वाम गठबन्धन वा एकता : सार्थक प्रयास कि निरर्थक लहड ?, वामदेवको प्रस्तावमा प्रचण्ड-झलनाथ सकारात्मक, ओली मौन

हिमालय टाइम्स
Read Time = 9 mins

डिबी शर्मा/हिटा
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्व-सन्ध्यामा फेरि वाम गठबन्धनको बहस हुन थालेको छ । स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठूला कम्युनिष्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका हुन् । स्थानीय तहको चुनाव सकिएको र आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावको पूर्व-सन्ध्यामा विभाजित कम्युनिष्टहरू फेरि एक भएर चुनावमा जानुपर्ने बहसमा लागेका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन र पछि एकता भएको थियो । तर, तीन वर्षमै विभाजित भयो ।

२०७४ सालमा वाम गठबन्धनलाई प्राप्त मतका आधारमा फेरि पनि गठबन्धन गर्नुपर्ने मत कतिपयको छ । उनीहरू जुनसुकै हालतमा पनि चुनावमा कम्युनिष्टहरू एक भएर जानुपर्ने धारणा राखिरहेका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनमा देशव्यापी गठबन्धन अभ्यास गरिएको थियो । तर, त्यो वैचारिक रूपमा भने स्पष्ट थिएन । चुनावमा केही वामपन्थी दलहरू कांग्रेसको नेतृत्वमा गठबन्धन बनाएर चुनावमा भाग लिएका थिए । एमालेले पनि सक्ने जति साना दलसँग केही ठाउँमा गठबन्धन गरेको थियो ।

आगामी निर्वाचनमा भने विचार मिल्नेहरू एक ठाउँमा आउनुपर्ने कम्युनिष्ट नेताहरूको मत छ । यसबारे अधिकांश कम्युनिष्ट नेताहरूको पनि समान धारणा छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले नेता घनश्याम भुसालले सार्वजनिक रूपमै वाम एकता आजको आवश्यकता भएको सार्वजनिक रूपमै बताउँदै आउनुभएको छ । दुई धारमा विभाजित खनाल र भुसाल मात्रै होइन बेलाबेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ‘एमालेसँग मिल्न सक्छौँ’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिनुहुन्छ ।

नेकपा (एकता राष्ट्रिय अभियान) दल घोषणा गरेर वामदेव गौतम वामपन्थीहरूलाई एक बनाउने अभियानमै हुनुहुन्छ । वाम गठबन्धनबारे अधिकांश कम्युनिष्ट नेताहरू एकमत रहे पनि कुनै मिलनबिन्दु भने फेला परेको छैन । अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औँल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ ।

दौडधुपमा नेताहरू
पछिल्लो समय वाम गठबन्धनका पक्षमा रहेका नेताहरूको दौडधुप बढेको छ । यसमा अग्र स्थानमा हुनुहुन्छ नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतम । एकता राष्ट्रिय अभियान गठन गरेसँगै गौतम राजनीतिक भेटघाटमा सक्रिय हुनुभएको हो । उहाँले मूलधारका सबै कम्युनिष्ट नेताहरूसँग एक्लाएक्लै भेटवार्ता गर्नुभएको छ । गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । उहाँले बिहीबार प्रचण्ड, ओली र नेपालसँग भेटवार्ता गर्नुभएको हो । केही दिनअघि माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि एमाले अध्यक्ष ओलीलाई भेट्नुभएको थियो ।

उसो त तीन दलका दोस्रो तहका नेताहरू पनि आन्तरिक रूपमा भेटघाटमा रहेको बताइन्छ । शुक्रबार एमाले अध्यक्ष ओलीले नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेसँग पनि भेटवार्ता गर्नुभएको छ । अध्यक्ष विजुक्छेलाई भेट्न ओलीसहित एमाले महासचिव शंकर पोखरेल, संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङ, नेता कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू उहाँकै निवास पुग्नुभएको थियो । पत्नीशोकमा रहनुभएका विजुक्छेलाई समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गर्न गएको बताइए पनि वाम गठबन्धनको बहस भइरहेको बेला यो भेटलाई पनि कतिपयले अर्थपूर्ण रूपमा हेरेका छन् ।

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने सवालमा सबै सकारात्मक : गौतम
वाम गठबन्धनका लागि दौडधुप गरिरहनु भएका नेता वामदेव गौतमले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने सवालमा सबै सकारात्मक रहेकोे दाबी गर्नुभएको छ । ओली, प्रचण्ड र नेपालसँगको भेटपछि वाम गठबन्धनका पक्षमा सकारात्मक देखिएका गौतमले बताएको अभियानका प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिनुभयो । ‘मैले तीन पार्टीका अध्यक्षलाई भेटेँ । मेरो उद्देश्य कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नु हो,’ गौतमलाई उद्धृत गर्दै पाण्डेले हिमालय टाइम्ससँग भन्नुभयो, ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउने सवालमा सबै सकारात्मक नै देखिनुभयो । प्रचण्डजी र माधव नेपालजीले सबै प्रस्तावबारे सकारात्मक रहेको बताउनुभयो । ओलीजीले आन्तरिक छलफल गर्ने बताउनुभयो ।’ विशेषगरी तीनवटा प्रस्ताव लिएर विभिन्न कम्युनिष्ट पार्टीका नेताहरूसँग छलफलमा रहेको उहाँले बताउनुभयो ।

राजनीतिमा असम्भव केही हुँदैन, तर तत्कालै वाम गठबन्धनमा एमालेको कुनै रुचि छैन : भट्टराई
एमाले प्रमुख सचेतक विशाल भट्टराई राजनीतिमा कुनै पनि कुरा असम्भव नहुने बताउनुहुन्छ । राजनीतिमा अनेक सम्भावना हुने भन्दै वाम गठबन्धन पनि असम्भव नरहेको उहाँले बताउनुभयो । तर, एमाले तत्कालै कुनै गठबन्धन वा एकताको पक्षमा नरहेको उहाँको भनाइ छ । ‘राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन । राजनीति अनेकन सम्भावनाको खेल हो । त्यसकारण वाम गठबन्धन असम्भव हुने त कुनै भएन,’ उहाँले भन्नुभयो, ‘तर, एमाले तत्कालै कुनै गठबन्धनको पक्षमा छैन । केही लहडी मान्छेहरू वाम एकताको कुरा गरिरहेका छन् । बेमौसमको बाजा बजाउन प्रयास गरिरहेका छन् । अहिले तत्कालका लागि सम्भावना छैन । एमालेले रुचि राखेको छैन ।’

प्रयास सकारात्मक भए पनि तत्काल सम्भव छैन : शर्मा
नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्मा वाम गठबन्धन वा एकताको प्रयास सकारात्मक भए पनि तत्काल कुनै सम्भावना नरहेको बताउनुहुन्छ । अहिले भइरहेको प्रयासले कुनै बेला वाम घटकलाई एक ठाउँमा ल्याउन मद्दत पुग्ने उहाँको भनाइ छ । ‘वाम एकता वा गठबन्धन गर्नुपर्छ भन्ने प्रयत्न बेठिक त होइन । तर, तत्काल एकताको सम्भावना देख्दिनँ,’ उहाँले भन्नुभयो, ‘तर, यो पहलकदमीले भोलि कुनै समय एक हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।’

आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन नै कायम रहने उहाँले बताउनुभयो । ‘राजनीतिक तरलता छ । मोटामोटी रूपमा आगामी निर्वाचनसम्म अहिले बनेको गठबन्धन नै रहन्छ र जान्छ भन्ने पार्टीको दृष्टिकोण छ,’ उहाँले भन्नुभयो, ‘वाम गठबन्धनको तत्काल सम्भावना छैन । सम्पूर्ण पक्षमा निषेध गर्न त सकिँदैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?