगीले जनताको ढाड सेकिएको मात्रै नभई, ढाड नै भाँचिएको भन्दै श्रमिक र निम्न आय भएका वर्गहरूको चुलो नबल्ने स्थितिप्रति सरकारको ध्यानाकर्षण गराउँदै भन्नुभयो, ‘पेट्रोलियम पदार्थको मूल्य छिटोभन्दा छिटो कम गर्दै जनजीवन सहज बनाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।’

रुस र युक्रेनको द्वन्द्व देखाएर जनतालाई अन्याय गर्न पाइँदैन
सांसदहरूले पेट्रोलियम पदार्थ तथा खाद्यवस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग माग गरेका हुन् । सांसद लक्ष्मी चौधरीले इन्धन लगायतका सामग्रीमा मूल्यवृद्धि भएर सर्वसाधारणको जीवन जोगाउन धौ-धौ भइरहेको भन्दै रुस र युक्रेनको द्वन्द्व देखाएर नागरिकलाई अन्याय गर्न नपाइने र मूल्यवृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गर्नुभयो । सांसद सरवत आरा खानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनताले दुःख पाएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै भन्नुभयो, ‘पेट्रोलियम पदार्थ, एलपी ग्यास तथा सवारी भाडादर बढेकोले निम्न र मध्यम वर्गका जनता महँगीको मारमा परेका छन् । सरकारले यो समस्याको समाधान खोज्नुपर्छ । मूल्यवृद्धि घटाउनुपर्छ ।’
सांसद हिरा गुरुङले महँगीले ढाड सेकिसकेको भन्दै नागरिकलाई कति सास्ती दिने हो ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । बजारमा मनोमानी दरभाउ बढ्दो क्रममा रहँदा पनि सरकार मौन बसेको भन्दै सांसद गुरुङले आक्रोश पोख्नुभयो ।

पेट्रोलियम पदार्थको कर हटाएर सहुलियत दिन माग
सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद सुजाता परियारले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा जनताको चुलो बल्न छाडेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर जनतालाई सहुलियत दिन माग गर्दै भन्नुभयो, ‘किन यो स्तरको मूल्यवृद्धि भइरहेको छ ? भुटान,पाकिस्तानमा भन्दा नेपालमा किन महँगो ? पेट्रोलियम पदार्थमा लगाइएको कर हटाउँदा राम्रो हुन्छ । सामान्य नागरिकको जीवन संकटमा परेको छ । कर हटाएर सहज गरिदिनुहोस् ।’

महँगीविरुद्ध एमालेको जनसंगठनले सडक आन्दोलन गर्ने
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका जनसंगठनहरूले महँगी र कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् । जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मूल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मूल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दालाई लिएर आन्दोलन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार, मूल्यवृद्धि र कालोबजारीविरुद्ध सडक संघर्ष गर्न जनसंगठनहरूलाई निर्देशन दिएको जानकारी दिँदै अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले भन्नुभयो, ‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौँ । अरू संगठनले पनि कार्यक्रम ल्याउनेछन् । मिल्ने ठाउँमा संयुक्त कार्यक्रम गर्ने, नमिल्ने ठाउँमा छुट्टै कार्यक्रम हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?