लागूऔषध सेवनविरुद्धको अभियानमा लाउरे

Read Time = 6 mins

गोपिकृष्ण चापागाईं/हिटा
काठमाडौं । लोकप्रिय र्‍यापर आशिष राना (लाउरे) लागूऔषध सेवन गर्दा गर्दै पोखराबाट पक्राउ परेपछि अहिले ५० हजार रुपैयाँमा धरौटीमा छुटिसक्नुभएको छ । ५६ दिन प्रहरी हिरासतमा बस्नुभएका लाउरेले अहिले लागूऔषध सेवनविरुद्धको अभियान नै चलाउनु भएको छ ।

प्रहरीले लाउरेसहित चारजनालाई पुस १४ गते राति ७ बजे पोखरा महानगरपालिका-८ स्थित जाल्पारोडबाट पक्राउ गरेको थियो । उहाँँसँगै पोखरा-२१ घर भएका ३९ वर्षीय, ध्रुवबहादुर थापा, रूपा गाउँपालिका-७ घर भएका ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र स्याङ्जा भीरकोट नगरपालिका घर भई पोखरा-८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरुङ पक्राउ पर्नु भएको थियो । उहाँहरूमाथि ब्राउन सुगर कारोबार गरेको आरोप छ । उहाँहरूबाट १३.०१ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

लाउरेको केस नम्बर ४२०, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागालगायत गीतहरू चर्चित छन् । उनले ताण्डव चलचित्रमा पनि अभिनय गर्नुभएको छ ।

१३ वर्षसम्म लागूऔषधको दुव्यवर्सनमा
लाउरेले आफूले पछिल्लो १३ वर्षदेखि लागूऔषध सेवन गर्दै आएको बताउनुभयो । अहिले भने प्रहरी हिरासतबाट बाहिर आइसकेपछि पूर्णरूपमा लागूऔषधको दुव्यवर्सनबाट मुक्त भएको जानकारी गराउनुभयो । मंगलबार आफ्नो ‘बिरामी’ बोलको गीत सार्वजनिक कार्यक्रममा हिमालय टाइम्ससँग कुरा गर्दै लाउरेले ५६ दिनको प्रहरी हिरासतको बसाइँले आफ्नो जीवनमा परिवर्तन आएको जानकारी गराउनुभयो ।

‘प्रहरी हिरासतमा बस्दा लागूऔषध पाउने कुरा भएन । दालभात खाएरै बसियो । र प्रहरीबाटै समयसमयमा मोटिभेसल स्पिच हुन्थ्यो । त्यसले गर्दा पनि आफूलाई परिवर्तन गर्न सकियो’, लाउरेले भन्नुभयो, ‘प्रहरीले पनि मलाई धेरै सहयोग गरेको छ । आज पूर्णरूपमा लागूऔषध छाड्न सक्नुमा प्रहरीको ठुलो भूमिका छ ।’

१३ वर्षसम्म लागूऔषध सेवन गर्दा घर परिवारसँगको विश्वास पनि आफूले गुमाएको राउरेको भनाइ छ । उहाँँअघि भन्नुहुन्छ, ‘१३ वर्षदेखि मैले परिवारसँगको विश्वास तोडेको हुन्छ । अहिले नै मलाई परिवारले पक्कै विश्वास गर्नुहुन्न होला । भर्खर लागूऔषध छाडेको ८ महिना पुगेको छ । यति समयमा पूर्णरूपमा पक्कै विश्वा गर्ने कुरा हुँदैन । किनकी वर्षौंसम्म परिवारभित्र राम्रो सम्बन्ध राख्न सकिन होला । झण्डै तीन वर्षअघिको कुराहो । मेरो हजुरआमाको निधनको समयमा समेत मैले लागूऔषध सेवन गरेर बसेको थिएँ । परिवारका अन्य सदस्यको रुवाबासी थियो तर मलाई केही मतलब नै लागेन । अहिले निकै दुःख लाग्छ ती दिन सम्झिँदा ।’

अभियान नै सुरु गर्दै
लाउरेले अब लागूऔषध सेवनविरुद्धको अभियान नै सुरु गरेको बताउनुभयो । अझै पनि धेरै युवाहरू यसरी लागूऔषध सेवनमा फसेको हुँदा आफूले आफ्नो तर्फबाट गर्नसक्ने कामहरू गर्ने उहाँँको भनाइ छ । ‘म यतिका वर्षदेखि फसेको थिएँ । मत निस्किँए तर अझै धेरै युवाहरू हुनुहुन्छ होला जो चाहेर पनि निस्किन सक्नुभएको छैन । मलाई पनि लाग्थ्यो बिहान उठ्नासाथ अब लागूऔषध छाड्नुपर्छ । यो राम्रो कुरा होइन भन्ने । तरपनि छाड्न सक्ने अवस्था हुँदैनथ्यो, निकै गाह्रो हुन्थ्यो । त्यो समयमा साथीभाइको सरकल, साथको ठूलो जरुरी पर्छ’, लाउरे भन्नुहुन्छ, ‘म त कलाकारिता क्षेत्रमा भएँ, अहिले मिडियासँग बोल्न पाएको छु । विभिन्न कलाकार साथीभाइसँग भेटघाट गर्न पाएको छु र त्यो कुरा दिमागमा बस्न पाएको छैन । तर अन्य युवा जो साधारण हुनुहन्छ । उहाँँहरूलाई लागूऔषधबाट बाहिर ल्याउन जरुरी छ ।’

लाउरेले सार्वजनिक गरेको ‘बिरामी’ गीतमार्फत पनि लागूऔषध सेवनविरुद्धको सन्देश दिन्छ । गीतमार्फत लाउरेले आफ्ना परिवार तथा साथीभाइसँग माफी माग्नुभएको छ । उहाँको आफ्नै युटयुब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियो रोहित शाक्यले निर्देशन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?