एसपिपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्र पठाइएको छैन : परराष्ट्र मन्त्रालय

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । परराष्ट्र मन्त्रालयलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम बाँकी रहेको स्पष्ट पारेको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सो प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उहाँले बताउनुभएको हो । अध्ययन भइसकेपछि मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयन हुनेमा भने ढुक्क हुन पनि पत्रकारहरूको जिज्ञासालाई सम्बोधन गर्दै उहाँले आग्रह गर्नुभयो ।

‘एसपिपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन । अब हामीलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ । तर, अब हामी के छ भने परराष्ट्र मन्त्रालयले काम गर्दाखेरि खरो अध्ययन गरेर, सबै कुराहरू स्टडी गरेर मात्रै त्यसको पत्राचार गर्नुपर्ने भएकाले अहिले त्यसलाई अध्ययन गर्ने क्रममै छौँ’, उहाँले भन्नुभयो ।

प्रवक्ता लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको पनि बताउनुभयो । पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथि मितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यमहरूलाई जानकारी दिने स्पष्ट पार्नुभयो । उहाँले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमणको कुरा चलिराखेको छ । अपेक्षित छ यो भ्रमण । अब यसको चाहिँ तपाईंहरूलाई थाहा नै छ । निमन्त्रणा गर्ने प्रक्रिया हुन्छ । त्यसलाई स्वीकार गर्ने पनि प्रक्रिया नै हुन्छ । सबै कुरा तयारी पुगेपछि तिथि मितिको घोषणा गर्ने एउटा प्रक्रिया छ । उपयुक्त समयमा यसका जानकारी यहाँहरूलाई दिनेछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?