पहिरोमा बेपत्ता दुईजनाको शव फेला

हिमालय टाइम्स
Read Time = 2 mins

पाँचथर । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका-७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ-७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको थियो । रुपलालकी श्रीमती ३८ वर्षीय गोमा मगर र उनकी भतिजी १९ वर्षीय एलिसा मगरको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

शुक्रबार राति १२ः३० बजेबाट स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले बेपत्ताको खोजी थालेका थिए । स्काभेटरको सहायताले पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको हो ।

रुपलालका तीन सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको र छोरा र कान्छी छोरी अध्ययनकाेलागि झापामा थिए । पहिरो गएका समय रुपलालकै घरमा रहेका उनका काका दलप्रसाद मगर भने उच्छिटिएर बाँच्न सफल हुनुभएको थियो ।

घरभन्दा करिब ३०० मिटर माथिबाट पहिरो आएको स्थानीयवासीले बताएका छन् । वर्षा लाग्नुअघि नै सम्पन्न हुनुपर्ने सडक निर्माणको कार्य समयमा सम्पन्न नहुँदा पहिरो गएको स्थानीयवासीको भनाइ छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?