अब ब्रोकर कम्पनीको चुक्ता पुँजी डेढ अर्ब हुनुपर्ने

Read Time = 6 mins

काठमाडौं । अब हरेक वर्ष सेयर ब्रोकर कम्पनी थप्न सकिने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावलीको संशोधन मस्यौदा स्वीकृत गरी अर्थ मन्त्रालय पठाएको छ । उक्त मस्यौदा स्वीकृतिसँगै हरेक वर्ष साउनमा ब्रोकर कम्पनी थप्न आवेदन दिन सकिने र आएको आवेदन स्वतः प्रक्रियाका लागि अघि बढ्ने बोर्डले जनाएको छ ।

योसँगै ब्रोकर कम्पनीले पुँजी पनि बढाउनुपर्ने भएको छ । ब्रोकरका लागि आवेदन लिँदा परीक्षासमेत लिनुनपर्ने व्यवस्था गरिएको छ । संशोधित मस्यौदाअनुसार पहिलोपटक ३० दिनको समय दिएर नेप्सेले ब्रोकर बन्न चाहनेसँग निवेदन माग गर्नुपर्नेछ भने त्यसपछिको प्रत्येक आर्थिक वर्षको पहिलो महिनामा इच्छुक कम्पनीले सिफारिसका लागि धितोपत्र बजारमा निवेदन दिनुपर्नेछ । हाल ५० ब्रोकर कम्पनी सञ्चालनमा रहेका छन् ।

अब ब्रोकर कम्पनीको चुक्ता पुँजी कम्तीमा २० करोडदेखि एक अर्ब ५० करोड रुपैयाँ हुनुपर्नेछ । ब्रोकर कम्पनीलाई तीन किसिममा विभाजन गरिएर पुँजी तोकिएको छ । सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेशअनुसार धितोपत्र कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी २० करोड, मार्जिन कारोबार, लगानी परामर्शको सेवा, लगानी व्यवस्थापनका साथै निक्षेप सदस्यको काम गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड रुपैयाँ हुनुपर्नेछ ।

आफ्ना लागि समेत सेयर कारोबार गर्ने, सेयर प्रत्याभूतिकर्ताका रूपमा काम गर्ने र योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्नेको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ हुनुपर्नेछ । अनुमतिपत्र लिन एक करोड रुपैयाँ शुल्क बुझाउनु पर्नेछ भने वार्षिक नवीकरण शुल्क पाँच लाख रुपैयाँ बुझाउनुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीले समेत ब्रोकरका लागि लाइसेन्स दिन पाउने भएका छन् । धितोपत्र बोर्डले उक्त नयाँ व्यवस्था कार्यान्वयनका लागि ल्याइएको भन्दै निर्णयबाट पछि नहट्ने जनाएको छ ।

बोर्ड अध्यक्ष रमेश हमालले बजारको लामो अध्ययन गरेर गुण दोषको मूल्यांकनकै आधारमा नयाँ नीति ल्याइएकाले पुनर्विचार नहुने बताउनुभएको छ । चुक्ता पुँजीको बखेडा झिकेर केही पुराना ब्रोकरले विरोध गरे पनि बोर्ड निर्णयबाट पछि नहट्ने उहाँको भनाइ छ । कुनै बेला २१ अर्ब रुपैयाँसम्मको कारोबार भएको बजारमा दुई करोडको पुँजीले धान्न नसक्ने भएकाले जोखिम कम गर्न पनि न्यूनतम २० करोड पुँजीको व्यवस्था गरिएको हमालले बताउनुभएको छ । आगामी दुई वर्षभित्र चुक्ता पुँजी बढाउनुपर्नेछ । पुँजी वृद्धिको व्यवस्थाको भने ब्रोकर कम्पनीले विरोध गरेका छन् । दुई वर्षभित्र २० करोड चुक्ता पुँजी अव्यावहारिक भएको भन्दै उक्त व्यवस्था खारेजीको माग गरेका छन् ।

बढ्यो सेयर बजार

मंगलबार उच्च अंकले घटेको सेयर बजार बुधबार भने बढेको छ । नेप्से १३.३३ अंकले बढेर २०४३.९२ अंकमा पुगेको हो । दुई सय २८ कम्पनीका ६२ लाख ६३ हजार तीन सय १० कित्ता सेयर दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार सात सय एक रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये बैंकिङ, निर्जीवन बिमा र म्युचुअल फन्डको सूचक घटेको छ भने बाँकी १० वटाको बढेको छ । फाइनान्स सर्वाधिक २.७२ प्रतिशत, जीवन बिमा २.६८ र विकास बैंक २.११ प्रतिशतले बढेको छ । जलविद्युत् र अन्य समूहको वृद्धिदर भने सामान्य रहेको छ ।

गोर्खाज फाइनान्सको सर्वाधिक ११ करोड ७२ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनको ११.५३ करोड र सिभिल बैंकको १०.५४ करोडको कारोबार भएको छ । हिमालयन डिस्टिलरी, अपर तामाकोसी, शिवम् सिमेन्ट, अरुण काबेली, ङादी ग्रुप पावर, एसियन लाइफ र नबिल बैंक शीर्ष १० कम्पनीमा समेटिएका छन् । एनआइसी नेपाल र सिवाइसी नेपाल लघुवित्तको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?