नेपालगञ्जमा असारे विकास : महिना दिन नपुग्दै उप्कियोे कालोपत्रे, आवागमनमा समस्या

Read Time = 4 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको जमुनाह-कोहलपुर सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नपुग्दै उप्किएको छ । त्यहाँका विभिन्न क्षेत्रमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी बनेका छन् । जसकारण सवारी तथा मानिसहरूलाई हिँड्डुल गर्नसमेत समस्या भएको छ । तर, सरोकारवाला निकायको भने यसतर्फ ध्यान जान सकेको छैन । उक्त सडक डिभिजन कार्यालय नेपालगञ्जले एक महिना अघि मर्मत सम्भार गरेको थियो । तर, त्यहाँको कालोपत्रे लामो समय टिकेन । केहीदिनमै कारकाँदो र धम्बोझी-बिपी चोक बीचनेर सडकको कालोपत्रे उप्किएको थियो ।

सरोकारवाला निकायले ध्यान नदिँदा सवारीसाधनको आवागमनलाई असहज भइरहेको स्थानीय बताउँछन् । नेपालगञ्जकै मुख्य सडकमा यसरी सडकमाथिको कालोपत्रे उप्किँदा सरोकारवाला निकायले मर्मत सम्भार गर्न सकेका छैनन् । सडकमाथिको कालोपत्रे उप्किएर ठूलै खाल्डाखुल्डी पर्दासमेत सरोकारवाला मौन हुनु दुःखद भएको स्थानीयको भनाइ छ ।

यता, सडकमुनि खानेपानीको पाइप फुट्दा सडकमाथिको कालोपत्रे उप्किएको सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । सडकमा खाल्डाखुल्डी हुँदा मर्मत सम्भार गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘सडक जीर्ण भएको थियो । हामीले मर्मत सम्भार गर्‍यौँ । सडकमुनि खानेपानीका पाइप छन् । कहाँनेर फुट्छ भनेर सडक मर्मत नगरेर बस्ने कुरा पनि भएन ।’

यस विषयमा नेपाल खानेपानी संस्थान शाखा कार्यालय नेपालगञ्जलाई पटकपटक जानकारी गराए पनि पाइप मर्मत सम्भार हुन नसकेको उहाँ बताउनुहुन्छ । खानेपानी पाइप मर्मत गर्दा समस्या समाधान हुने प्रमुख एसीको भनाइ छ । उता, नेपाल खानेपानी संस्थान शाखा कार्यालय नेपालगञ्जका प्रमुख हरिकुमार श्रेष्ठले सडक डिभिजन कार्यालय नेपालगञ्जबाट पत्र प्राप्त भए पनि स्रोतसाधन अभाव हुँदा पाइप मर्मत गर्न नसकिएको बताउनुभयो ।

‘सडकबाट पत्र आएको छ । त्यसभन्दा पहिला पनि आएको थियो,’ उहाँले भन्नुभयो, ‘तर हामीसँग जेसिभी थिएन । नगरलाई अनुरोध गर्दा पाउन सकिएन । अब समाधान गर्छाैं ।’ मुख्य सडककै बीच भागको सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ । उक्त सडकखण्डमा दैनिक सयौँ सवारीसाधन आवतजावत गर्छन् । कालोपत्रे उप्किएको स्थानमा तत्कालै मर्मत सम्भार नभए अझ सडक जीर्ण हुने स्थानीय बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?