कृषिप्रधान देशमै ४९ अर्बको खाद्यान्न आयात हुनु अशोभनीय स्थिति हो : ओली

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवको राजीनामा माग गर्नुभएको छ । शनिबार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको भन्दै राजीनामा माग गर्नुभएको हो । ‘झण्डा हल्लाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल, बिउ देऊ भनेर बनाएको ? कृषिमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ के हेरेर बसेको ?,’ ओलीले भन्नुभयो ।

कृषि मन्त्रीले किसानका लागि काम गर्नुपर्ने, किसानको समस्या हेनुपर्ने तर, अहिलेका कृषि मन्त्री भने झण्डा हल्लाउन मात्रै मन्त्री भएको ओलीले बताउनुभयो । सरकारले किसानको आवाज नसुनेको भन्दै सरकारले सुन्ने गरी आफ्ना कुरा भन्न उहाँले किसानहरूलाई भन्नुभएको थियो ।

ओलीले किसानहरूलाई आन्दोलनका लागि उक्साउँदै भन्नुभएको थियो, ‘आफ्नो समस्या सुनाउन तपाईंहरू दृढ हुनुपर्छ । सरकारले जुन भाषामा सुन्छ त्यही भाषामा सुनाउन तयार हुनुपर्छ । माग पत्र दिँदा सुनेन भने उसले सुन्ने जुन भाषा हो त्यही भाषा प्रयोग गर्नुपर्छ ।’
ओलीले आफ्नो सरकारपछि मात्रै ४९ अर्बको खाद्यान्न आयात कसरी भयो ? भन्ने प्रश्न गर्नुभएको छ । ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषि क्षेत्रमा लागे पनि यस्तो अवस्था सिर्जना किन भयो ? भन्ने प्रश्न उहाँले गर्नुभयो । ‘नेपाल जस्तो ठाउँमा किन हामीले सरकार छोडेपछिको मात्रै हिसाब गर्दा ४९ अरबको चामल आयात कसरी भयो ? कृषिप्रधान देश ६० प्रतिशतभन्दा बढी जनता कृषिमा संलग्न छन्,’ ओलीले भन्नुभयो, ‘यस्तो अवस्थामा कृषिप्रधान देशमा यस्तो उर्बर देशमा जहाँ यति हिमाल, नदी, नाला, उर्बर फाँटहरू छन् । जहाँको जनसंख्या तीन करोडभन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौं एक वर्षमा ।’ यो अशोभनीय भएको उहाँले बताउनुभयो । ‘यो अत्यन्तै अशोभनीय स्थिति हो । यसकारण कि उपयुक्त नीतिका साथ हामी कृषिको आधुनिकरण गरेर, कृषिको व्यवसायीकरण गरेर र कृषि क्षेत्रमा आजको समयअनुसार चाल्नुपर्ने नीति साथ अगाडि बढ्न सकेनौँ,’ उहाँले भन्नुभयो ।

ओलीले बढी मात्रा दूध उत्पादन भए दूध प्रयोग गरेर चकलेट उद्योग खोल्न वा पाउडर दूध बनाउन आग्रह गर्नुभयो । उहाँले मिल्क होलिडेको नाममा किसानले उत्पादन गर्ने दूध खेर जान नदिन आग्रह गर्नुभयो ।

उहाँले व्यंग्य गर्दै भन्नुभयो, ‘के हो मिल्क होलिडे भनेको ? भैँसीलाई सम्झाउन, गाईलाई सम्झाउन मिल्क होलिडे । किसानलाई सम्झाएर हुन्छ ? के हो मिल्क होलिडे भनेको ? मिल्क होलिडे भने दूध दुहेर फ्याँक भनेको हो कि दूध दुहुँदै नदोई साँच भनेको हो ? मिल्क होलिडे भनेको त भैँसीले बुझ्नुप¥यो नि । गाईले बुझ्नुपर्‍यो आज छुट्टी छ दूध नदेऊ भनेर । बुझ्छ त्यसले ? अनि यो दूध खेर फाल भनेको हैन ? डेरीले दूध किन्ने चकलेट फ्याक्ट्री राखे हुँदैन । पाउडर फ्याक्ट्री राखे हुँदैन ?’

अध्यक्ष ओलीले पाउडर फ्याक्ट्री खोलेर मिल्क होलिडेलाई समाप्त पार्न आग्रह गर्नुभयो । उहाँले पाँच दिन दूध बेच्ने दुई दिन पोख्ने काम हुन नसक्ने बताउनुभयो । उहाँले मिल्क होलिडे भनेको दिन भकारो सोहर्नुपर्दैन भैँसीको हेरविचार गर्न पर्दैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले किसानले उत्पादन गरेको दूध खेर नजाने कुरामा ध्यान दिँदै दूधबाट बन्ने विभिन्न वस्तुको उत्पादन गर्न आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?