एन्फा महासचिवमा राई र कोषाध्यक्षमा जोशी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रविन्द्र जोशी नियुक्त हुनुभएको छ । नवनिर्वाचित एन्फा केन्द्रीय कमिटीको पहिलो बैठकले राईलाई महासचिवमा तथा जोशीलाई कोषाध्यक्षमा नियुक्त गरेको हो । एन्फाको विधानमा महासचिव र कोषाध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ ।

राई यसअघिको कार्यसमितिमा एन्फा सदस्यसँगै प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो । तर, तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पासँग कुराकानी नमिलेपछि भने उहाँले राजीनामा दिनुभएको थियो । यस्तै जोशी यसअघिको कार्यसमितिमा कोषाध्यक्ष नै हुनुहुन्थ्यो । यस्तै नयाँ कार्यसमितिले अन्तर्राष्ट्रिय प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको छ ।

नवनिर्वाचित कार्यसमितिले बुधबार नै पद तथा गोपनीयताको सपथ लिनुका साथै उक्त निर्णय गरेको हो । गत असार ६ गते भएको एन्फा निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेम्वाङले ४५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी शेर्पाले ३९ मत पाउनुभएको थियो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी (कुमार), महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा तथा सदस्यहरूमा मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ्थापा रहनुभएको छ ।

यस्तै, नवनिर्वाचित कार्यसमितिले प्रशिक्षक विवादमा राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णयसमेत गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमको व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्दसहित १० खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर राख्नुभएको थियो ।

उहाँले खेलाडीलाई समर्थन गरेको आरोपमा नियमित कप्तान किरण चेम्जोङलाई समेत राष्ट्रिय टिमबाट बाहिर नै राख्नुभएको थियो । एन्फा बैठकले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टिमबाट बाहिर रहेका खेलाडीलाई फिर्ता बोलाउने औपचारिक निर्णय गरेको हो ।
प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अञ्जन विष्टलाई टिमबाट निकालिएको थियो । एन्फा चुनावमा नेम्वाङले मुख्य एजेन्डा बनाएको यस विषयको पहिलो बैठकले सम्बोधनसमेत गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?